अदालतले निर्दलीयतालाई प्रश्रय दियो : सांसद सिग्देल
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (एमाले) तनहुँका अध्यक्ष एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सासंद केदार सिग्देलले अदालतको फैसलाले निर्दलीयतालाई प्रश्रय दिएको बताएका छन् । दलीय क्षेत्राधिकार भित्र गएर सर्वोच्च अदालतले व्यक्ति नै किटेर प्रधानमन्त्री तोक्दा देशमा लोकतन्त्र नै खतरामा परेको उनले बताए । व्यास-५ को दभुङ्ग चण्डीदेवी गुठी भवनको सोमबार उद्घाटन गर्दै सासंद सिग्दलले जनताको अभिमत बिरुद्ध परमादेश मार्फत प्रधानमन्त्री तोक्नु अलोकतान्त्रिक कार्य भएको बताए ।
सर्वोच्च अदालत जस्तो सम्मानित संस्था पनि संविधानको ७६ को ५ को अपव्याख्या गर्दा लोकतन्त्र नै खतरामा परेको सांसद सिग्देलले बताए । ‘दलीय व्यवस्थामा धारा ७६ को ५ मा दलीय हृवीप लाग्दैन भनेर अदालत भन्नु न्यायसंगत छैन, लोकतन्त्रमा दलिय व्यवस्था नै मुख्य हो, दलीय व्यवस्था बाहिर गएर निर्दलीयता उन्मुख व्याख्या गर्नु संविधान विपरित रहेको छ’ सांसद सिग्देलले भने ।
स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७७/०७८ को बजेटबाट निर्मित सो भवन उद्घाटन कार्यक्रममा व्यास नपा-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले तीन तहको सरकारको काम कारवाही जनतालाई बुझाउन नसक्दा जनता रनभुल्लमा परेको बताए । जिम्मेवारी पुरा नगर्ने तर अर्को पक्षलाई देखाएर भाग्न नमिल्ने वडाध्यक्ष श्रेष्ठको भनाई थियो। संस्थाका अध्यक्ष टेकवहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष काजीमान श्रेष्ठ, निर्माण समितीका अध्यक्ष वि वि श्रेष्ठ, सचिव कृष्णकुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










