देवघाटको छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन, कोरोना संक्रमितको उपचारमा सहज
भञ्ज्याङ न्यूज
तनहुँको ग्रामीण अर्थात कछार क्षेत्रका रुपमा परिचित छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरिएको छ । ग्रामीण क्षेत्रका समुदायमा पछिल्लो समय कोरोना संक्रमितहरु भेटिन थालेपछि देवघाट गाउँपालिकाले संक्रमितको उपचारमा सहज बनाउने लक्ष्यका साथ अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको हो।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले गत वैशाख २३ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्लामा निषेधाज्ञा जारी भएपनि बजार क्षेत्रका मानिसहरु गाउँमा र्फकन थालेपछि अहिले बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा भाइरस संक्रमण देखिन थालेको छ ।
यातायातको सहज पहुँच नभएको जिल्लाकै कछार क्षेत्रका रुपमा परिचित देवघाट गाउँपालिका-३ स्थित छिपछिपेमा अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरिएको छ । कोरोना संक्रमणबाट आइपर्ने जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीका रुपमा छिपछिपेस्थित इलाका स्वास्थ्यचौकीमा आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए।
‘बजार क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरु निषेधाज्ञा जारी भएपछि पुनः गाउँ फर्किएका छन्’, उनले भने, ‘बजार लगायत अन्य क्षेत्रबाट गाउँमा मानिसहरुको आउजाउ बढेका कारण अहिले ग्रामीण क्षेत्रका समुदायमा कोरोना भाइरस संक्रमण देखिन थालेको छ।’
‘ग्रामीण क्षेत्रमा सहज रुपमा यातायातको व्यवस्था नभएकाले यदि कोही संक्रमितलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था आयो भने केही सहज होस् भनेर गाउँगाउँमा रहेका इलाका स्वास्थ्य चौकीहरुमा केही थान अक्सिजन सिलिन्डरहरु जुटाएर आइसोलेशन कक्ष तयार गरेका छौं’, अध्यक्ष थापाले भने, ‘संक्रमितको स्वास्थ्यमा जटिल अवस्था देखिएमा तत्काल उद्धार गरी अन्यत्र पठाउने व्यवस्था पनि मिलाएका छौं । हाम्रो श्रोत साधनले भेटेसम्म गाउँठाउँमै उपचार सेवा दिने व्यवस्था मिलाएका छौं।’
गाउँपालिकाले वडा नम्बर २ र ३ का बसिन्दालाई लक्षित गरी ५ वटा अक्सिजन सिलिन्डर सहित १० श्यायको आइसोलेशन कक्ष तयार गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा कार्यरत ३ जना प्यारामेडिक्स्, २ जना स्टाफ नर्स र एक कार्यालय सहयोगीले कोभिडका संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएका छौं।’
उनका अनुसार सामान्य प्रकारका लक्षण देखिएका विरामीलाई आवश्यक परे अक्सिजन दिएर उपचार गरिनेछ भने गम्भिर प्रकृतिका संक्रमितलाई अन्यत्र रिफर गरिनेछ ।
आवश्यक समयमा एम्बुलेन्स सेवा पनि उपभोग गर्न नपाउने यातायातको सहज सुविधा नभएको यस क्षेत्रमा वडास्तरमै अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण हुँदा नागरिकलाई रहत पुगेको घण्टाचुली पर्यटन क्षेत्र बिकास समिति कोटाका अध्यक्ष खड्का आले मगरले बताए । उनले भने, ‘हाम्रो गाउँ पनि कोरोना संक्रमणको उच्च जोखिमा परेको छ। यो आइसोलेशनले हामीलाई तत्काल उपचार सेवा लिन सहज हुने विश्वास गरेका छौं ।’










