देवघाटमा डुंगा दौड प्रतियोगिता, र्याफ्टिङतर्फ नौ टोली र काठे डुंगातर्फ १३ टोलीको सहभागिता

देवघाट : तनहुँको देवघाट स्थित त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा शुक्रबार डुंगा दौड प्रतियोगिता गरिएको । देवघाट बोटे संरक्षण समाजले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पछिल्लो समय काठका डुंगा लोप हुँदै गएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि बोटे समाजले प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गरे । उनले यस्ता अभियानमा गाउँपालिकाले आगामी दिनमा आवश्यक साथ–सहयोग गर्ने प्रतिबद्धता जनाए ।
थापाले र्याफ्टिङ गतिविधिले देवघाटको पर्यटकीय क्षेत्रलाई थप टेवा पु¥याएको उल्लेख गर्दै गाउँपालिकाको अघिल्लो हिउँदे अधिवेशनबाट र्यफ्टिङ बोट खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए । गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले लोपोन्मुख काठे डुंगा संरक्षणका लागि यस्ता प्रतियोगिता समय–समयमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

देवघाटस्थित झोलुङ्गे पुल जीर्ण हुँदा र्याफ्टिङ बोर्डबाट सहयोग प्राप्त भएको जानकारी दिँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन पालिकाले सहयोग गर्ने बताए । प्रतियोगितामा र्याफ्टिङतर्फ राजन बोट, पवन बोट र बिर्खबहादुर बोटको टोली प्रथम भएको थियो भने भीमबहादुर बोट, सनिज बोट र इमान बोटको टोली द्वितीय भएको आयोजकले जनाएको छ । काठे डुंगातर्फ पवन बोट प्रथम, जगत बोट द्वितीय र समोज बोट तृतीय भएका छन् ।
र्याफ्टिङतर्फ नौ टोली र काठे डुंगातर्फ १३ टोलीको सहभागिता रहेको प्रतियोगिता बोटे संरक्षण समाजका अध्यक्ष राम बोटेको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष बोटेले काठे डुंगा संरक्षण र परम्परागत सीप जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने जनाएका छन् ।











