नयाँ सहर आयोजना डुम्रे भन्सार : १० वर्षको अबधिमा एक प्रतिशत मात्र आर्थिक प्रगति
२० वर्षभित्र एक लाख जनसंख्यालाई अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकास गर्ने लक्षय

-
सम्झना रसाइली/तनहुँ
तनहुँको भानु नगरपालिकास्थित नयाँ सहर आयोजना डुम्रे भन्सारले काम गर्न थालेको करिव १० वर्ष बितेको छ। २० वर्षभित्र एक लाख जनसंख्यालाई अत्यावश्यक सुविधासहित बस्न सक्ने गरी पूर्वाधार विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको आयोजनाले हालसम्म एक प्रतिशत मात्रै आर्थिक प्रगति देखाएको छ ।
आइडीपीमा समावेश भएको ४४ अर्व रकममध्ये हालसम्म १ अर्व २६ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ९५ करोड ८७ लाख रुपैयाँ मात्र आयोजनाले खर्च गर्न सकेको छ। आयोजनाको भौतिक प्रगति १.५ प्रतिशत भएको छ ।
२०७० सालमा भानु नगरपालिका–१ मा नयाँ सहरी विकास आयोजनाको कार्यालय स्थापना गरिएको थियो । आयोजनाको १० वर्ष वितिसक्दा पनि आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेको छैन ।
कार्यालयले आर्थिक वर्ष २०७२÷७३ देखि गत आर्थिक वर्षसम्म विभिन्न योजनामा ९५ करोड ८७ लाख रुपैयाँ खर्च गरेको निमित्त आयोजना प्रमुख अभिषेक अधिकारीले बताए । उनले भने, ‘आइडीपीमा समावेश भएको ४४ अर्व रुपैयाँ रकममध्ये एक प्रतिशत मात्र रकम खर्च भएको छ । भौतिक पुर्वाधारहरु क्रमिक रुपमा बन्ने अवस्था रहेकाले हालसम्मको भौतिक प्रगति न्युन नै छ ।’
कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको छ। आर्थिक वर्ष २०७२÷७३ मा ३ करोड ७४ लाख विनियोजन भएकामा २ करोड ३६ लाख, आर्थिक वर्ष २०७३÷७४ मा १३ करोड २६ लाख विनियोजन भएकामा ८ करोड ८० लाख, आर्थिक वर्ष २०७४÷७५ मा २० करोड ६१ लाख विनियोजन भएकोमा १९ करोड २४ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए ।
यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा ४ करोड ९१ लाख, आर्थिक वर्ष २०७६÷७७ मा १० करोड २९ लाख, आर्थिक वर्ष २०७७÷७८ मा १३ करोड ४९ लाख, आर्थिक वर्ष २०७८÷७९ मा १० करोड ८५ लाख, आर्थिक वर्ष २०७९÷८० मा १० करोड ४४ लाख र आर्थिक वर्ष २०८०÷०८१ मा १५ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्षसम्म एक अर्व २६ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ९५ करोड ८७ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा पुँजीगततर्फ १२ करोड ७ लाख र चालुतर्फ एक करोड ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको आयोजना प्रमुख अधिकारीले बताए । बिनियोजित बजेटबाट हालसम्म कुनैपनि रकम खर्च नभएको उनले बताए ।
कार्यालयमार्फत हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल तथा यातायात अन्तर्गत सडक कालोपत्र, ढलान, नाला, ढल निर्माण, ग्राभेल र कच्ची सडक निर्माण भएको छ। यस कार्यमा ६३ करोड रुपैयाँ लगानी भएको छ । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले बताए। बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा २ करोड ९० लाख रुपैयाँ लगानी भएको छ ।
सामाजिक पूर्वाधारतर्फ हरित उद्यान, किरियापुत्री भवन, ज्येष्ठ नागरिक भवन, सिँढी, मञ्च र शौचालय निर्माण भएका छन् । सांस्कृतिक तथा पर्यटनतर्फ सिद्धगुफामा पूर्वाधार, तालपार्कको विस्तृत अध्ययन प्रतिवेदन र स्टोन पार्क निर्माणमा २ करोड रुपैयाँ लगानी भएको उनले बताए ।
कार्यालयले ३४.७८ किमी सडक ग्राभेल, १.२४ किमी ढलान, २०.३० किमी कालोपत्र, ४४.६२ किमी नाला निर्माण, तीनवटा सामुदायिक भवन, एउटा सरकारी कार्यालय भवन, एउटा खेलमैदान, दुईवटा मनोरञ्जन पार्क र एउटा खानेपानी योजना निर्माण गरेको जनाएको छ ।
यस्तै, कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । सोका लागि ६४३ रोपनी जग्गा पहिचान गरिएको अधिकारीले बताए । विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको भन्दै बाटोको किल्ला तोक्ने कार्य सकिएको उनले बताए । उनले भने, ‘नगर विकास समितिबाट स्वीकृत भई जग्गा अधिग्रहण र जग्गाको कित्ता कायम गर्न बाँकी छ ।’
आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि १० नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न जिल्लामा साबिकको भानु गाविस–१, २, ३ र ४ साबिकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो।
विगत एक वर्षदेखि पालुङटारमा पनि कार्यक्रम गर्दै आएको निमित्त प्रमुख अधिकारीले बताए । उनका अनुसार पालुङटार स्मार्ट सिटीमा शिवमन्दिर, खोप्लाङ, लुङ्गी, ज्योतिचौतारा, सडक स्तरोन्नति, विद्यालयमा सीसीटीभी जडान कार्य सम्पन्न भएका र हाट बजारको काम निर्माणाधीन अवस्थामा रहेको छ । सरोकारवालासंग समन्वय र बजेटलाई प्रथामितामा राखेर अगाडि बढ्दा काम गर्न सहज हुने र अपेक्षित भौतिक प्रगाति पनि हासिल गर्न सकिने उनले बताए ।
यस्तै, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाकै जनसंख्या घटिरहेको उनले बताए । रोजगारी र आधारभुत आर्थिक वर्षश्यकताको खोजीमा तीव्र रुपमा विकास भैरहेका नजिकका सहर चितवन, दमौली, पोखरा, काठमाडौं लगायतका सहरहरुमा बसाईसराई गरेका उनले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार बन्दीपुर गाउँपालिकामा २२ हजार १७२ जनसंख्या थियो भने २०७८ मा घटेर १८ हजार ५३२ जनसंख्या रहेको तत्थ्यांकमा उल्लेख गरिएको छ ।
आयोजनाले साविक बन्दीपुर गा.वि.स वडा नम्बर १, २, ३ र ४ समेटेर कार्यक्रम अगाडि बढाएको बन्दीपुर गाउँपालिका– १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। उनका अनुसार सडक बनाउने, कालोपत्रे, ढलान, नाली बनाउने, सोलर बत्ती जडान, कृयापुत्रि भवन, पार्क निर्माण जस्ता कार्यक्रमहरु भइरहेका छन् ।
‘हालसम्म हासिल गर्नुपर्ने जति प्रगति भने गरेको देखिदैन’, उनले भने, ‘पहुँचका आधारमा बजेट बिनियोजन गर्ने, कार्मचारीलाई जहाँ मन लाग्छ त्यही बजेट हाल्दिने, स्थानीय तहसंग कुनै समन्वय नगरी आफ्नो हिसावबाट योजना बनाउने गर्दापनि समस्य आएको देखिन्छ । स्थानीयको आवश्यकता र मागको आधारमा योजना बनाए राम्रो हुने थियो ।’
यस्तै, शहरी विकास आयोजनाले वडाभित्र काम गर्दा वडाध्यक्ष वा अन्य कुनै सरोकारवाला निकायसंग समन्वय नगरेको भानु नगरपालिका–१ की वडाध्यक्ष कान्छीमाया तामाङ बताउँछिन् । उनले भनिन्, ‘उनीहरुले काम गरेको हामीलाई थाहा हुँदैन, यी कार्य आफ्नै वडामा भएकाले खोजखाज गर्दा थाहा पाएको हो ।’ आफ्नो कार्यकालको समयमा आयोजनाले सडक कालोपत्रे र ढलनको काम गरेको उनले बताइन् ।










