बाढीपहिरोले तनहुँमा व्यापक क्षति : कहाँ के के भयो ?

तनहुँ : बिगत चारदिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहिरो खस्दा घर, गोठ, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । जिल्लाका विभिन्न स्थानमा घर जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ भने केही परिवारको घर पूर्णरूपमा क्षति भएको छ ।

कालीगण्डकी, मस्र्याङ्दी, सेती, मादीलगायतका नदी तथा अन्य साना ठूलो खोला खोल्सामा पानीको बहाव बढेपछि किनारका बस्तीमा समेत जोखिम बढेको छ । प्रहरीका अनुसार विपद्जन्य घटनाबाट मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।

देवघाटको सीता गुफा परिसरमा बाढीको क्षति

कालीगण्डकी नदीमा आएको बाढीले देवघाट गाउँपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र सीता गुफा परिसरमा उल्लेख्य क्षति पुर्याएको छ । बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुंगामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओंकार मूर्ति, स्टोरमा रहेका सामान तथा ओढ्ने–ओछ्याउने बेडिङलगायत सामग्री बगाएको प्रहरीले जनाएको छ ।

बाढीको जोखिम बढेपछि सीता गुफामा पूजा गर्दै आएकी ७६ वर्षीया पुजारी माता शिवानन्द गिरीलाई समेत प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ । घटनाको थप क्षतिको विवरण संकलन भइरहेको छ ।

ऋषिङमा बाढीले गोठसहित पाँच पशुचौपाया बगायो

कालीगण्डकी नदीमा आएको बाढीले ऋषिङ गाउँपालिका–४ मधुवनमा गोठसहित पाँच वटा पशुचौपाया बगाएको छ । स्थानीय शिव श्रेष्ठको काठको खम्बा र जस्ताको छाना भएको गोठ आइतबार बिहान करिब ४ बजे बाढीले बगाउँदा गोठभित्र रहेका दुई वटा वयस्क राँगा र तीन वटा सुँगुरका बच्चा बगेका हुन् ।

बाढीका कारण श्रेष्ठको चार कोठे कच्ची घर तथा सोही स्थानका नारायण श्रेष्ठको तीन कोठे कच्ची घरसमेत जोखिममा परेका थिए। घटनालगत्तै प्रहरी चौकी भिरकोटबाट टोली पुगेर जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सारेको थियो ।

यस्तै, ऋषिङकै वडा नं. १ धोक्लोमा पनि पहिरोले दुई कच्ची घरमा क्षति पुर्याएको छ । घरभन्दा करिब १०० मिटर माथिबाट लेदोमाटोसहितको पहिरो खस्दा भित्री सडकको नाला थुनिएर पानी र लेदो घरभित्र पसेको थियो । जितबहादुर राना र डम्बरबहादुर रानाको घरमा रहेका सामान तथा लत्ताकपडा क्षति भए पनि मानवीय तथा पशुचौपाय क्षति भएको छैन। परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

व्यासमा घर बग्यो, धान र राइस मिलमा क्षति

व्यास नगरपालिका–१० डिहीगाउँमा पहिरोले एक घर पूर्णरूपमा बगाएको छ। तिलबहादुर विकको इँटाले बनेको एकतले कच्ची घरभन्दा करिब ३० मिटर माथिबाट आएको पहिरोले घर पूर्णरूपमा क्षति पुर्याएको हो ।

पहिरोले घरमा रहेका अन्नपात, सरसामान, गरगहना तथा नगदसमेत बगाएको प्रहरीले जनाएको छ । मानवीय क्षति नभए पनि डिहीगाउँ–बैरेनी सडकखण्डमा समेत क्षति पुगेको छ । सोही क्षेत्रका सुकबहादुर दरैको पक्की घर र विष्णुबहादुर दरैको कच्ची घर पहिरोको जोखिममा छन् ।

यस्तै, व्यास नगरपालिका–१ भादगाउँ माइलीडाँडामा सुशिला पन्तले सञ्चालन गरेको ओम राइस मिलमा समेत वर्षाले क्षति पु¥याएको छ। कच्ची घरको पछाडिको गाह्रो भत्किँदा गोदाममा राखिएको करिब १०० बोरा धान भिजेर क्षति भएको छ ।

व्यास–५ चापाघाटस्थित तनहुँ आयल डिस्ट्रिब्युटरको पूर्वतर्फबाट पहिरो खस्दा एउटा डिजेल ट्याङ्क पहिरोले बगाएको छ । एउटा पेट्रोल ट्याङ्क तथा पेट्रोल पम्पका दुई कच्ची भवनसमेत जोखिममा परेका छन् ।

यस्तै व्यास–३ स्थित मादी नदीमा यस वर्षकै उच्च बहाव देखिएको जनाइएको छ । नदीको बहाव बढेपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

यता व्यास नगरपालिका–६ चनौटे सातभाई गाउँमा अविरल वर्षाका कारण एक घरमा क्षति पुगेको छ । आइतबार बिहान करिब १० बजे नजरत अलि मियाँको ढुंगा–माटोले बनेको एकतले कच्ची घरको बायाँपट्टिको चिँम गाह्रो भत्किएको हो । घरमा क्षति भएको सूचना दिउँसो करिब १ बजे प्रहरी चौकी शिशाघाटमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक बुझाइ गरेको तथा घरका सदस्यलाई सुरक्षित स्थानमा सार्ने पहल भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षतिको विवरण प्राप्त भएको छैन ।

भानुमा घर र भान्साघरमा क्षति

भानु नगरपालिका–१३ चन्द्रावती बजारमा साबित्रा खत्रीको ढुङ्गा–माटोले बनेको तीनतले पाँचकोठे कच्ची घर वर्षाका कारण भत्किएको छ । घर बस्न नमिल्ने गरी चर्किएको र परिवारका लागि वैकल्पिक बासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

भानु–२ शिवालय टोलमा विक्रम परियार र राजन सुनारको कच्ची घरमा घर पछाडिबाट आएको लेदोमाटोसहितको पहिरोले क्षति पु¥याएको छ । दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भानु–१३ ठूलोढुङ्गामा हस्तमाया गुरुङको जस्ताको छाना भएको भान्साघर पनि पहिरोले पूर्णरूपमा क्षति भएको छ । भान्साघरभित्र रहेका अन्नपात तथा भाँडावर्तनसमेत पुरिएका छन् ।

यस्तै, भानु–१३ बरखोलामा राजु गुरुङको घरसमेत पहिरोको जोखिममा परेको छ । घर अगाडिको बरन्डा चर्किएपछि घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

घिरिङमा दुईतले घर पूर्णरूपमा क्षति

घिरिङ गाउँपालिका–३ कुवादीमा अविरल वर्षाका कारण मनबहादुर सार्कीको ढुङ्गा–माटोले बनेको दुईतले कच्ची घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । आइतबार राति करिब १ बजे घर भत्किँदा मानवीय क्षति नभए पनि कुखुरा मरेका छन् भने अन्नपात, फर्निचर, भाँडावर्तन तथा लत्ताकपडा पुरिएका छन् । घरका सदस्यलाई समयमै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बन्दीपुरमा घर र राजमार्ग दुवै जोखिममा

बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गामा निरज श्रेष्ठको एकतले कच्ची घरको पछाडिबाट करिब १० मिटर माथिबाट पहिरो खस्दा घरमा आंशिक क्षति पुगेको छ। परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । सोही वडाको फुर्के टोलमा कौसिला शर्माको घर पछाडिबाट माटो बगेर स्टोर घरतर्फ सरेपछि घर जोखिममा परेको छ ।

बन्दीपुर–४ चुनपहरास्थित पृथ्वी राजमार्गमा सडक माथिबाट ढुङ्गामाटोसहित पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको थियो । यस्तै बन्दीपुर–५ ढापमा मस्र्याङ्दी रिसोर्टमाथिबाट पहिरो खस्दा पृथ्वी राजमार्ग प्रभावित भएको थियो ।

म्याग्देमा घर र प्रहरी चौकी जोखिममा

म्याग्दे गाउँपालिका–१ मिलनचौतारीमा श्रीमाया थापाको ब्लक र सिमेन्टबाट बनेको घरको पूर्वतर्फको आँगनमा पहिरो गएपछि घर जोखिममा परेको छ ।

म्याग्दे–४ थर्पुस्थित प्रहरी चौकी थर्पुको आँगनको पूर्वपट्टिको भाग चिरा परेर भासिएको छ । पश्चिमतर्फको पर्खालसमेत दबिएका कारण कार्यालय भवन जुनसुकै बेला जोखिममा पर्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

सडक सञ्जालमा पनि व्यापक असर

अविरल वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडकमा पहिरो र बाढीले यातायात प्रभावित भएको छ । पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका–६ मौरीओडारमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

नेपाली सेनाको कालीभञ्जन गण (ई) बाट खटिएको टोलीले स्थानीय तहसँगको समन्वयमा पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा, बन्दीपुर–४ ठूलढुङ्गा, बन्दीपुर–५ याम्पा, व्यास–१२ छिर्कने तथा घाँसीकुवा क्षेत्रमा पनि पहिरो तथा सडक जोखिमका घटना भएका छन्।

यस्तै, भानु नगरपालिका–१ अमिलीपाटामा डुम्रे–बेँसीसहर सडकखण्डमा सडकभन्दा करिब ५० मिटर माथिबाट हिलो, माटो र चिलाउनेको रुख खस्दा दुवैतर्फी सडक अवरुद्ध भएको थियो । प्रहरी तथा सम्बन्धित निकायको पहलमा पहिरो र रुख हटाएपछि सडक सञ्चालनमा आएको छ ।

भिमाद नगरपालिका–५ वानट्याङ खोला नजिक अस्थायी तारजाली कल्भर्ट आसपास पक्की सडक बगेपछि भिमाद–ऋषिङपाटन सडकखण्ड अवरुद्ध भएको छ । सोही वडाको अठ्ठाइसमा सडक माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकीमा पुलमा पानीको बहाव

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र वडा नं. ८ पुल्चोक जोड्ने सहायक पुलमा सेती नदीको पानीको बहाव बढेपछि पुलको दायाँबायाँबाट पानी बगेको छ । त्यसका कारण उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । पुलमा क्षति नपुगे पनि नदी किनारका बस्ती तथा आवतजावत गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । करिब ५०० मिटर तल रहेको मुख्य पुलबाट भने आवतजावत भइरहेको प्रहरीले जनाएको छ ।

कालीगण्डकीमाथि निर्माणाधीन पुलमा क्षति

ऋषिङ गाउँपालिका–४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका–डेढगाउँ, कोखे–अखला जोड्ने निर्माणाधीन पक्की पुलका निर्माण सामग्री कालीगण्डकी नदीमा आएको बाढीले बगाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर क्षतिको विवरण संकलन गरिरहेको छ ।

मर्स्याङ्दी किनारमा उच्च सतर्कता

मनाङको चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदी थुनिएको र आंशिक रूपमा पुनः बग्न थालेको सूचना आएपछि तनहुँ प्रहरीले नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै मर्स्याङ्दी नदी किनार तथा आसपासका बस्तीका बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति सजग रहन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरी नेतृत्वबाट जोखिम क्षेत्रको अनुगमन

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पुगेको क्षति तथा सम्भावित जोखिमको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले स्थलगत अनुगमन गरेका छन् ।

प्रहरी उपरीक्षक कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोलीले मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गका विभिन्न जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले आँबुखैरेनी–२ ऐनापहरा, बन्दीपुर–४ ठूलढुङ्गा, बन्दीपुर–५ याम्पा, व्यास–१२ छिर्कने तथा घाँसीकुवा, व्यास–५ आयल डिस्ट्रिब्युटर क्षेत्र, म्याग्दे–१ बरचौर, प्रहरी चौकी थर्पु तथा शुक्लागण्डकी–७ शेराटारलगायतका क्षेत्रको अनुगमन गरेको जनाइएको छ ।

अनुगमनका क्रममा प्रहरी उपरीक्षक कार्कीले जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउन, आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा विपद् आइपरे तत्काल उद्धार र राहतमा परिचालित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

उद्धार, सडक खुलाउने र जोखिम न्यूनीकरणमा प्रहरी परिचालन

जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी तथा घर जोखिमका घटना भएपछि नेपाल प्रहरीका टोलीहरू निरन्तर परिचालन भइरहेका छन् । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, अवरुद्ध सडक खुलाउने, क्षतिको विवरण संकलन गर्ने तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लगातार वर्षाका कारण अझै पनि नदी तथा खोलाको बहाव बढ्न सक्ने, पहिरो जाने तथा कमजोर संरचना भत्किन सक्ने जोखिम रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रहरीले विशेषगरी नदी तथा खोला किनार, पहिरोको जोखिम भएका बस्ती र सडक क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker