सम्पादकीय : ओझेल परेको पर्यटकीय गन्तव्य – गलेखामकोट

नेपालका पहाडका टाकुरा र चुचुरोहरूमा आज पनि थुप्रै कोट र गढीहरू भेटिन्छन्। वाइसे–चौविसे राज्यका पालादेखि यी कोटहरूले तत्कालीन शासकहरूको राजनीतिक, प्रशासनिक र सैनिक गतिविधिलाई आश्रय दिएका थिए। इतिहासका ती गौरवपूर्ण स्मृतिहरूसँगै आज यी कोटहरू हाम्रो सांस्कृतिक सम्पदा र प्राकृतिक धरोहरको रूपमा उभिएका छन्। यस्तै महत्वपूर्ण कोटमध्ये तनहुँ जिल्लाको व्यास नगरपालिका–६ मा रहेको गलेखामकोट हो। ऐतिहासिक गाथा, धार्मिक आस्था र प्राकृतिक सुन्दरताको त्रिवेणी बनेको गलेखामकोट सम्भावनाले भरिपूर्ण भए पनि अझैसम्म पर्याप्त पहिचान र प्रवर्द्धनबाट वञ्चित छ । गलेखामकोट व्यास–५ को कन्टार हुँदै पुगिने स्थान हो, जुन सदरमुकाम दमौलीदेखि मात्र १५ किलोमिटरको दूरीमा पर्छ। दूरीमा नजिक भए पनि यो स्थान लामो समयसम्म प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावले ओझेलमै रह्यो। स्थानीय बासिन्दाले भने पछिल्ला वर्षहरूमा यसलाई ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास सुरु गरेका छन्। कुनै समय मगर जातिका राजाले शासन गरेको गलेखामकोटको अन्तिम राजा चक्रधर राना भएको बताइन्छ । इतिहासका पानामा अंकित त्यही कथा यस स्थानलाई अझ विशेष बनाउँछ ।

गलेखामकोटलाई घेरिएको किंवदन्तीले नेपालको एकीकरण प्रक्रियाको पनि झलक दिन्छ। भनिन्छ, यहाँका तत्कालीन मगर राजाले तनहुँका सेनवंशीय शासकसँग आत्मसमर्पण गरेका थिए, जसपछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास जोडिन्छ। यसरी हेर्दा, गलेखामकोट नेपाल राज्य निर्माणको ऐतिहासिक यात्रामा एउटा महत्वपूर्ण कडीका रूपमा उभिन्छ। इतिहाससँगै गलेखामकोट प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। समुद्र सतहबाट २,२०७ मिटर उचाइमा अवस्थित यो स्थान तनहुँको तेस्रो अग्लो पहाड मानिन्छ। यहाँबाट दमौली बजार, शुक्लागण्डकीको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले लगायतका गाउँ तथा कास्की जिल्लास्थित फेवाताल, बेगनासताल र आसपासको रमणीय दृश्य स्पष्ट देखिन्छ। हिमशृंखलाको तेस्रो नेत्रझैं उभिएको माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण र मनास्लु शृंखला यहाँबाट झनै नजिक देखिन्छन्। यी प्राकृतिक सम्पदाले गलेखामकोटलाई ग्रामीण पर्यटनको भरपूर सम्भावनायुक्त गन्तव्य बनाएका छन्। तर, यसका लागि व्यवस्थित योजना र लगानी आवश्यक छ। अहिले शनिबार र सार्वजनिक बिदाका दिन केही आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। तर, आवश्यक प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा यो गन्तव्य अझै पनि व्यापक चिनिन सकेको छैन ।

गलेखामकोटलाई धार्मिक गन्तव्यका रूपमा पनि विकास गर्न सकिन्छ । यहाँ रहेको कोटभैरव मन्दिर स्थानीय आस्थाको केन्द्र हो। प्रत्येक वर्ष बडादसैंको नवमीका दिन यस मन्दिरमा विशेष पूजाआजा र पञ्चबलिको प्रचलन छ। यस मन्दिरमा राना जातिका व्यक्तिहरू पूजारी र ब्राह्मण पुरोहितको रूपमा सेवा गर्दै आएका छन्। धार्मिक परम्परा र सांस्कृतिक अभ्याससँगै यस स्थानलाई धार्मिक पर्यटनसँग जोड्न सकिने सम्भावना उच्च छ । त्यस्तै, ऐतिहासिक कालमा प्रयोग गरिएका हतियारहरू अझै सुरक्षित रूपमा गलेखामकोटमा राखिएका छन् । यी धरोहरलाई व्यवस्थित संरक्षण र प्रदर्शनीमार्फत पर्यटक आकर्षणको माध्यम बनाउन सकिन्छ । गलेखामकोटलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयासमा २०७६ सालमा १६ लाख ५० हजार रुपैयाँ लागतमा तीनतले भ्यू टावर निर्माण गरिएको छ। यस दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्य अवलोकन गर्न सक्ने सुविधा छ । भ्यू टावरले यो गन्तव्यको पहिचानमा थप योगदान गरे पनि पर्याप्त प्रचारप्रसार नहुँदा यसको उपयोग अझै सिमित छ । नगरपालिकाले गलेखामकोटलाई प्रवर्द्धन गर्ने योजना बनाएको छ, तर त्यो योजनाले व्यवहारिक रूप लिन अझै समय लागेको छ। स्थानीयवासी भने विकासमा सरकारी सक्रियता र दीर्घकालीन योजना आवश्यक भएको आवाज उठाइरहेका छन्।

गलेखामकोट तनहुँकै नभई गण्डकी प्रदेशकै एउटा उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको गन्तव्य हो। तर, यसलाई व्यवस्थित विकास गर्नुपर्ने चुनौती स्पष्ट छ। यातायात सहजता, बस्ने व्यवस्थाको अभाव, प्रचारप्रसारमा कमजोरी, ऐतिहासिक तथ्याङ्कको संकलन र संरक्षणमा कमीजस्ता समस्या समाधान नगरेसम्म यो क्षेत्रले आफ्नो वास्तविक सम्भावना उपयोग गर्न सक्दैन। यस गन्तव्यलाई प्रभावकारी बनाउन नगरपालिकासँगै प्रदेश सरकार र संघीय सरकारको समन्वित प्रयास अपरिहार्य छ। गण्डकी प्रदेशले पर्यटन प्रवर्द्धनमा ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई प्राथमिकतामा राख्ने नीति लिएको भए पनि गलेखामकोटजस्ता ओझेलमा परेका गन्तव्यमा पर्याप्त ध्यान दिन सकेको छैन । गलेखामकोट इतिहास, संस्कृति र प्रकृतिको अनुपम धरोहर हो। यहाँको विकासले तनहुँ मात्र होइन, समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्न सक्छ। यसका लागि स्थानीय, प्रदेश र संघीय तहबीच सहकार्य र दीर्घकालीन रणनीति अपरिहार्य छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker