स्वर्गीय आमाको स्मृतिमा पञ्चमुनिदेव माविमा रु. १ लाख ११ हजारको अक्षयकोष

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा स्वर्गीय बुधमाया पुरीको पुण्य स्मृतिमा रु. १ लाख ११ हजार १११ रुपैयाँको ‘आमा बुधमाया अक्षयकोष’ स्थापना गरिएको छ । कोषबाट कार्यविधि निर्माण गरी विद्यालयका विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा कक्षा ११/१२ संयोजक लक्ष्मण पुरी, उनका बुबा दामोदर पुरी तथा दाजुभाइहरू भेषराज, कृष्ण, मोहनराज र मीनराज पुरीसहित सम्पूर्ण पुरी परिवारले स्वर्गीय बुधमाया पुरीको स्वर्गारोहण भएको ४५औँ दिनको पुण्य स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक विमल जोजिजुले शिक्षामा लगानी गर्नु नै समाजको भविष्य निर्माणमा लगानी गर्नु भएको बताउँदै पुरी परिवारको योगदान अनुकरणीय रहेको बताए ।

‘स्वर्गीय आमाको स्मृतिलाई सेवामूलक र समाजोपयोगी कार्यसँग जोडेर अक्षयकोष स्थापना गर्नु अत्यन्त प्रेरणादायी उदाहरण हो’, उनले भने, ‘कोष सञ्चालनका लागि स्पष्ट कार्यविधि तयार गरी आर्थिक अवस्था, शैक्षिक उपलब्धि तथा आवश्यकताका आधारमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसले अध्ययनमा लगनशील तर आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
यस्तै, विद्यालयका पूर्वप्रधानाध्यापक एकनारायण भण्डारीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समुदाय, अभिभावक, पूर्वविद्यार्थी तथा शुभेच्छुकको सहकार्य आवश्यक रहने उल्लेख गर्दै यस्ता परोपकारी अभियानले विद्यालय र समाजबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताए ।
उनले पुरी परिवारको सहयोगलाई विद्यालयका लागि दीर्घकालीन सम्पत्तिका रूपमा लिइएको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा परिवारसमेत शिक्षा क्षेत्रमा योगदान गर्न प्रेरित हुने विश्वास व्यक्त गरे ।
विद्यालयले पुरी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय बुधमाया पुरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । विद्यालयका अनुसार अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधि छिट्टै स्वीकृत गरी आगामी शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण प्रक्रिया सुरु गरिनेछ ।










