भानुजयन्तीका अवसरमा रक्तदान र फलफूल वितरण

दमौली : आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा विहीबार रक्तदान र विरामीलाई फलफूल वितरण गरिएको छ । भानु नगरपालिका–४ स्थित चुँदी रम्घामास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयोजनमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान र फलफूल वितरण गरिएको हो ।
जन्मस्थल विकास समितिले भानु नगरपालिका सेवा प्रवाह कार्यालयमा रक्तदान कार्यक्रम तथा दमौली अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम गरेको थियो । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोग र नेपाल रेडक्रस सर्कल भानुभक्त उपशाखाको समन्वयमा गरिएको रक्तदानमा कार्यक्रममा भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले आफैं रगत दान गरी शुभारम्भ गरेका थिए । उक्त अवसरमा १७ पिन्ट रगत संकलन गरिएको जनाइएको छ ।
यस्तै, दमौली अस्पतालमा उपचाररत ३५ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । फलफूल वितरण कार्यक्रममा उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे, लेखा अधिकृत नवराज लौडारी, वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारी, स्वास्थ्य शाखा प्रमुख डा. ऐश्वर्य भट्टराई, अस्पताल प्रमुख डा. परिवर्तन बराल लगायतले विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।
आदिकवि भानुभक्तको जन्मस्थलले असार २५ देखि २९ गतेसम्म विविध कार्यक्रममार्फत भानु जयन्ती मनाउने तयारी गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समापन समारोहमा सहभागि हुने बताइएको छ ।
प्रभातफेरी, भानु प्रतिमामा माल्यार्पण, पञ्चकन्याद्वारा रामायण वाचन, मठ–मन्दिरमा पूजा, दीपावली, श्रद्धाञ्जली सभा, सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण लगायतका कार्यक्रम गरिने भएको छ ।
यस्तै, भानुजयन्तीका अवसरमा बाल–साहित्यिक चेतनालाई प्राथमिकता दिएर असार २६, २७ र २८ गते भानु नगरपालिका, भन्सार कार्यालय चुँदी तथा समितिको कार्यालय परिसरमा साहित्यिक तथा बालमैत्री कार्यक्रमहरू सञ्चालन गरिने भएको छ ।
समितिका कार्यकारी अधिकृत कृपाहरि लौडारीका अनुसार, खुला कविता प्रतियोगिता, चित्रकला, रचनापाठ, झाँकी प्रदर्शन, कविगोष्ठी लगायतका गतिविधि सञ्चालन गरिनेछ। यस्ता कार्यक्रमले बालबालिकामा साहित्यिक चेतना, भाषा–संस्कृति र राष्ट्रिय गौरवप्रति लगाव विकास गर्ने अपेक्षा गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker