तनहुँ प्रहरीको पर्यटकीय क्षेत्रमा दुईदिने पैदल गस्ती, सुरक्षा सचेतनामा जोड

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन दुईदिने पैदल गस्ती सम्पन्न गरेको छ ।
प्रहरीका अनुसार साउन १५ गते दिउँसो ४ बजे प्रहरी नायब निरीक्षकको कमाण्डमा १५ सदस्यीय टोली व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरबाट पैदल गस्ती सुरु गर्दै मादी पुल, व्यास–५ चापाघाट हुँदै मानुङकोट पुगेको थियो । टोलीले मानुङकोटस्थित भ्यू टावर परिसरमा रात्री विश्राम गरेको थियो ।
गस्तीको अनुगमन तथा प्रहरी टोलीको मनोबल अभिवृद्धि गर्न प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक अमृत लामिछानेसहित सात सदस्यीय अर्को टोली साउन १६ गते बिहान ४ः३० बजे मानुङकोटतर्फ प्रस्थान गरेको थियो। दुवै टोली बिहान ८ः१५ बजे मानुङकोटबाट पैदल फर्किएर ११ बजे जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
गस्तीका क्रममा प्रहरीले स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै पर्यटकीय क्षेत्रमा अपनाउनुपर्ने सुरक्षा सावधानी, शान्ति–सुरक्षा तथा सुरक्षित यात्रासम्बन्धी जानकारी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पर्यटकीय गन्तव्यमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् र सम्भावित सुरक्षा चुनौतीलाई समयमै न्यूनीकरण गर्न यस्ता गस्तीलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।










