कामरेड माओत्सेतुङ्ग : विचार, बहस र आजको सान्दर्भिकता

सुरेशकुमार पाण्डे

कुनै समय हाम्रो देशका विभिन्न कम्युनिष्ट धाराबीच माओवाद र माओत्सेतुङ्गका विचारबारे व्यापक बहस चल्ने गर्थ्यो । अहिले पनि यदाकदा यस्ता बहसहरू सतहमा आउँछन्, तर विगतको तुलनामा ती निकै कमजोर देखिन्छन्। कसैले नयाँ जनवादी क्रान्तिका लागि माओवाद अपरिहार्य ठान्छन् भने कसैले नेपालका लागि माओत्सेतुङ्ग विचारधारा नै उपयुक्त हुने तर्क प्रस्तुत गर्छन्। यस्ता बहस नेपालमा मात्र होइन, विश्वका धेरै देशका क्रान्तिकारी कम्युनिष्टहरूबीच पनि चलेका छन् र अझै पनि चलिरहेका छन् ।

बहस र छलफल हुनु सकारात्मक पक्ष हो। तर दुःखद पक्ष के छ भने धेरैजसो अवस्थामा यस्ता बहसहरू निष्कर्षमा पुग्नुको सट्टा कम्युनिष्ट आन्दोलनलाई अझै टुक्र्याउने माध्यम बन्न पुगेका छन् । कम्युनिष्ट पार्टी भनेको श्रमजीवी जनताको हितका लागि निर्माण गरिएको राजनीतिक संगठन हो, जसको वैचारिक आधार कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले निर्माण गरेका हुन् र जसलाई लेनिनले व्यवहारमा पुष्टि गरेका छन्। आज विश्वमा समाजवादी व्यवस्था दुर्लभ देखिए पनि, जहाँ जहाँ सच्चा कम्युनिष्ट व्यवस्था स्थापना भयो, त्यहाँ आमूल परिवर्तन भएको इतिहासले देखाएको छ । तर कम्युनिष्टको आवरणभित्रै कम्युनिष्टविरोधी शक्तिहरू पलाउने खतरा सधैँ रहन्छ ।

नेपालमा पनि यस्ता दुःखद घटनाहरू समय–समयमा दोहोरिँदै आएका छन्। एउटा पार्टी मैत्रीपूर्ण छलफलमार्फत सुदृढ बन्नु सट्टा विभाजनको दिशातर्फ जानु क्रान्तिकारी आन्दोलनका लागि शुभ संकेत होइन। एउटा मजदुर कमजोर हुनु भनेको सम्पूर्ण मजदुर आन्दोलन कमजोर हुनु हो। त्यसैले छलफलको नियत कस्तो छ भन्ने विषयमा कम्युनिष्टहरू सधैँ सचेत हुन आवश्यक छ ।

आज संसारभर प्रतिक्रियावादी, संशोधनवादी, अवसरवादी र उग्रवामपन्थी भड्कावहरूले विभिन्न कोण र रूपबाट कामरेड माओ त्सेतुङ्गको योगदान र विचारमाथि तीव्र हमला गरिरहेका छन् । यस्तो अवस्थामा माओको देनबारे गम्भीर र निरन्तर छलफल झनै आवश्यक देखिन्छ । विडम्बनाको कुरा के छ भने, हिजो माओलाई अध्यक्ष मानेर माओवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार गरेका धेरै शक्तिहरू आज माओवादबाट पछि हटेका छन्। यही परिवेशमा माओको ऐतिहासिक भूमिका र विश्व कम्युनिष्ट आन्दोलनमा उहाँको योगदानमाथि बहस गर्नु समयसापेक्ष र महत्वपूर्ण छ ।

हालै माओत्सेतुङ्गको जन्मजयन्ती परेको सन्दर्भमा उहाँले देखाएको बाटो सही थियो कि थिएन, यदि सही थियो भने किन त्यो बाटो त्यागियो भन्ने प्रश्नमाथि छलफल गर्नु असान्दर्भिक हुँदैन। अझ महत्वपूर्ण प्रश्न त के हो भने, हिजो उग्र क्रान्तिकारी नारा लगाउने व्यक्ति वा संगठनहरूबाटै आज माओ विचारधारामाथि निरन्तर आक्रमण किन भइरहेको छ ? यस विषयमा केन्द्रित बहस आजको आवश्यकता हो।

यो समस्या नेपालमा मात्र सीमित छैन। विश्वका धेरै देशका कम्युनिष्ट आन्दोलन यस्तै प्रवृत्तिबाट ग्रसित छन्। त्यसैले यस्ता बहसहरू अत्यन्तै सजग, गम्भीर र मैत्रीपूर्ण ढंगले अघि बढाइनु जरुरी छ । अन्तर्राष्ट्रिय स्तरमा पनि लामो समयदेखि साझा मञ्चहरू बनाएर माओवादबारे छलफल हुँदै आएको इतिहास छ। कुनै समय Revolutionary Internationalist Movement (RIM) नामक अन्तर्राष्ट्रिय मञ्च सक्रिय थियो, जसले सुरुमा माओत्सेतुङ्ग विचारधारालाई र पछि माओवादलाई आफ्नो सिद्धान्तका रूपमा अंगीकार गरेको थियो । भारत, नेपाल, पेरू, बंगलादेश, कोलम्बिया, अमेरिका लगायत करिब १६–१७ देशका कम्युनिष्ट पार्टीहरू त्यसमा आबद्ध थिए । तर पेरूको क्रान्तिकारी युद्धको पतनपछि त्यो मञ्च क्रमशः निष्क्रिय हुँदै हराएको जस्तै भयो ।

पछि International Coordination of Revolutionary Parties and Organizations (ICOR) जस्ता पहलहरू भए। यी सबै प्रयासहरूले मालेमा (मार्क्सवाद–लेनिनवाद–माओवाद) को झण्डामुनि विश्व कम्युनिष्ट आन्दोलनलाई जीवित राख्ने र विस्तार गर्ने प्रयत्न गरेका छन्। यही आधारमा श्रमजीवी, किसान, मजदुर र उत्पीडित वर्गको मुक्तिका लागि संघर्ष अगाडि बढिरहेको छ ।

कम्युनिष्ट आन्दोलनको भविष्य उज्यालो देखिए पनि त्यसविरुद्ध भइरहेका चौतर्फी आक्रमणप्रति गम्भीर ध्यान दिनु आवश्यक छ। विशेषतः जहाँ कम्युनिष्टहरूको प्रभाव देखिन्छ, त्यहाँ प्रतिक्रियावादी शक्तिहरूले पहिले नै मूल्याङ्कन गरेर विभिन्न आर्थिक र सामाजिक जाल बिछ्याइदिन्छन्। आईएनजीओ, एनजीओ, सहकारीजस्ता माध्यममार्फत क्रान्तिकारीहरूलाई गन्तव्यविहीन बनाउने प्रयास व्यापक रूपमा भइरहेको छ, जसको असर नेपालमा पनि स्पष्ट देखिन्छ। पूँजीवादले पैसालाई सर्वोच्च स्थानमा राख्दा आज बिना पैसा बाँच्नै कठिन अवस्था सिर्जना भएको छ ।

यस्तो परिस्थितिमा कम्युनिष्टहरू आपसी साना विवाद, पद–प्रतिष्ठाको लोभ र निम्न पूँजीवादी सोचबाट मुक्त भई एकतालाई मजबुत बनाउनु आजको प्रमुख आवश्यकता हो। संस्कार जोगाउने नाममा रूढिवाद र कुसंस्कारलाई संरक्षण गर्ने प्रयास एकातिर देखिन्छ भने अर्कोतिर प्रगतिशीलताको नाममा पश्चिमी छाडा संस्कृतिको प्रभाव युवामाझ फैलिएको छ। यी दुवै प्रवृत्तिले कम्युनिष्ट एकतामा अवरोध खडा गरिरहेका छन् ।

कामरेड माओ त्सेतुङ्ग स्वयं गरिब किसान परिवारमा जन्मिएर सामन्ती व्यवस्था, कन्फ्युसियस धर्मको प्रभाव र विदेशी हस्तक्षेपको बीचबाट विद्रोही चेतनाको विकास गर्न सफल व्यक्ति हुन् । उहाँले आफ्नै घरबाट विद्रोह सुरु गर्नुभयो। कम्युनिष्टले गर्ने काम भनेकै आफूबाट क्रान्ति सुरु गर्नु हो भन्ने माओको जीवनले देखाउँछ ।

माओले चीनको ऐतिहासिक, सामाजिक र भौगोलिक अवस्थाको गहिरो अध्ययन गरी माक्र्सवाद–लेनिनवादलाई आफ्नै देशअनुकूल विकास गर्दै नयाँ जनवादको सिद्धान्त प्रस्तुत गर्नुभयो। अर्धसामन्ती र अर्धउपनिवेशिक अवस्थामा रहेको चीनमा सीधै समाजवादी क्रान्ति सम्भव नभएको निष्कर्ष निकाल्दै उहाँले कृषि क्रान्तिलाई आधार मानेर सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सफल पार्नुभयो ।

आज पनि विश्वका श्रमजीवी क्रान्तिकारी वर्गहरूले माओले देखाएको बाटोलाई पछ्याइरहेका छन्। नेपालजस्तो कृषि प्रधान, भूपरिवेष्ठित र आर्थिक रूपमा कमजोर देशमा माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ्ग विचारधारालाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्दै कृषि क्रान्तिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै यथार्थपरक बाटो देखिन्छ । कागजमा मात्र समाजवाद लेखेर पुग्दैन, त्यसका लागि आवश्यक भौतिक र आर्थिक आधार तयार गर्नुपर्छ ।

अतः आजको नेपालका लागि चर्का नाराभन्दा व्यवहारिक क्रान्ति, आत्मनिर्भरता र श्रमजीवी जनताको जीवनस्तर उकास्ने कृषि क्रान्ति नै सबैभन्दा सान्दर्भिक मार्ग हो । यही बाटोबाट मात्र देश र जनताको हित सुनिश्चित हुन सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker