स्थानीय मुद्दा जान्ने उम्मेदवार हुँ : एमाले उम्मेदवार सिग्देल

दमौली : आगामि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार केदार सिग्देलले आफू यस क्षेत्रका जनजीवन, समस्या र सम्भावनासँग नजिकबाट परिचित उम्मेदवार भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल, तनहुँले शनिबार दुलेगौडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बाहिरबाट आएर राजनीति गर्ने व्यक्ति नभई यही भू–भागमा जन्मिएर हुर्किएको स्थानीय प्रतिनिधि भएको उल्लेख गरे ।
उम्मेदवार सिग्देलले तनहुँ–२ का सबै वडा र बस्ती आफूलाई चिनिएका स्थान भएको भन्दै जनताले भोग्दै आएका शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीसम्बन्धी समस्या आफूले नजिकबाट बुझ्दै आएको बताए । “म यहाँका जनता र भूगोलसँग अपरिचित छैन”, उनले भने, “स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर विकासका योजना अघि बढाउन सक्ने क्षमता मसँग छ ।”
उनले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने अभ्यास आफ्नो राजनीतिक पहिचान भएको बताउँदै विकासलाई नारा होइन, व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्रोत, साधन र सम्भावनाको सदुपयोग गर्दै दिगो विकासको खाका तयार गरिने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सिग्देलले नेकपा एमालेको नीति, विचार र नेतृत्वले देशलाई स्थायित्व, विकास र सुशासनतर्फ लैजान सक्ने स्पष्ट दृष्टिकोण बोकेको दाबी गरे । आगामी निर्वाचनमा सबै वर्ग, समुदाय र क्षेत्रका मतदाताबाट व्यापक समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
सांसदको भूमिकाबारे प्रष्ट धारणा राख्दै उनले प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी बजेट बाँडफाँट गर्नु नभई नीति निर्माण, कानुन निर्माण र सरकारलाई सही दिशामा मार्गदर्शन गर्नु भएको बताए। “सांसदले बजेट बाँड्ने होइन, नीति बनाउने हो”, उनले भने, “क्षेत्रको आवश्यकता अनुसार सरकारलाई दबाब र मार्गदर्शन दिने काम प्रतिनिधिले गर्नुपर्छ ।”
उम्मेदवार सिग्देलले साधारण जीवनशैली र उच्च नैतिक मूल्यलाई आफ्नो राजनीतिक आचरणको आधार बनाउँदै आएको उल्लेख गर्दै जनप्रतिनिधिका रूपमा इमानदारी, पारदर्शिता र जवाफदेहितालाई सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker