प्रभावकारी अनुगमन र समन्वय नहुँदा विद्यालयमा मापदण्ड विपरित खाजा खुवाइदै

भञ्ज्याङ समाचारदाता/तनहुँ

सरकारले विद्यालयमा विद्यार्थीको उपस्थिति टिकाइराख्न तथा बालबालिकालाई विद्यालयमा पनि पौष्टिक आहार उपलब्ध गराउने उद्देश्यका साथ दिवा खाजा कार्याक्रम सञ्चालन गरेको छ । सरकारी विद्यालयमा जुन उद्देश्यले दिवा खाजा कार्यक्रम सुरु गरिए तर त्यसको प्रभावकारी अनुगमन र समन्वय नहुँदा यसको कार्यान्वयन फितलो बन्दै गएको छ ।

विद्यालयले नै मापदण्ड पालना नगर्दा सरकारी लक्ष्य पूरा नहुने मात्रै होइन अनियमितताको जोखिम समेत बढ्दै गएको छ । कतिपय विद्यालयले मापदण्डभन्दा बाहिर गएर खाजा वितरण गर्दा विद्यार्थीको स्वास्थ्यमाथि पनि खेलबाड भइरहेको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ बाट सामुदायिक विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजामार्फत बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षदेखि दिवा खाजालाई कक्षा ६ सम्म पुर्‍याइएको छ । सरकारले १० वर्गमा विभाजन गरी दिवा खाजाको मेन्युमा ६० वटा नमुना बनाएर पठाए पनि विद्यालयले सरकारी मापदण्डबाहिर गएर बालबालिकालाई खाजा खुवाइरहेका छन् ।

२०७५/०७६ देखि नै ४ कक्षासम्मका लागि दिवा खाजा कार्यक्रम सुरु गरिएको थियो । स्थानीय पालिकामार्फत प्रतिविद्यार्थी १५ रुपैयाँका दरले १८० दिनको रकम सरकारले पठाए पनि कैयौं विद्यालयले दिवा खाजा नखुवाइ नगदै वितरण गरेर सरकारी कार्यविधिको उल्लंघन समेत गर्नेगरेका छन् ।

उपलब्ध गराइएको रकमबाट बालबालिकालाई गुणस्तरीय र पौष्टिक तत्व मिल्ने खाजा खुवाउनुपर्ने हुन्छ । तर, तनहुँका अधिकांश विद्यालयहरुले त्यस्तो खुवाएको पाइदैन । शिक्षा मन्त्रालयले उपलब्ध गराएको खाजाको मेनु नै नराखि विद्यालयले आफु खुसी विद्यालर्थीलाई खाजा खुवाउदै आएका छन् ।

जिल्लाको व्यास नगरपालिकास्थित जलदेवि माध्यमिक विद्यालयले नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजामा बिस्कुट, चाउमिन र समोसा पनि खुवाउने गरेको छ । ‘दिवा खाजा बनाउने दुइ जना विद्यालय सहयोगी हुनुहुन्छ तर उहाँहरु नआउँदा विद्यालयको क्याटिनबाट समोसा, चाउमिन दिने पनि गरेका छौं’, विद्यालयका प्रधानध्यापक जयराम सेढाइले भने, ‘विद्यालयले दिवा खाजाको मेनु बनाएको छैन तर समयसमयमा चना, आलु केराउको तरकारी, चिउरा, भुजा र खिचडी खुवाउने गरिएको छ । कहिलेकाही त्यस्तै परिस्थिति आएर बिस्कुट पनि दिएका छौं ।’

विद्यार्थीलाई खाजाको लागि पैसा छुट्याएको तर खाजा व्यवस्थापनमा सरकारले कुनै ध्यान नदिंदा दिवा खाजा व्यवस्थापनमा समस्य भएको उनी बताउँछन् । ‘सरकारले विद्यार्थीलाई दिनको १५ रुपैयाँ छुट्टयो र जसरी खुवाउछौं खुवाउ भनेर छाडिदियो’, उनले भने, ‘व्यवस्थापन गरिसकेपछि कर्मचारीदेखि खाजा बनाउने भाँडाकुडा पूर्ण व्यवस्थापन गरिदिए विद्यालयलाई पनि सहज हुने थियो ।’

त्यस्तै, व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयले खाजाको मेनु बनाएर विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ । नर्सरीदेखि ५ कक्षासम्मका विद्यार्थीलाई जाउलो, चाउमिन, तरकारीसंग भुजा/चिउरा र खिर दिवा खाजाको रुपमा खुवाउँदै आएको छ ।

विद्यार्थीका अभिभावकसंग बैठकनै बसि खाजाको मेनु तयार गरेको विद्यालयका प्रधानध्यापक राजेन्द्रप्रसाद खनाल बताउँछन् । उनले भने, ‘विद्यार्थीको दिवा खाजामा गुणस्तर कम नहोस् भनि कक्षा शिक्षकलाई पनि त्यही खाजा खाना भन्छौं र केही समस्य देखिए त्यसको समाधान पनि गर्र्छौ । शिक्षकले खाएको खाजाको रकम भने विद्यालयले नै व्यहोर्छ ।’

साना कक्षाका विद्यार्थीलाई १५ रुपैयाँको खाजाले पुगेपनि ठुला कक्षाका विद्यार्थीलाई भने अपुग देखिएको उनले बताए । ‘अहिलेको महंगीमा १५ रुपैयाँमा कति नै खाजा आउछ र ?’, उनले भने, ‘रकम थोरै भएको कारण खिर बनाउँदा राम्रो चामल र प्रयाप्त दुधको प्रयोग गर्न सकिएको छैन । एउटा विद्यार्थीलाई २५ रुपैयाँको दरले रकम बिनियोजना गर्ने हो भने पुग्ने थियो ।’ दिवा खाजाले विद्यालयमा विद्यार्थीको नियामित उपस्थितिमा केही सहयोग गरेको उनले बताए ।

ठुला कक्षाका विद्यार्थीले १५ रुपैयाँमा विद्यालयले उपलब्ध गराएको खाजाले अपुग भएर आफैले पनि बिद्यालयको क्याटिनमा किनेर खाने गरेको बिद्यालयले बताएको छ । यस्तै, दिवा खाजाको अनुगमनमा जाँदा विद्यालयले विद्यार्थीलाई पैसा दिएर क्यान्टिनबाट किनेर खाना भनेको र विद्यार्थी उपस्थित भएको दिनको हिसाव गरी रकम अभिभावकलाई दिने अनि अभिभावकले घरबाटै खाजा बनाएर ल्याइदिने गरेको भेटिएको जिल्ला शिक्षा समन्वय इकाई, तनहुँका प्रमुख बसन्तराज पौडेलले बताए ।

विद्यार्थीलाई जंक फुडबाट टाढा राखि पौष्टिक आहार खुवाउन दिवा खाजाको कार्यक्रम सञ्चालन गरिएको हो । तर अधिकांश विद्यालयका क्यान्टिन जंगफुडले भरिएको देखिने उनले बताए । इकाईका प्रमुख पौडेलले भने, ‘विद्यालयमा केही कार्यक्रम भयो भने विद्यार्थीकै अगाडि विस्कुट र चिया खाजाका रुपमा दिइन्छ, यो दृश्य देखेका विद्यार्थीले के सिक्लान् ? त्यसैले विद्यालयभित्र जंकफुड भित्र्याउनै रोक्नुपर्छ ।’ जिल्लाका ४३१ सामुदायिक विद्यालयले दिवा खाजा सञ्चालन गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker