सम्पादकीय : छिम्केश्वरी – सम्भावना र चुनौती

तनहुँकै सबैभन्दा अग्लो पहाड छिम्केश्वरी (२,१३४ मि.) केवल एक भौगोलिक संरचना मात्र होइन, इतिहास, संस्कृति र प्रकृतिको अनुपम उपहार हो । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित यो चुली तल्लो महाभारत श्रृंखलाको पनि सम्भवतः सबभन्दा अग्लो शिखर मानिन्छ । फेदि गाईघाट (२०० मि.) देखि चुलीसम्म पाइने जैविक विविधता, प्राकृतिक छटा, बहुजातीय संस्कृति र धार्मिक आस्थाले यसको महत्व अझ बढाएको छ । चुलीमा शताब्दीयौँ पुरानो छिम्केश्वरीमाई र बुढीदेवीको वासस्थल छ, जसको धार्मिक र सांस्कृतिक मूल्य अपार छ ।

यद्यपि, स्थानीयका अनुसार बुढीदेवीको मूर्ति हराइसकेको दुःखद तथ्य इतिहासको संरक्षणमा हाम्रो लापरबाहीकै उदाहरण हो । तर अझै पनि छिम्केश्वरीको शिखरमा पुगेपछि देखिने हिमाली श्रृंखला, पहाडी तरेली, समथर भित्री मधेस, चितवन राष्ट्रिय निकुञ्जदेखि त्रिशुली, मस्र्याङ्दी र सेती नदीका फाँटसम्म फैलिएको दृश्य अवर्णनीय छ । इतिहासमा फर्किंदा, यो भूभाग लिच्छवि राजा मानदेवको चाँगुनारायण अभिलेख (वि.सं. ५२१) मा उल्लेख हुन्छ । पछि यो क्षेत्र खस साम्राज्यको अधीनमा रह्यो र त्यसपश्चात गुरुङ र मगर शासकहरूको राज्य सञ्चालनमा आयो । वि.सं. १७५३ मा तनहुँका राजा दामोदर सेनले आफ्ना नाति नरभूपाल शाहलाई गोरखाको राजा बन्न सहज होस् भनेर छिम्केश्वरी भगवतीको पुरश्चरण गराएका थिए भन्ने ऐतिहासिक प्रमाणले यस स्थलको महत्व प्रष्ट्याउँछ।

छिम्केश्वरी जैविक विविधताको खानी हो । फेदीमा मयुर र गैँडाजस्ता उष्णकटिबन्दीय प्रजातिदेखि शिखरमा डाँफे र चौंरीसम्म बिचरण गर्न सक्ने वातावरण छ । झारल, घोरल, रतुवा मृग, चितुवा, बाँदरलगायत वन्यजन्तु र दर्जनौँ चराचुरुङ्गी यस क्षेत्रको स्वर्गीय वासस्थान हुन् । वसन्त ऋतुमा शिखर वरिपरि फुल्ने लालीगुराँसले यहाँको सौन्दर्य दोब्बर हुन्छ । यसैगरी गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेललगायत समुदायको रहनसहन, सांस्कृतिक सम्पदा र जीवनशैली छिम्केश्वरीको अर्को विशेषता हो । फेदीका ब्राह्मण, क्षेत्री, नेवार बस्तीले विविधताको समृद्ध तस्बिर पेश गर्छन् । धार्मिक पर्यटनका दृष्टिले पनि छिम्केश्वरी माई र बुढीदेवीको महत्व अपार छ । यो पहाड केवल प्राकृतिक सौन्दर्यको श्रोत मात्र होइन, भविष्यको समृद्धिको आधार बन्न सक्ने खजाना हो । करिब एक दशकअघि मस्र्याङ्दी जलाधार क्षेत्रमा ’स्मार्ट सिटी’ र छिम्केश्वरीलाई ’राष्ट्रिय निकुञ्ज’को रूपमा विकास गर्ने बहस भए पनि राज्यको ध्यान नपुग्दा योजना ओझेलमा परेको छ । तर सम्भावना अझै उत्तिकै ताजा छ ।

फेदीदेखि शिखरसम्मको भौगोलिक संरचना र हावापानीको विविधताले यहाँ विश्वकै सुन्दर राष्ट्रिय निकुञ्ज निर्माणको सम्भावना दिन्छ । त्यसका लागि केही बस्तीलाई व्यवस्थित रूपमा स्थानान्तरण गरी एकीकृत बस्तीको विकास गर्न सकिन्छ । वृक्षारोपणमार्फत जंगल क्षेत्र विस्तार गर्ने, वन्यजन्तुको संरक्षण गर्ने र लालीगुराँसलाई केन्द्रमा राखेर यसलाई विश्वकै सबैभन्दा ठूलो ’लालीगुराँस बगैँचा’ बनाउन सकिन्छ । त्यससँगै फेदीदेखि मध्यम उचाइसम्म सडक यातायात जोड्ने र माथिल्लो भागलाई पैदल मार्गमार्फत मात्रै पहुँचयोग्य बनाउने योजनाले छिम्केश्वरीलाई ’हिल स्टेसन’का रूपमा विकास गर्न सक्नेछ । यसरी विकास गर्दा पर्यटकलाई प्रकृतिसँग नजिक गराउने मात्र होइन, स्थानीय उत्पादन र जनश्रमशक्ति प्रयोगमार्फत स्थानीयलाई प्रत्यक्ष लाभ दिलाउन सकिन्छ ।

चुलीमा रहेको भगवती मन्दिरलाई कलात्मक रूपमा पुनर्निर्माण गर्न सके धार्मिक पर्यटकको आकर्षण बढ्नेछ । वरिपरिको जमिन उपयोग गरेर सुन्दर पार्क निर्माण गर्ने, फुलबारी र विश्रामस्थल बनाउने कार्यले यसको महत्व थप बढाउँछ । संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा चुलीमा केही सुविधासम्पन्न रिसोर्ट र पाहुना घर सञ्चालन गर्न सकिन्छ । यस्ता रिसोर्टमा रैथाने बासिन्दाको लगानी र शेयर सहभागिता सुनिश्चित गर्न सकियो भने उनीहरूमा अपनत्व र प्रत्यक्ष लाभको अनुभूति हुनेछ । यसले पर्यटन विकाससँगै सामाजिक सहमति र स्थायित्व पनि ल्याउँछ ।

छिम्केश्वरी प्रकृतिले दिएको अनमोल उपहार हो । यसलाई केवल दर्शनीय स्थलका रूपमा सीमित नगरी दीर्घकालीन संरक्षण, व्यवस्थापन र योजनाबद्ध विकासतर्फ अघि बढाउन आवश्यक छ । मनोरेल वा केबलकार जस्ता हतारका परियोजनाभन्दा पनि स्थायी र दिगो योजनामा जोड दिनुपर्छ । हामी सबैले मिलेर छिम्केश्वरीलाई राष्ट्रिय निकुञ्जको रूपमा विकास गर्ने, जैविक विविधता संरक्षण गर्ने, धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्ने र पर्यटनमार्फत स्थानीयलाई प्रत्यक्ष लाभ दिलाउने दिशामा अघि बढ्न सके यो पहाड तनहुँ मात्र होइन, सम्पूर्ण देशकै समृद्धिको ’कोसे ढुङ्गा’ बन्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker