जनताको सुख–दुःखमा संगै छु : नेकपा उम्मेदवार ढकाल

दमौली : आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले आफू जनताको सुख–दुःखमा संगै रहेको बताएका छन् । यस क्षेत्रको भूगोल, इतिहास र जनजीवनलाई नजिकबाट बुझेको व्यक्ति भएकाले जनताको आवश्यकतालाई राम्रोसंग बुझेको हुँदा सोही अनुरूप काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
चुनावी अभियान अन्तर्गत पालिका र मतदाताको घरदैलोमा पुग्दै गरेका उम्मदेवार ढकालले बिहीबार दमौलीमा पत्रकारहरुसंग कुरा गर्दै तनहुँ क्षेत्र नम्बर १ नै आफ्नो घर, पहिचान र भविष्य भएको बताए । नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यहीँ जन्में, यहीँ हुर्कें, जीवनका अधिकांश समय यही क्षेत्रमा बिताएँको छु । मेरो सबैथोक यही क्षेत्र हो, बाँचुन्जेल यहीँका जनताको सेवामा रहनेछु ।’
‘आफू वर्षमा कति पटक जिल्ला, क्षेत्र आएँ भन्ने विषयमा स्पष्टीकरण दिनुपर्ने अवस्था नरहेको बताउँदै ढकालले भने, ‘जनतासँगको सम्बन्ध चुनावी समयमै सीमित नरहेको र जनतासँगको मेरो सम्बन्ध निरन्तर छ । त्यसैले समस्या कागजमा लेखिएको विवरणबाट होइन, जीवनबाट बुझ्छु ।’
६५ वर्षको जीवन तनहुँ क्षेत्र नम्बर १ मै बिताएको बताउँदै ढकालले तनहुँको भूगोल, सामाजिक बनोट, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधारका विषयमा आफू गहिरोसँग जानकार रहेको बताए । उनले भने, ‘भूगोल नबुझेको मान्छेले यहाँको समस्या समाधान गर्न सक्दैन । जनताको मन जित्ने गरी, जनताको भावनाको कदर हुने गरी काम गर्ने मेरो प्रतिबद्धता छ ।’
ढकालले आफू विगतदेखि नै जिल्लामा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै आफ्नो पहिचान भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा स्थापित भएको समेत चर्चा गरे । देशको स्वाधीनता र अखण्डतामाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले आवश्यक परे फेरि एकपटक त्यसको रक्षाका लागि लड्नुपर्ने अवस्था आउन सक्ने समेत उल्लेख गरे ।
‘देशको स्वाभिमान, अखण्डता र सार्वभौमिकताको रक्षा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वले मात्रै गर्न सक्छ’, उनले भने, ‘भ्रष्टाचार र विसंगतिको अन्त्यसँगै देशभित्रै रोजगारी सिर्जना गरी युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्नु मेरो मुख्य एजेण्डा हो ।’
निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक ओमकुमारी पौडेल, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू हरिबहादुर चुमान, शिवलाल थापा, कलिला खानलगायतको सहभागितामा ढकालले चुनावी अभियान सञ्चालन गर्दै आएका छन् । निर्वाचन समितिले तनहुँ क्षेत्र नं. १ को देवघाट, आँवुखैरेनी, व्यास, भानु, बन्दीपुरमा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।










