चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता

दमौली : तनहुँको व्यास नगरपालिकाले चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले शहीद दिवसको उपलक्ष्यमा माघ १६ गते उक्त प्रतियोगिता गर्न लागेको हो ।
भगवान वेदव्यासको जन्मभूमी, पराशर ऋषिको तपोभूमी दमौली र ऐतिहासिक स्थल तनहुँसुरको खेलकुदका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ नगरपालिकाले हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी नगर प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिकरुपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्य सहित म्याराथन गर्ने निर्णय भएको बताए । उनले भने, ‘व्यास अल्ट्रा म्यारथन र खुला महिला हाफ म्याराथन प्रतियोगिता आलोपालो गर्दै आइएको छ ।’
प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । व्यास गुफाबाट सुरु हुने प्रतियोगिता सफासडक हुँदै, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरैपँधेरा हुँदै खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गद्दीचौतारा हुँदै वडा नं. ११ स्थित ऐतिहासिकस्थल तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ ।
२१ किलोमिटर दुरीको उक्त प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ८१, द्धितीयलाई ३१ हजार ८१, तृतीयलाई २१ हजार ८१ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही ११ हजार ८१ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने खेलकुद समितिका संयोजक एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी गराए ।










