जनपुस्तकालयको फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै पायो
भञ्ज्याङ न्यूज

जनपुस्ताकालय बेलचौतराले ४२औं बाषिर्कोत्सवको अवसरमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै पाएको छ । बुधबार बेलचौतरा खेल मैदानमा भएको फाइनल खेलमा डिजि लिङ्क समुहलाई १-० गोल अन्तरले पराजित गरी आयोजकले उपाधि कब्जा गरेको हो । खेलको दोस्रो हाफमा जीवन गुरुङले गरेको गोल नै निर्णायक बन्यो । खेलमा गोल गर्ने थुप्रै अवसर पाए पनि दुबैतर्फबाट थप गोल हुन सकेन ।
उपाधि विजेता आयोजकले नगद ३३ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता डिजि लिङ्कले २२ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलमा जीवन गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा सुनिल गुरुङ उत्कृष्ट गोलकिपर, दिपेश गुरुङ र्सवाधिक गोलकर्ता र आशिष थापा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।
त्यस्तै गरी बार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको शुक्लागण्डकी नगस्तरीय खुल्ला कविता प्रतियोगितामा प्रशंशा अधिकारी प्रथम, अनसप लामिछाने द्धितीय, जस्मिन शर्मा तृतीय र रेशमलाल अधिकारी सान्त्वना भए । प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे ।
फुटबल तथा कविता प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा तिमिल्सिनाले शारीरिक, मानसिक सबै अवस्था ठिक भएर मात्र दक्ष खेलाडी बन सकिने बताउँदै नेपालको परिपेक्ष्यमा रहरले मात्र खेलाडी बन्ने गरेको बताए । उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न सरकारले उचित सेवा सुविधा उपलब्ध गराउन सक्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जनपुस्ताकालयको संरक्षण र विकासमा योगदान पुर्याएका र पुस्ताकालयकै विषयमा जेल जीवन भोगेका ज्येष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइली, वडा नं. ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, वडा नं ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सिना लगायतले बोलेका थिए ।










