पब्लिक क्याम्पस संघ तनहुँमा जनज्योति क्याम्पस भिमादका अध्यक्ष आले चयन
भञ्ज्याङ न्यूज

नेपाल पब्लिक क्याम्पस संघ तनहुँको अध्यक्षमा भिमादस्थित जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आले सर्वसम्मत निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट आलेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा सिकेबिके कलेजका अध्यक्ष इन्द्रबहादुर कुँवर, सचिवमा आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक संघका सभापति विजयराज खनाल, कोषाध्यक्षमा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, सहसचिवमा तनहुँ शारदा कलेजका प्राध्यापक संघका सभापति गोविन्दप्रसाद भट्टराइ चयन भएका छन् ।
यस्तै सदस्यमा पुर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गाबहादुर राउत, त्रिभुवन क्याम्पसका प्रमुख रवीन्द्रराज जोशी, बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया र प्राध्यापक संघका सभापति गोवर्द्धन भट्टराइ, शहीद कृष्ण क्याम्पसका प्रमुख हरि लामिछाने र भानुभक्त बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति निरोज भट्टर्राईलाई चयन गरिएको छ ।
अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा आदिकवि भानुभक्त क्याम्पसका सञ्चालन समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, आँबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष वंशीराम प्रधान र त्रिभुवन क्याम्पसका सञ्चालन समितिका अध्यक्ष टेकबहादुर गुरुङ छन् ।
अधिवेशनले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नका लागि संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै चैत २६ र २७ गते आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको राष्ट्रिय भेलालाई सफल पार्ने, तीनै तहका सरकारलाई सामुदायिक क्याम्पसहरुको सवलीकरणका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीयस्तरमा स्थापित सामुदायिक क्याम्पसहरुले शिक्षा क्षेत्रमा महत्वूर्ण योगदान पुर्याएको बताउँदै स्थानीय तहहरुले सामुदायिक क्याम्पसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए ।
नेपाल पब्लिक क्याम्पस संघका पूर्व केन्द्रीय अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसले भोगिरहेका समस्या उजागर गर्दै सामुदायिक क्याम्पसको व्यवस्थापन र सञ्चालनका लागि छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए । कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले सामुदायिक क्याम्पसका समस्या समाधानका लागि स्थानीय तह तयार रहेको प्रतिवद्धता जनाइन ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश संयोजक तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसमा सरकारको उदासिनता रहेको गुनासो गरेका थिए । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश सदस्य मुक्ति रेग्मीले नेपालको करिब ४० प्रतिशत उच्च शिक्षा धानेको सामुदायिक क्याम्पसप्रति राज्यले आफ्नो दायित्व र जिम्मेवारी बढाउनुपर्नेमा जोड दिए ।










