तनहुँ प्रहरीद्वारा फरार प्रतिवादी तथा कैदी पक्राउ

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी टोलीले विभिन्न मुद्दाका फरार प्रतिवादी र कारागार तोडफोड गरी फरार भएका कैदीलाई पक्राउ गरेको छ

प्रहरीका अनुसार आइतबार खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरूलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । यसैगरी कैदी तथा थुनुवाहरूलाई कैद भुक्तानका लागि जिल्ला कारागार तनहुँमा बुझाइएको छ ।

पक्राउ पर्ने फरार प्रतिवादीहरूमा ऋषिङ गाउँपालिका–१ का सुमन सारु रहेका छन् । उनीविरुद्ध अपराधिक उपद्रव मुद्दामा जिल्ला अदालत तनहुँले १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

यसैगरी व्यास नगरपालिका–१३ की सावित्री पाण्डे चेक अनादर मुद्दामा अदालतले ३ हजार रुपैयाँ जरिवाना तोकको थियो । भिमाद नगरपालिका–३ का सन्त बहादुर नेपाली, खगिसरा बि.क. र अन्जु नेपालीलाई अवैध वन्यजन्तु रतुवा मृग चोरी शिकारसम्बन्धी मुद्दामा पक्राउ गरिएको छ । उक्त मुद्दा जिल्ला अदालत तनहुँले सन्त बहादुर नेपालीलाई १ हजार ४ सय रुपैयाँ, खगिसरा बि.क. र अन्जु नेपालीलाई जनही ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

घिरिङ गाउँपालिका–२ का तिल बहादुर श्रेष्ठ चेक अनादर मुद्दाका दुई फरक–फरक मुद्दामा उनलाई जनही ३ हजार रुपैयाँ जरिवाना तोकिएको तनहुँ प्रहरीले जनाएको छ ।

त्यसैगरी व्यास नगरपालिका–३ की ३४ वर्षीया जोशनाबानु रानालाई बैकिङ कसुर मुद्दामा पक्राउ गरिएको छ । उनीविरुद्ध जिल्ला अदालत तनहुँको लगत नं. ५६–०८२–०००१३ अनुसार ७ हजार २ सय रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, गत भदौ २३ र २४ गते जेन्जी समूहको आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँमा तोडफोड गरी फरार भएका एक कैदीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० स्थायी ठेगाना भई हाल भिमाद गाउँपालिका–९ मा बस्दै आएका २७ वर्षीय प्रकाश बि.क. रहेका छन् । उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादी तथा कैदीलाई कानुनी प्रक्रिया अनुसार सम्बन्धित निकायमा बुझाइएको छ। अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादी खोजी कार्यलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चोरी भएका मोटरसाइकल र स्कुटर सवारीधनीलाई जिम्मा

यस्तै, चोरी भएका एक थान मोटरसाइकल र एक थान स्कुटर फेला पारेर प्रहरीले सम्बन्धित सवारीधनीलाई बुझाएको छ ।

मंसिर २९ गते कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ काउखोला निवासी निरु सुबेदीको पार्किङमा राखिएको ग१०प २७३३ नम्बरको स्कुटर तथा पोखरा महानगरपालिका–१० अमरसिंह निवासी गोविन्द कुमार शाहको पार्किङमा राखिएको ग१०प ७२०५ नम्बरको मोटरसाइकल हराएको भन्ने जानकारी प्रहरीमा प्राप्त भएको थियो ।

प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार तनहुँ जिल्ला व्यास नगरपालिका–२ स्थित दमौली बजारबाट उक्त सवारी साधनहरू फेला पारेको हो। फेला परेका मोटरसाइकल र स्कुटर आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker