तनहुँ समाज हङकङद्वारा तनहुँका तीन जना पत्रकारलाई सम्मान
भञ्ज्याङ न्यूज

तनहुँ समाज हङकङले तनहुँका तीन जना पत्रकारलाई सम्मान गरेको छ । विभिन्न सामाजिक कार्यक्रम सक्रिय समाजले प्रजातन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनी शर्मा र क्रियाशील पत्रकार सुनिता आचार्यलाई सम्मान गरेको हो ।
उनीहरुलाई प्रंशसापत्र, दोसल्ला र नगद पाँच हजार रुपैयाँले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, समाजका निर्वमान अध्यक्ष जंगबहादुर थापा र पूर्व अध्यक्ष भिमराज गुरुङले संयुक्त रुपमा सम्मान गरेका थिए ।
पत्रकारसहरुलाई सम्मान गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँ समाज हङकङले विगतदेखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान गर्दै आएको बताए । विदेशमा रहेर पनि आफ्नो मातृभूमिप्रति स्नेह र सदभाव दर्शाउदै सामाजिक बिकासको लागि योगदान गरेकोप्रति समाजलाई न्यौपानेले धन्यवाद व्यक्त गरे ।

त्यस्तै पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले संस्थाको तर्फबाट प्राप्त भएको सम्मानले थप जिम्मेवारीबोध गराएको बताए । समाजमा आवद्ध सदस्यहरुले आफ्नो मेहनतबाट कमाएको केही प्रतिशत समाजिक क्षेत्रमा लगानी गर्नु प्रशंसनीय कार्य भएको आचार्यको भनाई थियो ।
संस्थाले बिगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा सहयोग गर्दै आएको समाजका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले बताए । विभिन्न सिलसिलामा हङकङमा रहेका तनहुँबासीको सक्रियतामा संकलन गरिएको रकमबाट सामाजिक कार्य गर्दै आएको थापाले जानकारी दिए ।

समाजले हरेक वर्ष जिल्लाका १२ विद्यालयका बहुअपाङ्गता भएका बालबालिकालाई उनीहरुकै आवश्यकता अनुसार सहयोग सामाग्री हस्तान्तरण, क्यामिनको छापथोक, कोटथोक, भिमाद लगायतका स्थानमा खानेपानी आयोजनाको लागि आर्थिक सहयोग, कोभिड न्युनिकरणका लागि तनहुँका १० वटै स्थानीय तहलाई सहयोग गरेको छ ।
त्यस्तै, समाजले भानु जन्मस्थल बिकास समितिमा पुस्तकालय, बाढी, पहिरो, भुकम्प लगायतका प्रकृतिक प्रकोपबाट पीडित बनेकालाई सहयोग लगायतका सामाजिक कार्य गरेको र प्रत्येक वर्ष २ जना सञ्चारकर्मीलाई सम्मान गर्ने योजना समेत बनाएको समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले जानकारी दिए ।










