भिमादमा बंगुर र सुगुर आयत निर्यातमा रोक
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकामा बंगुर र सुगुर आयत र निर्यातमा रोक लगाइएको छ । बंगुर र सुगुरमा देखिने अफ्रिकन स्वाइन फिवर देखिएपछि नगरपालिकाले आयत निर्यातमा रोक लगाएको हो ।
बंगुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अप्रिmकन स्वाइन फिवर’ भएको पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
उक्त रोग निदानका लागि भन्दै नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी नगरपालिका क्षेत्रमा बंगुर सुगुरको ओसारपसारमा पूर्णरुपमा रोक लगाएको हो ।
नगरपालिकाको एक खोरमा अफ्रिकन स्वाइन फिवरसंग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि नमूना पठाइएकोमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएकाले रोग नियन्त्रण गर्न ओसारप्रसारमा रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए । उनले स्वाइन फिवर नियन्त्रणका लागि सावधानी अपनाउन नगरवासीलाई आग्रह गरे।
नगरपालिकाले जारी गरेको सूचनामा पशुपालक कृषकहरुलाई केही समय सुगर बंगुरको ओसारप्रसार नगर्न, फार्म वा खोरमा जैविक सुरक्षाका उपायहरु अबलम्बन गर्न, अनावश्यक रुपमा अरुको खोर वा फार्ममा नजान, फार्ममा काम गर्दा लगाएको कपडा, जुत्ताचप्पल अरु बेला प्रयोग नगर्न भनिएको छ ।
त्यस्तै, बंगुर सुगुरमा कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै पशु सेवा शाखा, पशु सेवा केन्द्र वा पशु प्राविधिकलाई खबर गर्न र नियमित रुपमा फार्म वा खमेर वरपर फिनेल, चुना वा झिरकोन छर्न आग्रह गरिएको छ ।
पशु प्राविधिकका अनुसार यसको कुनै उपचारविधि तथा भ्याक्सिन छैन । संक्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बंगुरलाई खाडल खनेर गाड्नुपर्छ । यो सरुवा रोग भएकाले संक्रमित बंगुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने प्राविधिकको भनाई छ ।










