व्यास नगरपालिका : खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रवर्द्धन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिंदै आएको छ । प्रकृति, संस्कृति र पर्यटनलाई खेलकुदसंग जोडने उद्देश्यका साथ नगरपालिकाले म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी खेलकुदका माध्यमबाट तनहुँसुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन र मानहुङ्कोट-पुलिमराङलाईको विकासका लागि फागुन २८ गते पाचौं नगर अल्ट्रा म्याराथन आयोजना गरेको जनाएको छ ।

यस अघि माघ १६ गते शहिद दिवसको अवसरमा व्यास नगर अल्ट्रा म्याराथनको आयोजना गर्दै आइएकोमा कोरोना कहरका कारण स्थगित गरिएकाले पुनःआयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

त्यसैगरी यस अघिको बर्षमा नारी दिवसको दिन आयोजना गरिदै आएको व्यासनगर महिला खुल्ला हाफ म्याराथनलाई यसबर्षपनि निरन्तरता दिन लागेको व्यास नगर उपप्रमुख मिरा जोशीले बताइन् । दमौली स्थित व्यास गुफादेखि ऐतिहासिक तनहुँसुर दरवारसम्मको २१ किलोमिटर हाफ म्याराथनमा १५० धावकको अनुमान गरिएको जोशीले बताइन् ।

व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास-११ स्थित ऐतिहासिक तनहुँसुर दरवारसम्म दौड हुनेछ ।

प्रतियोगितामा प्रथमलाई ४१ हजार ७८, द्वितीयलाई ३१ हजार ७८, तृतीयलाई २१ हजार ७८ र सान्त्वना ५ जनालाई जनही ११ हजार ७८ रुपैयाँ नगद, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिने बताइएको छ ।

त्यस्तै, मानहुँकोटदेखि शहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटर अल्ट्रा म्याराथनमा एकसय धावकको अनुमान गरिएको छ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुनपोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगितामा प्रथमलाई ८५ हजार ७८, द्वितीयलाई ६५ हजार ७८, तृतीयलाई ५५ हजार ७८ र सान्त्वना ५ जनालाई जनही १६ हजार ७८ रुपैयाँ नगद, प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिने बताइएको छ ।

खेलको माध्यमबाट नगरपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र र शहिदहरुको गाउँ पुलिमराङको प्रबर्द्धन गर्ने उद्देश्यले बर्षेनी म्याराथनलाई प्राथामिकता राख्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘खुल्ला म्याराथन भएको हुनाले स्थानीय तथा राष्ट्रिय स्तरका धावकहरुको पनि सहभागिता हुन्छ।’ म्याराथनको खर्च व्यवस्थापनका लागि नगरपालिकाले २२ लाख रुपैयाँ बिनियोजन गरेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker