चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित, चितुवा नियन्त्रणका लागि खोर थापियो
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दिपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ ।
चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका र एक पुरुष घाइते भएका छन् । मंगलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दिपुर-१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुइ सय मिटरमाथि जंगलमा भेटिएको थियो ।
शनिबार बन्दिपुर-४ टावरमा चितुवाको आक्रमणमा परेर आठ वर्षीया रियाना थापा र आइतबार बन्दिपुर-१ मा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका थिए । चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दिपुर-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । घरछेउमै चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दिपुर-४ का सन्तोष थापाले बताए ।
बन्दिपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताइन् । चितुवाको आक्रमण बढेपछि चितुवा नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दिपुर-१ बाघदलेमा आइतबार फलामे खोर राखिएको थियो ।
सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरे । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,” उनले भने, “बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गरौँ ।”
मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फसबै लाग्नुपर्छ,” उनले बताए । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझन सकिए यसबाट बच्न सकिन्छ । चितुवाको आक्रमणबाट पाँच वर्षा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षन्दा कम उमेरका बालबालिका छन् ।
पीडित परिवारलाई राहत रकम प्रदान
यस्तै, डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मंगलबार मृत्यु भएका बन्दिपुर गाउँपालिका-१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत रु ५० हजार प्रदान गरेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त रुपमा उक्त रकम मृतकका बुबा प्रेमबहादुर बगाले मगरलाई हस्तान्तरण गरिएको छ ।
बन्दिपुर गाउँपालिका-१ दिल प्राविमा नर्सरीमा अध्ययनरत बालकलाई चितुवाले आक्रमण गरी घरदेखि करिब दुइ मिटर माथि जंगलमा लगेको थियो । मृतकका परिवारलाई सुरुमा काजक्रिया खर्चबापत उक्त रकम प्रदान गरिए पनि बाँकी रु नौ लाख ५० हजार छिट्टै उपलब्ध गराउन पहल गरिने निमित्त डिभिजन वन अधिकृत दयानिधि अर्यालले बताए ।
गाउँपालिका कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई रु ५० हजार दिने यसअघि नै निर्णय गरेकाले उक्त रकम उपलब्ध गराइएको बन्दिपुर-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, चितुवाको आतंक बढ्न थालेपछि नियन्त्रणका लागि खोर थापिएको छ । बन्दिपुर गाउँपालिका -१ प्युघर नजिक छपेली सामुदायिक वनमा बुधबार खोर राखिएको हो । यसअघि बन्दिपुर-१ स्थित बागदलेमा पनि खोर थापिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।










