तनहुँको ९९ प्रतिशत विकास कांग्रेसकै नेतृत्वमा : तनहुँ–१ का उम्मेदवार भट्टराई

दमौली : नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले विगतका निर्वाचनमा काँग्रेसलाई मतदान नगर्ने मतदाताहरू अहिले तनहुँको विकासको गति सुस्त भएको महसुस गर्दै पछुताउन थालेको दाबी गरेका छन् । शनिबार दमौलीस्थित विपी स्मृति भवनमा आयोजित नेपाली काँग्रेस व्यास नगर समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले तनहुँको समग्र विकासको मेरुदण्ड नेपाली काँग्रेस नै भएको दाबी गरे ।

‘तनहुँमा भएका ९९ प्रतिशत विकासका काम नेपाली काँग्रेसको नेतृत्व र पहलमै सम्भव भएका हुन्’, उनले भने, ‘सडक विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानीदेखि ठूला पूर्वाधारसम्मका हरेक महत्त्वपूर्ण परिवर्तनमा काँग्रेसको स्पष्ट योगदान छ। विगतमा भावनामा बगेर मत दिएकाहरूले अहिले पछुताउनुपर्ने अवस्था आएको छ, किनकि काम गर्ने, विकास गर्ने र जिम्मेवारी बहन गर्ने शक्ति काँग्रेससँग मात्रै छ ।’

उपनिर्वाचनमा पराजित भए पनि जनताको सेवाबाट विमुख नभएको उल्लेख गर्दै नेता भट्टराईले हार–जितलाई सामान्य राजनीतिक प्रक्रिया मात्र भएको बताए । ‘हार–जित प्राविधिक कुरा हो’, उनले भने, ‘मेरो मूल उद्देश्य जनसेवा हो निर्वाचनमा पराजित भए पनि म तनहुँका जनताको समस्या समाधानका लागि निरन्तर सिंहदरबार धाइरहेँ। जिल्लाका लागि आवश्यक बजेट व्यवस्थापन, योजना स्वीकृति र विकासका कामलाई अघि बढाउन मैले कहिल्यै पछि हटिन् ।’

उनले आगामी दिनमा अस्पतालको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा जिल्लाका पर्यटकीय स्थलहरूको प्रवद्र्धनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारे। उनले भने, ‘स्वास्थ्य र पर्यटन तनहुँको भविष्यसँग जोडिएका क्षेत्र हुन्, यी क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने हाम्रो लक्ष्य हो ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस व्यास नगरका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले अघिल्लो उपनिर्वाचनको समीक्षा गर्दै उनले भने, ‘एमाले र माओवादीको मत व्यवहारका कारण अपेक्षित परिणाम नआएको र अघिल्लो उपनिर्वाचनमा एमालेका धेरै मतदाताले आफ्नै उम्मेदवारलाई मत नदिएको अवस्था देखियो। माओवादीको प्रभाव क्षेत्रबाट पनि सोचेजस्तो मत आउन सकेन, जसले परिणाममा असर पा¥यो ।’ यद्यपि, यसपटक पार्टी संगठन थप सुदृढ भएको, कार्यकर्ता एकढिक्का भएको र जनमत काँग्रेसकै पक्षमा देखिएको भन्दै उनले जीत सुनिश्चित रहेको दाबी गरे ।

व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा आयोजित विस्तारित बैठकले दमौलीमा ‘प्रचार–प्रसार सम्पर्क कार्यालय’ को शुभारम्भ गरेको छ । कार्यालय उद्घाटनसँगै घरदैलो अभियान, मतदाता भेटघाट तथा अन्य रणनीतिक कार्यक्रमहरूलाई तीव्रता दिइने प्रचार समितिले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker