दमौलीको मादीनदी किनारमा बाँध निर्माण
भञ्ज्याङ समाचारदाता/तनहुँ

सदरमुकाम दमौली बजार क्षेत्रलगायत आसपासका बस्ती जोगाउन मादीनदी किनारमा ग्याबिन तारसहित बाँध निर्माण गर्न थालिएको छ ।
गत वर्ष मादीनदीमा आएको बाढीले कटान गरी बस्ती क्षेत्र उच्च जोखिममा परेपछि गण्डकी प्रदेशको आर्थिक सहयोगमा बाँध निर्माणका कार्य थालिएको हो । कूल दुइ हजार दुइ सय ९८ मिटर दूरीमध्ये एक हजार मिटरको दूरीमा बाँध निर्माणको गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिनुभयो ।
मादी नदीले कटान गरेका क्षेत्रमा धमाधम ग्याबिन तारसहित बाँध निर्माण हुन थालेपछि नदी किनार आसपासका सयौं घरधुरीका बासिन्दाले सुरक्षाको महसुस गर्न थालेका छन् । पहिलो प्याकेज अन्तर्गत शिशाघाट सत्रसय, शेखाटार, कलेस्ती र चिन्तुटार क्षेत्रमा एक हजार ५३ मिटर बाँध र २४ वटा स्पार निर्माण गर्न लागिएको छ । बाँध निर्माणका लागि रु आठ करोड ६३ लाख बजेट विनियोजन गरिएको सो क्षेत्रमा हालसम्म करिब २० प्रतिशत कार्यसम्पन्न भइसकेको छ ।
त्यसैगरी गौशालादेखि पाटनसम्म दोस्रो प्याकेजअन्तर्गत गौशाला, उपल्लो भतेरी, पतेनीटार, तल्लो भतेरी र पाटन क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् । हालसम्म ३० प्रतिशत प्रगति भएको रु नौ करोड ३५ लाख लागतको सो योजनामा अहिलेसम्म रु एक करोड २२ लाखको कार्य गरी ठेकेदारले भुक्तानी लिइसकेको छ । दोस्रो प्याकेजअन्तर्गत एक हजार दुइ सय ४५ मिटर बाँध र १७ वटा स्पार निर्माण गरिनेछ । दुवै प्याकेजका बाँध र स्पार निर्माण २०८१ भदौभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-३ मादी किनारमा दुइ सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको छ । व्यास-३ को तल्लो भतेरीतर्फ बाढी पसेपछि सदरमुकाम दमौली बजार क्षेत्र नै बढी जोखिममा परेकाले यस क्षेत्रमा बाँध निर्माणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । चतवनको एमआर गु्रपले विसं २०८० को असार मसान्तभित्र बाँध निर्माण गर्नेगरी गत वर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले रु दुइ करोड ५० लाख विनियोजन गरेको थियो ।
सोही बजेटमा व्यास-५ पाटनस्थित मादी किनारमा झन्डै एक सय मिटरमध्ये ९० मिटर दूरीमा बाँध निर्माण गरिएको पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । “बाँध निर्माण भएपछि पाटनवासीले धेरै सुरक्षित महसुस गरेका छन्”, उहाँले भन्नुभयो, “अब बाँकी रहेको १० मिटर दूरीमा पनि यसै आवमा बाँध निर्माण हुने विश्वास लिएका छौँ ।”










