शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण तीव्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो ।

नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचीकृत गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । कृषकले उत्पादन गरेका कृषिउपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले रु एक करोड सशर्त अनुदान बजेट उपलब्ध गराएको छ भने नगरपालिकाले रु दुई करोड लगानी गरेको छ । कूल रु तीन करोडको बजेटमा बोलपत्र प्रक्रियाबाट निर्माण कार्य सुरु गरिएको हो ।

लामो समयदेखि लालिमस्थित सिर्जनशील महिला समाजले संरक्षण गरेको सार्वजनिक जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । नगर क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो । “यस वडामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ, तर पनि किसानले उत्पादन गरेका आलुको उचित मूल्य पाउन गाह्रो भइराखेको थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्छ ।”

चालु आर्थिक वर्षभित्रै शीतभण्डारको काम सम्पन्न हुनेछ । नगरमा उत्पादन हुने आलु, अदुवालगायत वस्तुलाई यसै वर्ष भण्डारण गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । कृषकले उत्पादन गरेका आलु शीतभण्डारसम्म पु¥याउन वडा कार्यालयले नै व्यवस्था मिलाउँदै आएको छ । शीतभण्डारसम्म आलु ढुवानीका लागि यस वर्ष रु दुई लाख बजेट विनियोजन गरिएको छ । “कृषकले उचित मूल्य पाउन् भन्नका लागि शीतभण्डारसम्म आलु ढुवानीका लागि सहयोग हुँदै आएको छ, तर यही शीतभण्डार निर्माण भएपछि कृषकलाई पनि सहज हुन्छ”, रेग्मीले भन्नुभयो ।

कृषकलाई आत्मनिर्भर बनाउन यस वडामा आलुको बीउ वितरण गरिएको थियो । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले वडा नम्बर ८ मा आलु उत्पादनलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको थियो ।

शीतभण्डार नहुँदा समस्या भोगेका किसान शीतभण्डार निर्माण सुरु भएपछि खुशी भएका छन् । शीतभण्डार नहुँदा उचित मूल्य पाउन नसकेको कृषक मञ्जु श्रेष्ठले गुनासो गर्नुभयो । शीतभण्डार निर्माण सम्पन्न भएपछि उत्पादनको उचित मूल्य पाउने कृषक रमेश महतले बताउनुभयो । “यही राख्ने भए ठाउँ भएको भए उत्पादनअनुसारको फल पाइन्थ्यो, शीतभण्डारमा राख्न पोखरासम्म लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “अहिले काम भइरहेको छ, अब उक्त समस्या हट्छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker