बन्दीपुर भ्रमण वर्ष–२०२५ समापन र तमु ल्होसार : टुँडिखेलमा एकैपटक एक हजार जनालाई कौरा नचाइने

बन्दीपुर : पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा एक हजार जनालाई कौरा नचाउने तयारी गरिएको छ। बन्दीपुर भ्रमण वर्ष–२०२५ को समापन कार्यक्रम ‘तमु ल्होसार’ पर्वको अवसर पारेर आगामी पुष १५ गते भव्य रूपमा कौरा नचाउने तयारी गरिएको बृहत कौरा कार्यक्रम संयोजक एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।
‘बन्दीपुर भ्रमण वर्ष २०२५ ल्होसार पर्व संगसंगै विविध साँस्कृतिक कायृक्रमका साथ खाना महोत्सव मनाउने गरी तयारी भएको छ’, संयोजक गुरुङले भने, ‘तमु ल्होसारको एमंगका साथ आजसम्मकै सबैभन्दा धेरै कलाकारहरुद्वारा प्रस्तुत गरिने सानदा चुट्का (कौरा) नाच, पुस १६ गते चर्चित व्याण्डका साथ संगीतमय न्यू यर इभ कार्यक्रम र पुस १७ गते राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ विविध खानाका परिकारहरुसंग आनन्द लिन पाइने छ ।’
दुई रात तीन दिने यस महोत्सवमा बन्दीपुरका सम्पूर्ण होटल तथा होमस्टेका साथै केवुल कारमा विशेष छुटको व्यवस्था गरिएको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंस गुरुङले जानकारी गराए । यस्तै, बन्दीपुरले आगामि सन् २०२६ लाई सहासिक पर्यटन वर्षका रुपमा मनाउने समेत योजना बनाएको छ ।
‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने मूल नाराका साथ तनहुँको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको कौरा नाच संयोजक गुरुङले बताए ।
कार्यक्रममा सह–आयोजक, प्रवर्द्धक, कलाकार, दर्शक तथा सहयोगी सबैको खुला सहभागिता रहनेछ। नृत्यमा सहभागी हुन इच्छुक व्यक्तिहरूले आ–आफ्नो जातीय तथा संस्थागत पोशाकमा उपस्थिति जनाउनु बताइएको छ। समूहगत रूपमा सहभागी हुन चाहनेले कम्तिमा २५ जनाको समूह बनाएर दर्ता गर्नुपर्नेछ । यस्ता समूहलाई कौरा नृत्य प्रतियोगितामा समेत सहभागी हुने अवसर प्रदान गरिने भएको छ। सहभागी कलाकार तथा समूहलाई सम्मान तथा पुरस्कारको व्यवस्था पनि गरिएको आयोजक समितिले जनाएको छ ।
बन्दीपुर भ्रमाण वर्ष–२०२५
पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । यससँगै समृद्ध एवं सु–संस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या बढाउन बन्दीपुर भ्रमण वर्षले महत्वपूर्ण योग्दान पुगेको बताएका छन् ।
अध्यक्ष थापाका अनुसार पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउन बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउनुको मुख्य उद्देश्य रहेको थियो । बन्दीपुरका युवाहरूलाई स्वरोजगारबाट रोजगार सिर्जना गरी त्यही व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, बन्दीपुरका उत्पादनहरूलाई सोही ठाउँमा उपभोग तथा बिक्री वितरण गर्ने र विदेश पलायन हुनबाट युवालाई रोक्ने पनि भ्रमण वर्षले मद्दत पु¥याउने उनको भनाई छ ।
भ्रमण वर्षलाई सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरेको थियो । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व रहेको थिए ।
१७ सय पर्यटक राख्ने क्षमता
गुरुङका अनुसार हाल बन्दीपुरमा ७५ होटल छन् । यसबाहेक चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ । विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ’, उनले भने । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।
उनका अनुसार भ्रमण वर्षमार्फत सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिने तयारी छ । सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिनेछ । पर्यटकको उमेर र रुचि अनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने लक्ष्य रहेको छ ।
बन्दीपुर नै भ्रमण किन ?
बन्दीपुर नै भ्रमण किन गर्ने भन्ने प्रश्नमा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ भन्छन्, ‘यो जीवन्त प्राचिन सहर हो । होमस्टेको सर्किटको अनुभव हुन्छ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज अनुसन्धान गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागी हुन र रैथाने खानको स्वाद चाख्नलाई पनि एक पटक बन्दीपुर पुग्नै पर्छ ।’
अध्यक्ष गुरुङका अनुसार बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । विसं २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ । बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्छ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृंखला देखिन्छ ।
बन्दीपुरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि रोजाइमा पर्छ । बन्दीपुरमा अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, भारत लगायत देशबाट पर्यटक आउने गरेका छन्। हालसम्म आएका पर्यटक हरू पर्याप्त नभएकाले विश्वभर प्रचार गरे पर्यटकको संख्या बढाउने तयारी रहेको उनले जानकारी दिए ।
‘बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै यसलाई चिनाउन सकिन्छ भन्ने सोचसहित हामी अगाडी बढेका छौँ । बन्दीपुरलाई पर्यटन हिसाबले विश्वभर स्थापित गराउन लागेका छौँ । यससँगै हामीले पर्यटकको रुची अनुसार प्याकेज बढाइरहेका छौँ’, उनले भने । विधार्थीहरुलाई छुटसहित घुम्न आकर्षित गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । ‘हामीले पर्यटकको उमेर अनुसारको प्याकेज तयार पारेका छौँ’, उनले भने, ‘विद्यार्थीहरू भविष्यका पर्यटक हुन्छन् । पर्यटक प्रवर्द्धन गर्ने पनि उनीहरूले नै हो । तर, उनीहरू सधैँ पैसाको हाराकारबाट गुज्रिरहेका हुन्छन्। तसर्थ त्यस्ता विद्यार्थीहरूलाई छुटको पनि व्यवस्था गर्नेछौँ ।’
वि.सं २०६८ सालबाट बन्दीपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ । हाल सञ्चालनमा रहेका होमस्टेमा रैथाने उत्पादनको ब्राण्डिङ गराउन लगाइने जानकारी दिँदै उनले अगाडी भने, ‘एक होमस्टेमा एक उत्पादनको नामबाट ब्राण्डिङ गरिनेछ । मानौँ १२ वटा होमस्टे छ भने उनीहरूलाई एक÷एक वटा ब्राण्डिङ गर्न दिइनेछ ।’
पर्यटकको सांग्रिलाकारुपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडी बढाइएको समेत उनले जानकारी दिए । बन्दीपुरमा मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा राम्रोसँग हुन सकेको छैन । अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तसर्थ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज अध्ययन, अनुसन्धान गर्ने र यसलाई अझ व्यवसाय बनाउन जुटेका छौँ’, अध्यक्ष गुरुङले भने । भ्रमण वर्ष अन्तर्गत बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार, मौलिक सडक बत्तीहरू राखिने, पर्यटन व्यवसायमा सुधार, पर्यटन उद्योगहरूको विस्तृत अध्ययन र तथ्याङ्क संकलन गरिने, स्थानीय उत्पादनहरूलाई प्रवद्र्धन गर्ने र उनीहरूको बजार व्यवस्थापन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।
‘भ्रमण वर्षको सन्देशसहित कौरा नृत्यको भव्य प्रदर्शन गरिनेछ । नेपालमै आजसम्म ननाचेको ठूलो संख्यामा बन्दीपुरको टुँडिखेलमा नचाउने योजना रहेको छ’, अध्यक्ष गुरुङले भने । भ्रमण वर्षको अवसरमा जुनसुकै जातजाति, भाषभाषीको संरक्षण र विकास गर्नका लागि अक्षय कोष स्थापना गरिने तयारी रहेको समेत उनले जानकारी दिए । प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्रकोरुपमा पनि बन्दीपुर परिचित छ । बन्दिपुर साहसिक खेलहरू प्याराग्लाइडिङ, रक क्लाइम्विङ, ¥याफ्टिङ र ट्रेकिङ ट्रेल तथा रुटहरू रहेका छन् ।










