तनहुँको आँबुखैरेनीमा फोनिज गण्डकीको “डिजिटल जर्नालिजम” विषयक अन्तरक्रिया

तनहुँको आँवुखैरेनी गाउँपालिकामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिले ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा सुचना, प्रविधिको विकास र अबको पत्रकारिता विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रियामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरि बहादुर चुमानले प्रदेश सरकारले होमस्टेको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर आफ्ना कार्यक्रमहरु अगाडी सारेको बताए ।
मन्त्री चुमानले पछिल्लो समय सुचना तथा प्रविधिको युग भएकाले सोही अनुरुप सबै क्षेत्र र मिडियाकर्मीहरु पनि अपडेट हुनुपर्ने धारणा राखे । पत्रकार आफै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै प्रदेश आमसंचार ऐन बनाउने बताउँनै उनले उक्त ऐनमार्फ पीत पत्रकारितालाई नियमन गर्ने बताउदै पत्रकार स्वयं आफै पनि जिम्मेवार र सचेत हुनुपर्ने बताए ।
मन्त्री चुमानले गण्डकी प्रदेशका ११ जिल्लाबाट १०/१० वटा स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको बताउदै तनहुँबाट छिम्केस्वरी र आँधीमुल सुचिकृत भएको जानकारी दिए। उनले आँधीमुलको प्रवर्द्धनमा पहिल्यैदेखि प्रदेश सरकारले पहल गर्दै आएको बताउदै स्थापित गर्न मिडियाको भुमिका रहने भएकाले सहयोग गर्न आग्रह गरे ।
मन्त्री चुमानले फरक प्रसंगमा बोल्दै सर्वोच्च अदालतले संविधानको मर्म बुझ्दै जनताको पक्षमा फैसला गरेकाले देश अध्यारो सुरुङमा पस्नबाट बचेको बताए । उनले संसद विघटनको विषय र प्रतिगनमलाई प्रशय दिएर ओलीले देशलाई अध्यारो सुरुङ तर्फधकल्न लागेको समेत टिप्पणी गरे ।
त्यस्तै तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अन्तरक्रियाबाट मिडियाकर्मीहरुले बढि मात्रामा ज्ञानगुणका कुरा ग्रहण गरेर आगामी दिनमा सोही अनुरुप कलम चलाउनेमा विश्वास व्यक्त गरे।
आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिर बहादुर थापाले आफ्नो क्षेत्रमा रचनात्मक कार्यक्रमको आयोजना गरेको बताउँदै पर्यटकीय गतिविधि मौलाउनेमा विश्वास व्यक्त गरे । प्रमुख थापाले पत्रकार देशको चौथो अंग भएकाले तथ्य सहित खरो रुपमा प्रस्तुत हुनुपर्ने बताए । मिडियाहाउसले आफ्नो ब्राण्ड बनाउनु पछाडी सहि तथ्याङ्क र सहि सुचनाको भुमिका महत्वपूर्ण रहने बताउदै विशेष ध्यान दिनपर्ने समेत बताए ।
त्यस्तै उपप्रमुख पुष्पा देवी श्रेष्ठले आँबुखैरेनी गाउँपालिका भित्रका पर्यटकीय गन्तव्य पहिचान हुन नसकेको बताउँदै पहिचान भएका पर्यटकिय गन्तव्यको प्रवर्द्धनमा मिडियाले सहयोग गर्न आग्रह गरिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज) गण्डकी प्रदेश इन्चार्ज हुम बहादुर गुरुङले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा समेत जातिय विभेद रहेको टिप्पणी गरेका थिए।
कार्यक्रममा ग्लोबल मल्टिमिडिया जर्नालिष्ट रजनीश भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए। फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा आयाजित कार्यक्रममा संस्थाका सचिव खीमा गुरुङले स्वागत र सदस्य सुनिता रानाले कार्यक्रम सञ्चालन गरेकी थिईन्।