ख्वामित, एघारौं अवतार !

ख्वामित खाँचो त, प्राणवायुको थियो अहिले
ख्वै त, अपायन वायु पो दिइसेछ नि ?
प्रभु, आशा त गाँस, वास र कपासको थियो
हजुर, यहाँ त र्सवत्र लाशै लाश र त्रास पो देख्दैछु नि ।
हिँडने बाटो त, राजमार्गको चौडा फराकिलो थियो
फेरी पतन र विघटनको, घुम्ति पो पक्डिस्येछ नि ?
विकासको विज रोपेँ, स्वाभीमानको तस्विर छापें
समृद्धि अब हामीलाई खोज्दै खोज्दै आउँछ भनिसिन्थ्यो
मार्गप्रशस्तको चोरबाटो, तालाचाबि फेरी आफै नै लिइस्यो ?
कुन बाहुबली सिँहाशनमा, विराजमान होइस्याछ कुन्नि ?
कसैले दृष्टि पर्नै नहुनि, कसैले पाइला टेक्नै नहुनि ।
एउटा थियो कालरात्री, साक्षात दशौं अवतारको, प्रभु
ख्वामित, अब एघारौं अवतार पो, घोषणा गर्दिहाल्नि कि ?
नाराणहिटी म्युजियम बन्यो, आजकाल टिकट काटेर हेर्ने
चुल्हो चौका र अहराइ खटाइ त, बालुवामहलबाट चलेकै छ, प्रभु
डलर तिरी हेर्छन कि त, सिँहदरवार नि म्युजियम बनाइदिनि ?
प्रचण्ड गर्मीमा नि अहोरात्र, शितलता दिइराछ शितल भवन
यूरो तिरेर हेर्छन क्या रे पर्यटक, यसलाई नि संग्रहालय बनाइहाल्नि ?
उपलब्धिको अर्को धरोहर उद्घाटनको रिबन नि काटन भ्याइसेला
स्यावासीको घडा नहुँदा के भो र ? पवनपुत्र आँखा चिम्लि थपडिमा खडा छ नि ।
मितिः २०७८ जेठ १५










