तनहुँको भिमाद-७ राङरुङमा रुखमा चढ्ने साहसिक खेल शुरु
कृष्ण न्यौपाने/दमौली
कोरोना कहरका कारण थला परेको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित तनहुँको भिमाद नगरपालिका-७ राङरुङमा रुखमा चढ्ने (ट्रि क्लाइम्बिङ) सहासिक खेल शुरु भएको छ । राङरुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडाकार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रुखमा चढ्ने खेल सञ्चालन गरेको हो । डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका-७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।
“नयाँ गन्तव्यको खोजी अभियानअन्तर्गत रुख चढ्ने खेल सञ्चालन गरेका हौँ, यसले पर्यटकलाई आकर्षित गर्न सक्नेमा ढुक्क छौँ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय साहसिक खेलतर्फ पर्यटकको आकर्षण बढ्दै गएकाले रुख चढ्ने खेल पर्यटकको रोजाइमा पर्नेछ । विभिन्न रमणीय स्थानको अवलोकन तथा हिमालको सुन्दर दृश्यावलोकनका लागि पिपलडाँडामा निर्मित दृश्यावलोकन केन्द्र, पिपलडाँडामै रहेको पार्क तथा स्थानीय मौलिक नेवारी परिकार पर्यटकको हटियामा रहेको झिङ्गु राङरुङ नेवाःहोमस्टे, राङरुङ रिसोर्टका अतिरिक्त स्थानीय मौलिक कला र संस्कृति यहाँका प्रमुख आकर्षण हुन् ।
शहरको केन्द्रित बसाइ रोक्न र आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्न यी केही आधार भएता पनि यति मात्रै पर्याप्त नभएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । त्यसका लागि गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका अतिरिक्त अन्य मनोरञ्जनको व्यवस्था हुन जरुरी रहेको उहाँको भनाइ छ । यसका लागि विस्तृत गुरुयोजनाका साथ अगाडि बढ्ने बताउँदै उहाँले प्रारम्भिकरूपमा पर्यटकीय स्थलको रूपमा यस स्थललाई विकास गर्न आफू प्रयत्नरत रहेको जानकारी दिनुभयो । त्यसका लागि जिप फ्लाइङ, धुन्दुरमा र्याफ्टिङ, ऐनाखोलामा मिनिचिडियाखाना, बोटानिकल गार्डेन तथा प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
टि्र क्लाइम्बिङ प्रवर्द्धन उपभोक्ता समितिको आयोजना र भिमाद नगरपालिकाको लगानीमा सञ्चालित उक्त कार्यको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले शुभारम्भ गर्नुभएको थियो । नगरप्रमुख थापाले आफू समग्र भिमाद नगरपालिकाको पर्यटन, कृषि, शिक्षा स्वास्थ्य, उद्योग, पूर्वाधारलगायत चौतर्फी विकासका लागि प्रतिवद्ध भएर लागिपरेको बताउनुभयो । सबै कार्य एकैसाथ सम्पन्न गर्नका लागि आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समस्या रहे पनि क्रमिकरूपमा लक्ष्य प्राप्तिका लागि अग्रसर रहेको उहाँको भनाइ छ ।
अहिले गाउँमा बूढाबूढी मात्रै बस्ने र अन्य जनशक्तिको तीव्ररूपमा शहर पलायनले विकासको सन्तुलन बिग्रने बताउँदै नगरप्रमुख थापाले शहरको भीडभाड र भड्किलो जीवनशैलीमा रमाउनुभन्दा स्वस्थ गाउँले जीवनयापन, खानपान खुशी तथा लाभलायक रहेकामा जोड दिनुभयो । राङरुङमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यसहित टि्र क्लाइम्बिङ सञ्चालनमा ल्याइएको ट्रि क्लाइम्बिङ प्रवर्द्धन उपभोक्ता समितिका अध्यक्ष भूपतीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्यवस्थल बन्दै
एउटा गीत छ, ‘गाउँको माया भुलेर खैरेनीसम्म पुग्याथे तान्यो मलाई त्रि्रै मायाले ।’ यस गीतमा जोडिएको तिम्रो माया शब्दमार्फत रचनाकारले प्रेमि/प्रेमिका, श्रीमान्/श्रीमती वा गाउँ जेसुकैलाई सम्वोधन गरेको हुनसक्छ तर गीतको यो सानो अंशले गाउँ छाड्ने अवस्थामा पुगे पनि पछि पुनः गाउँमा फर्कन चाहने धेरैको मनोभावनाको प्रतिनिधित्व गरेको छ ।
गीतमा जस्तै मानिसले गाउँ भुलेर शहर रोज्नु धेरै कारण छन् । गाउँको भन्दा शहरमा सुख, सुविधा र तुलनात्मकरूपमा कम श्रम गरेर पनि जीवन चल्ने तथा सामाजिक प्रतिष्ठाका कारण मानिसले गाउँ छाडेर शहर रोजेको पाइन्छ । बाध्यताले शहर पसेका बाहेक अन्य हत्तपत्त गाउँ र्फकन चाहँदैनन् । यसरी स्थायीरूपमा गाउँ छाडेर शहरमा बसोबास गर्नेलाई छोटो समय भए पनि गाउँमा फर्काउने र गाउँमै बसोवास गर्नेका लागि विभिन्न अवसरको सिर्जना गर्दै पलायन रोक्ने तथा आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने अभियानमा छन् भिमाद नगरपालिका-७ राङरुङका स्थानीयवासी । यसमा स्थानीयलाई साथ दिएको छ भिमाद नगरपालिकाले । रासस










