तनहुँका १० जना जनप्रतिनिधि नेकपा एकिकृत समाजबादीमा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा नेकपा एमालेबाट निर्वाचित १० जना जनप्रतिनिधि एकिकृत समाजबादीमा गएका छन् । शुक्लागण्डकी नगरपालिकाका १० जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजबादी रोजेका हुन् । उनीहरुले आईतबार जिल्ला निर्वाचन कार्यालयमा आएर नेकपा एकिकृत समाजबादीमा सनाखत समेत गरेका छन् ।
नेकपा एकिकृत समाजबादी रोज्ने जनप्रतिनिधिहरुमा शुक्लागण्डकी-३ का अध्यक्ष रामकुमार श्रेष्ठ, शुक्लागण्डकी-५ का अध्यक्ष दीर्घबहादुर थापा, शुक्लागण्डकी-७ का अध्यक्ष रामबहादुर क्षेत्री र शुक्लागण्डकी-११ का अध्यक्ष दलबहादुर थापा रहेको बताइउको छ ।
यस्तै कार्यपालिका सदस्यहरु सानुमाया महत र रिता भुजेल तथा वडा नम्बर ५ का सदस्य थपबहादुर आले, वडा नम्बर ९ का सदस्य डिलबहादुर आले, वडा नम्बर ११ का सदस्य थमन आले र वडा नम्बर ११ का सदस्य डोलमाया विकले नेकपा एकिकृत समाजबादी पार्टी रोजेका छन् ।
शुक्लागण्डकी नगरपालिका-१२ वडा मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले उपमेयर सहित ७ वटा वडा अध्यक्षहरु बिजयी भएकोमा ४ जनाले नेकपा एकिकृत समाजबादी रोजेपछि सो नगरपालिकामा एकिकृत समाजबादी र नेकपा एमाले बराबरी हुन पुगेको छ ।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश अनुसार भदौ २२ गते भित्र स्थानीय र प्रदेशका जनप्रतिनिधिले आफुले चाहेको दल रोज्न निर्वाचन आयोगले सूचना जारी गरेको थियो । दल रोज्न २ दिन बाँकी रहेको र भानु नगरपालिकाका केही वडा अध्यक्षलाई एकिकृत समाजबादी पार्टीमा भित्र्याउन लागि परेको बताइएको छ । व्यास नगरपालिका-४ का वडा अध्यक्ष विश्व न्यौपानेले यस अघि नै नेकपा एकिकृत समाजबादी रोज्ने घोषणा गरिसकेका छन् ।










