निजी क्षेत्रको सहकार्य बिना विकास कोरा कल्पना मात्र : कांग्रेस उम्मेदवार भट्टराई

तनहुँ : नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले निजी क्षेत्रलाई उपेक्षा गरेर मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् । तनहुँका उद्योगी तथा व्यवसायीहरूको दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको सक्रिय सहभागिता बिना विकासका नारा केवल कोरा कल्पनामा सीमित हुने ठोकुवा गरे ।
नेता भट्टराईले राज्यले सबै नागरिकलाई सरकारी सेवामा मात्र आबद्ध गराउन नसक्ने यथार्थ स्वीकार गर्नुपर्ने उल्लेख गर्दै रोजगारीको मुख्य आधार निजी क्षेत्र नै भएको स्पष्ट पारे । ‘हामीले सत्य बोल्नुपर्छ– सबैलाई सरकारी जागिर खुवाउन सम्भव छैन’, उनले भने, ‘आज वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीले पनि अन्ततः उतैको निजी क्षेत्रमै पसिना बगाएर जीविकोपार्जन गरिरहेका छन् ।’
उनले अबको प्रमुख चुनौती भनेको वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने वातावरण सिर्जना गर्नु रहेको बताए। उनले भने, ‘उद्योग, व्यापार र व्यवसाय फस्टाउने नीतिगत र व्यवहारिक आधार तयार गर्न सके मात्र देशभित्र रोजगारी सिर्जना सम्भव हुन्छ ।’
भट्टराईले नेपाली कांग्रेसले वि.सं. २०४८ सालदेखि अवलम्बन गर्दै आएको खुला बजार र उदार अर्थनीतिका कारण नै नेपालमा निजी लगानीको आधारशिला तयार भएको स्मरण गरे । ‘कांग्रेस सधैँ निजी क्षेत्रको अभिभावक रहँदै आएको छ’, उनले भने, ‘नीतिगत अप्ठ्यारा फुकाउने, लगानीकर्ताको आत्मविश्वास बढाउने र सुरक्षित लगानीको वातावरण बनाउन म सदैव तपाईंहरूको साथमा रहनेछु। तपाईंहरूले उत्पादन र रोजगारी बढाउनुहोस्, सहजीकरण र सुरक्षाको ग्यारेन्टी म लिन्छु ।’
भेलामा सहभागी उद्योगी तथा व्यवसायीहरूले विद्यमान आर्थिक मन्दी, चर्को ब्याजदर, प्रशासनिक झन्झट लगायत समस्याबारे उम्मेदवार भट्टराईको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा भट्टराईले आफू निर्वाचित भएपछि संसद र सरकारमा उद्योगी–व्यवसायीका समस्यालाई प्राथमिकताका साथ उठाउने र तनहुँलाई ‘लगानीमैत्री जिल्ला’का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।










