तनहुँ–२ मा रास्वपाका न्यौपाने विजयी, को हुन न्यौपाने ?

तनहुँ : गत विहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् । शनिबार साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार ६८७ मत प्राप्त गरी न्यौपाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
विजयी उम्मेदवार न्यौपानेलाई निर्वाचन अधिकृत भेषराज पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३४ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार ६६८ मत र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले १ हजार ९५३ मत प्राप्त गरे ।
तनहुँ–२ मा कूल १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा ६३ हजार १८६ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धी छन् ।
को हुन न्यौपाने ?
२०२६ असार २१ गते तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचा श्रीराम न्यौपाने जन्मेका हुन। उनी हाल अस्थायी रुपमा काठमाडौंमा बस्छन् । बुबा गोविन्द प्रसाद न्यौपाने र आमा सितादेवि न्यौपाने हुन भने उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
उनले पुल्चोक इन्जिनियरिङ क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । पञ्चायतकाल वि.सं. २००४ ब्याचमा पश्चिमाञ्चल इन्जिनियारिङ क्याम्पसबाट ओभरसियर अध्यय, सिभिल समूह ब्याच टपर लगायत उनको शैक्षिक योग्यता हो ।
उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए । २०४४ साल नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै स्ववियु निर्वाचनमा निर्वाचित भएका थिए । यससंगै नेविसंघ सहसचिव एक कार्यकाल र अध्यक्ष एक कार्यकाल समालेका थिए । नेपाली कांग्रेसमा आवद्ध रहि २०४६ सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागि भएका थिए ।
न्यौपाने २०५१ सालमा नेपाल सरकार, तनहुँ जिल्ला खानेपानी कार्यालयको निमित्त कार्यालय प्रमुखको रुपमा ९ महिना सेवा पनि गरेका थिए । त्यसपछि सरकारी सेवाबाट राजिनामा दिई आफ्नै लगानीमा निजी इन्जिनियरिङ कलेज स्थापना गरे । उनी अध्यापन तथा व्यवस्थापनमा पनि रहे ।
ई. न्यौपाने २०७९ फागुन १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । तनहुँ–१ को उपनिर्वाचनमा उनी निर्वाचन परिचालन समितिको संयोजक थिए। इन्जिनियरिङ शिक्षामा १४ वर्षको अध्यापन अनुभव र जलविद्युत तथा सुरुङ क्षेत्रमा १४ वर्षको व्यावहारिक अनुभव रहेको उनले बताए । उनी २०७८ सालमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवश्री पदकद्वारा सम्मानित भएका थिए ।










