देश खरानी पार्ने खेल

सुरेशकुमार पाण्डे

राजनीति भनेको राष्ट्र र जनताको हितलाई मूल मन्त्र मानेर सञ्चालन हुने प्रक्रिया हो। देशको सम्पत्ति जोगाउने, नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा आवश्यकताको परिपूर्ति गर्दै जनताको स्वतन्त्रता–अर्थात सार्वभौम अधिकार–जनताकै हातमा रहने व्यवस्था राजनीतिको आधारभूत मर्म हो। त्यसका लागि नेताहरू तथा राजनीतिक कार्यकर्ताहरूमा देशभक्तिको प्रचुर भावना हुनु अपरिहार्य छ। तर पछिल्ला वर्षहरूमा पैसाको लोभ र पदको लालचमा विदेशी शक्ति केन्द्रका इसारामा नाच्ने प्रवृत्तिले देशलाई भयावह दिशामा धकेलिरहेको छ ।
संसदीय व्यवस्थामा राजनीतिक दलहरूले कानूनसम्मत ढंगले काम गर्नुपर्छ। तर देशमा अराजकता फैलाउने, समाजलाई दूषित बनाउने गतिविधि कानुनको कठघरामा उभिनुपर्ने हो । दुर्भाग्यवश, नेपालमा यस्ता कामलाई कहिलेकाहीँ सम्मान गर्ने गलत बानी बसेको देखिन्छ। जसले जित्छ, जसले कडा नारा लगाउँछ, उसैलाई ‘स्याबास’ दिने प्रवृत्तिबाट आजको संकटपूर्ण अवस्था सृजना भएको हो ।
बहुदलीय अभ्यास भए पनि त्यसमा निस्वार्थ भावना अभाव छ। शान्ति–सुव्यवस्थाका कुरा गर्दा पनि धेरै नेताहरूको गहिरो लक्ष्य सत्ता र सुविधामै सीमित हुन्छ। सुशासन उनको प्राथमिकता होइन; सुख–सुविधा, पद–प्रतिष्ठा र व्यक्तिगत लाभ नै उनीहरूको मूल प्रेरणा रहन्छ। जसरी भए पनि सत्ता समाउने र त्यसैलाई जोगाइराख्ने अभिलाषाले उनीहरू देशलाई बारम्बार तहसनहस बनाइरहेका छन् । सत्ता प्राप्ति र सत्तामा टिकिरहने चाहनाले राष्ट्र र जनताको सरोकार–हित ओझेल परिरहेको छ ।
देशको अर्थतन्त्र डामाडोल छ, राष्ट्रियताको आधार कमजोर हुँदै गएको छ । यस्तो अवस्था कुनै देशको मुटुमै लागेको क्यान्सरजस्तै घातक हुन्छ। पक्ष–विपक्षबीच मैत्रीपूर्ण संवाद हुन नसक्ने प्रणालीमा सुशासन त के, सम्पूर्ण देशको भविष्य खतरामा पर्छ ।
हिजोसम्म एक–अर्कासँग पानीबाराबार गरेका नेताहरू आज चुनाव समक्ष्याउँदै पार्टी एकता गर्ने दौडमा छन्। जेनेरेसन–जेनेरेशन (न्भलश्) को चर्को आलोचना र प्रश्नहरूले उनीहरू दबाबमा त परे, तर सुधारिएको भने देखिँदैन। सत्ता बिना उनीहरू बिनपानीको माछाझैँ अठिँलिरहेका छन्। पुरानै प्रवृत्तिमा परिरहँदा सिद्धान्त, नीति र मूल्यप्रति उनीहरू दिग्दर्शक होइनन्– सत्ता हातबाट फुस्किने भयले सबै कुरा गौण बनेका छन् ।
विदेशी दलाली गर्ने चरित्र अहिले पनि उतिनै प्रकट छ। ‘ठूला दल’ कसरी ठूला रहिरहने ? यही प्रश्न उनीहरूको मनमा नाचिरहेको छ। जनतालाई मूर्ख बनाएर आफू बाघ बन्ने प्रतिस्पर्धामा उनीहरू हतारिएका छन् । नेताहरूको स्वार्थले मुलुक के–कति क्षतिग्रस्त हुँदै गएको छ भन्ने कुरामा नयाँ पुस्ताले असन्तोष र विद्रोह व्यक्त गर्नु स्वाभाविक हो। तर त्यसको प्रतिफलमा सर्वसाधारण नागरिक नै बलिको बोका बन्नुपर्ने दयनीय अवस्था देखिन्छ ।
विदेशी शक्तिका इसारामा देशलाई आगोको रिंगमा तान्ने गतिविधि विगत आठ दशकदेखि दोहोरिएको इतिहास हो । आन्दोलन हुन्छ, सत्ता एक समूहबाट अर्को समूहमा सर्छ; तर व्यवस्था उस्तै रहन्छ । मूलभूत परिवर्तनबिनाको परिवर्तनले सुशासन आउँदैन भन्ने बुझाइ विकसित हुन सकेको छैन। सत्तासुखको व्यक्तिगत स्वार्थले राष्ट्रहितलाई बारम्बार बन्धक बनाएको तथ्य जनताले पनि जहिल्यै भोगिरहेका छन् ।
भर्खरैको जेनजी आन्दोलनले धेरै अमूल्य सम्पत्ति खरानी पा¥यो। जीवन गुमाएका परिवारको पीडा अमूल्य छ। तर राज्य र राजनीतिज्ञहरूले त्यसबाट कुनै पाठ सिके जस्तो देखिँदैन। मुलुकभर पुनः अस्थिरताको आभास छ; कुनै पनि बेला अर्को ठूलो विस्फोट हुने चेतावनी झैँ परिस्थितिले संकेत गरिरहेको छ। यदि नेताहरूमा अझै पनि चेत जागेन भने आगामी संकट मुलुकका लागि विध्वंसकारी बन्न सक्छ।
देशका ठूला दलहरू विदेशी स्वार्थका लागि दलाली गर्दै मुलुकलाई खरानी पार्ने दौडमै रहेकोजस्तो देखिन्छ । इतिहासले उनीहरूलाई कहिल्यै क्षमा गर्ने छैन। बंगलादेशकी प्रधानमन्त्री शेख हसीनालाई परेका जस्तै चुनौतीपूर्ण अवस्था नेपालले अझै अनुभव गर्न बाँकी छ, तर त्यसो नहोला भन्नेजस्तो आधार पनि कमजोर छ ।
नेपालमा हुने आन्दोलन सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध हुने हो; तर परिणाम फेरि उस्तै चक्रमा फर्किन्छ । गणतन्त्र र संघीयता आए पनि आर्थिक संकट गहिरिँदै गएको छ । अमेरिकाले सहयोगको नाममा ल्याएको एमसीसी सहितका परियोजनाहरूलाई लिएर उठेका प्रश्नहरू अनुत्तरित छन् । साम्राज्यवादी शक्तिको रणनीति धैरैजसो देशलाई कमजोर बनाउँदै आफ्नो प्रभाव विस्तार गर्नु नै हो– र नेपाल पनि त्यसैको दबाबमा बाँधिंदै गएको देखिन्छ ।
अमेरिकी रणनीतिले चीनलाई प्रतिस्पर्धी मात्र होइन, प्रतिद्वन्द्वीका रूपमा हेर्दै आएको छ। नेपाललाई सैन्य रूपमा प्रयोग गर्ने सम्भावित योजनाबारे राजनीतिक दलहरू अञ्जान छैनन् । तर सत्तास्वार्थका अगाडि उनीहरूको राष्ट्रहितप्रतिको संवेदनशीलता हराइरहेको छ। जेनजी आन्दोलनका क्रममा जलेको ‘कालोधन’ को स्रोत, आकार र सत्यतथ्य अझै स्पष्ट छैन । यिनै नेताहरूको स्वार्थ, असफलता र भ्रष्ट प्रवृत्तिले गणतन्त्रलाई नै बदनाम बनाइरहेको छ।
देशलाई बारम्बार खरानी पार्ने यो राजनीतिक खेल रोकिएन भने राष्ट्र अर्को ठूलो दुर्घटनातिर धकेलिने निश्चित छ। अब राजनीतिक दलहरूले विदेशीको इशाराभन्दा तल अझै गहिरो आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ– नत्र इतिहासले उनीहरूलाई कठोर शब्दमा लेख्नेछ, र देशको भविष्य अँध्यारो हुनेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker