विदेशबाट फर्किएका युवाहरुको व्यवसायिक कृषि अभियान, पाँच वर्षभित्र खरी र बोयर जातका बाख्रोको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँमा व्यवसायिक रुपमा कृषि तथा पशुपालन क्षेत्रमा युवाहरुको आकर्षण बढ्दै गएको छ । विशेष गरी वैदेशिक रोजगारीमा गएका युवाहरु आ-आफ्नो घर गाउँ फर्किएर कृषिबाटै आर्थिक उपार्जन लिने गरी अभियानकै रुपमा लागि परेका छन् । तनहुँको बन्दिपुरका केही युवाहरु कृषि र पशुपालन क्षेत्रलाई व्यवसायिक बनाउने अभियानमा सक्रिय बनेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका बन्दिपुर वडा नं. १ का युवाहरुले हरियाली कृषक समुह गठन गरी गाउँका अधिकांश कृषकहरुलाई व्यवसायिक रुमपा तरकारी खेती, बाख्रापालन, गाईभैंसीबाट दुध उत्पादन जस्ता क्षेत्रलाई अगाडि बढाएको समुहका अध्यक्ष कृष्ण प्रसाद पन्थ बताउँछन् ।
अध्यक्ष पन्थ पनि बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनले पनि व्यवसायिक रुपमा बाख्रा पाल्न थालेका छन् । आफु मात्र नभई वडाका अन्य कृषकलाई पनि बाख्रा पालन तथा अन्य कृषि पेशा गर्न अभियान चलाएको उनले बताए ।
यस्तै, पढाइ तथा रोजगारीको शिलशिलामा करिव २० वर्ष नर्वेमा बिताएका बन्दिपुर-१ नाहालाका ४२ वर्षीय मदनकृष्ण अधिकारी अहिले आफ्नै पुर्ख्यौली थलोमा बाख्रा पालन व्यवसाय सुरु गरेका छन् । करिव ५० लाख रुपैयाँ लगानी गरेको बताउने अधिकारीले आधुनिक बाख्राको खोर निर्माण गरेका छन् । ‘विदेशबाट फर्किएको तीन वर्षभयो, मैले डुम्रे बजारमा पेट्रोल पम्प संचालन गर्दै आएको छु’, उनले भने, ‘मलाई व्यवसायिक रुपमा कृषि पेशा गर्न मन थियो । कोरोना कहरले यो मौका पनि जुर्टाईदियो र अहिले एक सय बढि बाख्रा पालेको छु ।’
‘घाँसमा आधारित बाख्रापालन गर्ने सोचका साथ करिव १२५ रोपनी क्षेत्रफलमा आवश्यक घाँसका विरुवा, बाख्राको खोर तयारी गरेको छु’, उनले भने, ‘मेरो लक्ष्य ५ सय बढि बाख्रा पाल्ने छ । यस क्षेत्रलाई बाख्राको पकेट क्षेत्रका रुपमा बिकास गर्ने मेरो योजना हो । अहिले ६ जनालाई रोजगारी समेत दिएको छु ।’
इन्जिनियारिङ्गमा मार्स्र्टस गरेका उनले विदेशमा पढाइअनुसारकै रोजगार पाएपनि आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ अहिले विदेशबाट फर्किएका युवाहरु संगठित भई हरियाली कृषक समूह गठन गरी अन्य कृषकलाई पनि व्यवसायिक कृषि पेशा अंगाल्न प्ररित गर्दै आएका छन् । यस समूहमा ४४ जना कृषकहरु आवद्ध छन् ।
सरकारी क्षेत्रबाट उपलब्ध हुने अनुदान तथा अन्य सेवा सुविधा लिनबाट समेत बञ्चित रहेका यहाँका कृषकहरुलाई सहजिकरण गर्ने तथा कृषकको उत्पादनलाई सहज रुपमा बजारीकरण गरी आर्थिक उपार्जनमा टेवा पुर्याउँदै व्यवासयिकता तर्फउन्मुख गराउन समेत युवाहरु लागि परेका छन् ।
यस्तै, स्थानीय ५३ वर्षीया देवीमाया आले बाख्रापालनबाट सन्तुष्ट रहेको बताउँछिन् । उनले भनिन्, ‘३० वर्षदेखि व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएकी छु । घरखर्चदेखि छोराछोरीको पढाइ यसैको आमदानीबाट चलिरहेको छ ।’ उनले एउटै खसि बिक्री गरी ५० देखि ५५ हजार रुपैयाँसम्म आम्दानी गरेको बताउँछिन् । हाल १४ वटा बाख्रा पालेको बताउँदै उनले भनिन्, ‘बाख्रापालनका लागि गाउँपालिकाले समयसमयमा दिने अनुदानले थप हौसला मिलेको छ । अहिले श्रीमान्लाई पनि यहि व्यवसायतर्फजोड्दै लगेको छु ।’
हावापानी, घाँस तथा चरानको हिसावले बाख्रा पालनका लागि उपयुक्त वातावरण भएकाले बन्दिपुर-१ का अधिकांश कृषकहरुले व्यवसायिक रुपमा बाख्रा पालन थालेका छन् । कृषकलाई बाख्रा पालनमा सघाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गाउँपालिकाले बाख्राको पकेट विकास कार्यक्रमबाट खोर निर्माणका लागि अनुदान समेत उपलब्ध गराएको वडाअध्यक्ष भानुभक्त पोख्रेल बताउँछन् ।
निर्वाहमुखी बाख्रा पालन गर्दै आएका कृषकहरु युवाले चलाएको अभियान तथा गाउँपालिका र अन्य सरोकारवाला निकायले उपलब्ध गराएको सहयोगका कारण निकै उत्साहका साथ व्यवसायिक रुपमा बाख्रा पाल्न व्यवसाय अगाडि बढेको वडाध्यक्ष पोख्रेलले बताए ।
बाख्राका लागि काठ, पिल्लर तथा ट्रसको प्रयोग गरी आधुनिक खोर निर्माण गर्न गाउँपालिकाले बाख्राको पकेट विकास कार्यक्रम अन्तरगत ४२ जना कृषकलाई २० हजार रुपैयाँका दरले अनुदान तथा ३ जना कृषकलाई १६ हजार रुपैयाँ च्याप कटरका लागि अनुदान अनुदान रकम उपलब्ध गराएको छ ।
यस्तै, वडालाई पाँच वर्ष भित्र खरी र बोयर जातका बाख्राको श्रोत केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ कृषकहरुलाई आवश्यक पर्ने घाँस, औषधी उपचार, आधुनिक खोर निर्माण, अध्ययन भ्रमण जस्ता कार्यक्रम चलाइएको वडाध्यक्ष पोख्रेलले बताए । पशुचौपायको उपचारका लागि करिब एक करोड रुपैयाँका लागतमा पशु अस्पताल निर्माण, उत्पादित उपजको बिक्री वितरणका लागि बिक्री केन्द्रको भवन निर्माण जस्ता कार्यक्रम वडाले सम्पन्न गरेको छ ।
पहाडकी रानीको उपनामले परिचित बन्दिपुर क्षेत्रलाई अबका दिनमा व्यवसायिक कृषि क्षेत्रको रुपमा समेत विकास गर्न गाउँपालिका लागि परेको छ । गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् ।
कृषिलाई नगदसंग जोड्दै दिगो विकास गर्ने, उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरी कृषकलाई प्रोत्साहन गर्ने, उत्पादित उपजलाई बजारीकरणका लागि संकलन केन्द्र निर्माण जस्ता कार्यक्रममा गाउँपालिकाले ध्यान पुर्याएको अध्यक्ष थापाले बताए ।
विशेष गरी कोरोना कहरको चपेटामा परी रोजगारी गुमाएका अधिकांश युवाहरु आ-आफ्नो गाउँघर फर्किएर कृषि पेशा अंगाल्न थालेका छन् । स्थानीय पालिकाहरुले कृषि क्षेत्रको विकासका लागि भन्दै आकर्षक नीति, कार्यक्रम बनाउने र बजेटको समेत व्यवस्था त गरेका छन् । तर, यस्ता कार्यक्रमको पहुँचमा कृषक पुग्न सकेका छैनन् ।
नागरिकको घर दैलोको सरकार स्थानीय पालिकाले युवाहरुलाई व्यवसायिक कृषि क्षेत्रमा आकर्षित गर्न आवश्यक तालिम, सीप, प्रविधि, औषधी उपचार, अनुदानका साथै उत्पादित उपजलाई सहज रुपमा बजारीकरणको व्यवस्था मिलाउन सके पक्कै पनि कृषि क्षेत्र सम्मानजनक र आर्थिक उपार्जनको पेशा बन्ने छ ।










