विद्यालय केन्द्रित एचपीभी खोप कार्यक्रमको समीक्षा तथा योजना गोष्ठी

दमौली : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले “विद्यालय केन्द्रित एचपीभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता दिगोपना कार्यक्रमको समिक्षा, अभिमुखीकरण तथा योजना गोष्ठी” मंगलबार दमौलीमा सम्पन्न गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीको अध्यक्षतामा आयोजित गोष्ठीमा शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, डब्लुएचओ–आईपिडी सिमोका प्रतिनिधि सस्मृता वास्तोला, दमौली अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. एलिजा भट्टराई, खोप फोकल पर्सन शंकर बाबु अधिकारीलगायत १० वटै स्थानीय तहका स्वास्थ्य तथा शिक्षा शाखा प्रमुखहरूको सहभागितामा सहजिकरण गरेका थिए ।
गोष्ठीमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोपको महत्व, विद्यालय केन्द्रित खोप अभियानको अवस्था, अघिल्लो वर्षका सिकाइ तथा चुनौती, आगामी अभियानलाई प्रभावकारी र दिगो बनाउने रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले एचपीभी खोप पाठेघरको मुखको क्यान्सर विरुद्ध सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै लक्षित समूहका किशोरीलाई खोपको पहुँचमा ल्याउन विद्यालय, स्वास्थ्य संस्था र अभिभावकबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए ।
यसैबीच, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाभर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रम अनुसार तनहुँ जिल्लामा माघ २९ गतेदेखि फागुन ५ गतेसम्म एचपीभी खोप लगाइने भएको छ ।
खोप आ–आफ्नो विद्यालय, नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर लगाउन सकिने जनाइएको छ । यस अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी, साथै गत वर्षको एचपीभी खोप अभियानमा छुट भएका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप दिइनेछ ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले लक्षित समूहका सबै किशोरीलाई खोप कार्यक्रममा सहभागी भई खोप लगाउन आग्रह गर्दै पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित भविष्य निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।










