“सीपयुक्त र प्रविधि आधारित शिक्षामा नयाँ युग”
नारायण खड्का


शिक्षाबिना सभ्य, विकसित, आधुनिक र विवेकशील समाज निर्माणको कल्पना गर्न सकिदैन । शिक्षा विकासको संवाहक पनि हो । त्यसैले शिक्षा क्षेत्रको विकासका लागि राज्यले ठूलो रकम खर्च गर्दै आएको छ । तीब्रगतिमा अगाडि बढिरहेको दुनियालाई पछ्याउनका लागि केवल पुस्तकको ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त छैन । प्रविधिका परिवर्तन, विश्वव्यापीकरण र प्रतिस्पर्धाका कारण, शिक्षा प्रणालीमा केवल सैद्धान्तिक ज्ञानको सट्टा सीप र व्यवहारिक ज्ञानको महत्व बढ्दै गएको छ । आजको आवश्यकता सीपयुक्त शिक्षा हो, जसले विद्यार्थीलाई जीवनका विभिन्न क्षेत्रमा सक्षम र आत्मनिर्भर बनाउन मद्दत गर्दछ ।
नागरिकको मौलिक हक अन्तर्गत नेपालको संविधानको धारा ३१ मा भएको शिक्षा सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक रहेको छ । यस्तै, अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई पनि निःशुल्क उच्च शिक्षा पाउने हक, दृष्टिविहिन नागरिकलाई ब्रेल लिपीमा तथा बहिरा, स्वर र बोलाई सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साँकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक संविधानले व्यवस्था गरेको छ । प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हकको पनि व्यवस्था गरिएको छ । संविधानले व्यवस्था गरे अनुसार सहज रुपमा गुणस्तरीय, प्रविधि र जीवनउपयोगि शिक्षा आजको आवश्यकता हो ।
आजको डिजिटल युगमा, शिक्षा क्षेत्रले नयाँ चुनौतिहरूसँग सामना गर्दै आएका छन् । प्रविधि र सीपको समावेशीकरणलाई प्राथमिकतामा राख्न नसके हाम्रो शिक्षाले कुनै उपलब्धी दिन सक्दैनन् । हिजोको पारम्परिक शिक्षा र शिक्षण पद्धतिले शिक्षित नागरिक उत्पादन त गर्नसक्ला तर जीवनउपयोगि नबन्न सक्छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षालाई प्राथमिकता दिन सकिएमा यसले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउनेछ । प्रविधिको विकाससंगै यसको प्रयोगले संसारको एक कुनामा भएका घटना तुरुन्त विश्वभर पुग्दछ । प्रविधिमा अपडेट नहुने मानिस अब निरक्षर सरह भएका छन् । प्रविधिसँग आत्मसात नगर्ने शिक्षक अब काम नलाग्ने अवस्था छ । हाम्रो शिक्षण प्रद्धती परम्परागत जस्तै भएकाले अहिलेको पुस्ताले खोजेको शिक्षा दिन र पाउन सकिएको छैन । प्रविधिको प्रयोगमा स्थानीय सरकार तथा सरोकारवालाहरु अगाडि बढ्न खोजेपनि अत्यन्तै अपुरो भएको छ । सीपयुक्त शिक्षा त आकाशकै फल जस्तै भएको छ। विद्यालयहरुमा अहिले जसलाई सिपयुक्त शिक्षा भनेर पढाइरहेका छौँ त्यो पनि पुरानो भैसकेको छ । ती प्राविधिक धारका विषयले विद्यार्थीलाई आकर्षित गर्न नसक्दा विद्यार्थी भर्ना शुन्य हुनथालेका छन् । विश्व बजारले खोजेको सीपयुक्त शिक्षा र नयाँ ज्ञानका क्षेत्र पहिचान गर्नुपर्ने देखिएको छ ।
यस्तै, तनहुँका दशवटै स्थानीय तहले आफ्ना मातहतका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रयासहरु पनि गर्दै आएका छन् । शैक्षिक गुणस्तरको सुधार र वृद्धि गर्ने उद्देश्यले तनहुँका पालिकाले केही महत्वपूर्ण कदम अगाडि बढाएपनि यी प्रयासहरूले अहिलेको शैक्षिक परिवेशका वास्तविक आवश्यकता र चुनौतीहरूको सामना गर्न सकिरहेको देखिदैन । पालिकाहरूले शिक्षा क्षेत्रमा सुधारका लागि केही राम्रो काम त गरेका छन्, तर गुणस्तरीय पठनपाठन र शिक्षक प्रशिक्षणका क्षेत्रमा अझै सुधारको आवश्यकता देखिएका छन् ।

तनहुँका पालिकाले विद्यालयहरूको भौतिक संरचना सुधार्न र शिक्षाका आधारभूत आवश्यकता पूरा गर्ने खालका कार्यक्रमलाई अगाडि बढाउँदै लगेका छन् । पालिकाहरुले शिक्षा ऐन, कानून, वार्षिक नीति तथा कार्यक्रम निर्माण गरी विद्यालयहरूमा व्यवस्थापन समिति गठन, प्रधानाध्यापक तथा विषयगत शिक्षकको व्यवस्थापन, कक्षाकोठाको सुधार, विद्यार्थीहरूको भर्ना सुनिश्चित गर्नु र शिक्षकहरूको संख्या बढाउनुका साथै केही स्थानमा इन्टरनेट र डिजिटल शिक्षाको प्रयोग गर्ने प्रयास भएका छन् । यद्यपि, कक्षामा शैक्षिक सामग्रीको प्रयोग, अन्तरक्रियात्मक सिकाइ र प्रयोगात्मक अभ्यासमा अझै ध्यान पु¥याउन सकिएको छैन ।
शिक्षा क्षेत्रको विकासका साथै गुणस्तरीय र जीवनउपयोगी शिक्षाका लागि स्थानीय पालिकाले शिक्षकहरूको क्षमता र अपडेटिङका लागि आवश्यक तालिमको व्यवस्थापनलाई समेत जोड दिनुपर्ने देखिएको छ । विद्यार्थीलाई व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूको नवीनतम् शिक्षण विधिमा प्रशिक्षित नगरी गुणस्तरीय शिक्षा प्राप्त गर्न कठिन हुने भएकाले पालिकाहरुले त्यस खालका जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिने गरी कार्यक्रम अगाडि ल्याउनेपर्ने हुन्छ ।
यस्तै, नेपालको शिक्षा प्रणालीमा प्रविधिको समावेश हुन थालेको छ र यसले सकरात्मक परिणामहरु पनि दिन थालेका छन् । स्मार्टफोन, कम्प्युटर र इन्टरनेटको पहुँचले विद्यार्थीहरूको अध्यनका तरिकामा आमूल परिवर्तन ल्याएको छ । नयाँ प्रविधिहरू जस्तैः कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र अनलाइन शिक्षाले शिक्षा प्रणालीमा विभिन्न सुधार ल्याएको छ । अहिले धेरै विद्यालय र विश्वविद्यालयहरूले डिजिटल प्लेटफर्मको माध्यमबाट पाठ्यक्रमहरूको पहुँच सुनिश्चित गर्दै, विद्यार्थीलाई संसारभरका स्रोत र सामग्रीसम्म सजिलै पहुँच पु¥याउने प्रयास गरिएको छ ।
आजको विश्वमा केवल पुस्तकीय ज्ञान मात्र पर्याप्त छैन । प्रविधिको निरन्तर विकास र उद्योगको गतिसंगै, व्यावसायिक सीपहरूको महत्त्व पनि बढ्दै गएको छ । अहिलेको शिक्षा प्रणालीले यसलाई सम्बोधन गर्न शुरू गरेपनि विविध चुनौती र कठिनाईहरु विद्यालयले झेल्दै पनि आएका छन् ।
विद्यालयहरूमा सीपमा आधारित शिक्षा कार्यक्रम लागु गरिएका पनि छन् । जसमा विद्यार्थीहरूलाई कोडिङ, ग्राफिक डिजाइन, डेटा विश्लेषण र डिजिटल मार्केटिङ जस्ता आधुनिक सीपहरू सिकाउन थालिएको छ । यस्तै, सामुदायिक विद्यालयमा इन्जिनियरिङ, भेटेरिनरी, कृषि, सिटिइभिटीका विभिन्न सीप मुलक शिक्षाको पठनपाठन गराउन थालिएको छ । यस प्रकारको शिक्षाले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धात्मक बनाउँछ र रोजगारको अवसर बढाउँछ ।
यस्तै, प्रविधिको उपयोगले शिक्षालाई सबैका लागि पहुँचयोग्य बनाउँदै लगेको छ । यसले समाजका विभिन्न वर्गका व्यक्तिहरूलाई समान शिक्षा अवसर दिने बाटो खोल्दै गएको छ । विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूमा अब अनलाइन पाठ्यक्रमहरू र शैक्षिक सामग्रीहरू सहज रूपमा प्राप्त गर्ने अवस्था बनेपनि हाम्रो भौगोलिक भू–बनोट र प्राविधिक जनशक्ति अभावले कार्यान्वयनमा जटिलता सृजना भइरहेका छन्। प्राविधिक विज्ञ जनशक्तिको उपलब्धता भएमा शिक्षामा सामाजिक समानता र समावेशिता सुनिश्चित गर्न मद्दत पुग्न सक्दछ ।
नेपाल सरकारले शिक्षामा प्रविधिको समावेशीकरण र सीपयुक्त शिक्षा प्रवद्र्धन गर्ने योजनामा काम गरिरहेको छ । शिक्षा मन्त्रालयले विद्यालय र विश्वविद्यालय स्तरमा प्रविधिमा आधारित पाठ्यक्रमहरू थप गर्ने तयारी पनि गरेको छ। साथै, डिजिटल उपकरणहरूको वितरण र शिक्षक प्रशिक्षणका कार्यक्रमहरू पनि विस्तार गर्न पहल गरिएका छन् । अबका दिनमा प्रविधि र सीपयुक्त शिक्षा अनिवार्य बनिसकेको छ । यसको प्रभाव केवल विद्यार्थीको व्यक्तिगत स्तरमा नभइ, समग्र राष्ट्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । अबको आवश्यकता भनेको शिक्षा प्रणालीलाई प्रविधिसंग मेल खाने गरी आधुनिक बनाउनु हो, जसले भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम, सीपयुक्त र समृद्ध नागरिक निर्माण गर्न मद्दत पु¥याउँछ ।