बालबालिकालाई सेक्स र ड्रग्स पस्किँदैछ टिकटक

बब बेरी,जर्जिया वेल्स, जोन वेस्ट, जोआना र्स्र्टन र सेजन फ्रेन्च/एजेन्सी

टिकटकमा आफ्नो एकाउन्ट खोलेपछि एक १३ वर्षीय प्रयोगकर्ताले ‘अन्ली फ्यान्स’ सर्च गर्न थाले । ‘अन्ली फ्यान’ एडल्टको मनोरञ्जनका लागि आवश्यक सामाग्री अपलोड गर्न चिनिएको साइट हो । यसपछि यी प्रयोगकर्ताले केही भिडियोहरू हेरे, जसमा दुइ वटामा पोर्नोग्राफी पनि बेचिरहेको थियो । यसपछि यी प्रयोगकर्ताले ‘फर यु’ फिड नियाले । यहाँ धेरै प्रयोगकर्ताहरूले हेर्ने गरेका लोकप्रिय भिडियोहरू टिकटकले देखायो । तर, बालबालिका प्रयोगकर्ताको सेक्सप्रतिको इच्छालाई एपले बिर्सिएन, तत्कालै उसले यौन सामाग्रीहरू समेटिएका दर्जनौँ भिडियोहरू पठायो । त्यस्ता, भिडियोहरू पनि थिए, जहाँ कलाकारहरूले केयर गिभरहरूसँग सम्बन्ध बनाएको अभिनय थियो । एउटा भिडियोमा अत्यन्तै उत्तेजक कपडा लगाएकी एक युवतीलाई पुरुषले भनिरहेका हुन्छन्, ‘स्वतन्त्रसँग रोऊ । तिमीलाई थाहा छ यो ड्याडीको फेभरेट हो।’

जब प्रयोगकर्ताले यौनजन्य सामाग्रीमा धेरै समय बिताउँदै फिडमा आएका भिडियोहरू स्क्रोल गर्न थाले, तब फर यु फिडमा चाँडै नै यस्ता सामाग्री र हिंसाका भिडियोहरू हाबी भयो । यस एपको अल्गोरिदमले ती प्रयोगकर्तालाई त्यस्तो र्‍याबिट होलमा छिराएको थियो, जसलाई धेरै प्रयोगकर्ताहरूले ‘किन्कटक’ भन्छन् । यसमा कोर्रा, चेन र यातना दिने खालका सामाग्रीहरू हुन्छन्, जसमध्ये केही सामाग्रीहरू टिकटमा प्रतिबन्धित छन् । अमेरिकी सञ्चारमाध्यम वाल स्टि्रट जर्नल (डब्ल्युएसजे) ले बनाएका दर्जनौँ स्वचालित अकाउन्ट (बट्स) मध्ये यो एक थियो । टिकटकले युवा प्रयोगकर्तालाई के देखाउँदैछ भनेर बुझनका लागि डब्ल्युएसजेले यस्तो गरेको थियो । १३ देखि १५ वर्ष उमेर राखेर रजिस्टर्ड गरिएका यस्ता बटले टिकटकको ‘फर यु’ फिड चलाइरहेका थिए । यो अल्गोरिदमबाट क्युरेट गरिएको अति गोप्य र कहिल्यै नसकिने फिड हो ।

यी अकाउन्टमा टिकटकले आफ्ना शक्तिशाली एल्गोरिदम मार्फत् पठाएका भिडियोहरूको विश्लेषण गर्दा टिकटकले चाडै बालबालिकाहरूलाई सेक्स र ड्रग्सका असङ्ख्य अत्यहिन भिडियोहरू पठाउन सक्ने देखिन्छ, बालबालिकाहरू यस एपका सबैभन्दा ठुला प्रयोगकर्तामध्ये पर्छन् । १३ वर्षका एक बालकको नाममा खोलिएको एकाउन्टमा टिकटकले ड्रग्सको प्रयोग, कोकिनको सिफारिसलगायत विषयसँग सम्बन्धित कम्तीमा ५ सय ६९ भिडियोहरू पठायो, यसमा ड्रग्स उत्पादन र प्रतिबन्धित सामाग्रीहरूको अनलाइन बिक्रीसम्बन्धी प्रवर्द्धनात्मक भिडियोहरू थियो । डब्ल्युएसजेले बालबालिकाका नाममा खोलेका अन्य एकाउन्टहरूमा पनि यस्ता सयौं भिडियो देखिएको थियो । पेड पोर्नोग्राफी साइट र सेक्स सपको सिफारिस गर्ने १ सयभन्दा पनि एकाउन्टका भिडियोहरू बालबालिका किशोर-किशोरीका एकाउन्टमा देखिएको थियो ।

हजारौँ अन्य भिडियोहरू त्यस्ता प्रयोगकर्ताको थियो, जसले आफ्नो सामाग्रीलाई ‘वयस्क’ का लागि मात्रै भनेर लेखेका थिए। कतिले भोजन विकार र अल्कोहलको बढाइ-चढाइ गरिरहेका थिए । त्यहाँ मदिरा लिँदै गाडी कुदाइरहेको र ड्रिङकिङ गेम्सका तस्बिर थिए । बालबालिकाका एकाउन्टमा देखिएका ड्रग्स, पोर्नोग्राफी र अन्य यौनजन्य सामाग्रीहरू सम्बन्धी ९ सय ७४ वटा भिडियो जर्नलले टिकटकसँग शेयर गर्‍यो । यसमध्ये जर्नलले पठाउनुअघि नै १ सय ६९ वटा भिडियो टिकटकबाट हटिसकेका थिए । यी भिडियो टिकटकले हटायो वा अपलोड गर्ने व्यक्तिले हटाए भन्ने पत्ता लगाउन सकिएन । बाँकी २ सय ५५ वटा भिडियोहरू कम्पनीलाई जर्नलले पठाएपछि हटाइयो । यसमध्ये दर्जनौँ भिडियोहरू वयस्कलाई ‘केयरगिभर’ को भूमिकामा खेलाएर तयार गरिएका एडल्ट कन्टेन्ट थिए । भिडियोमा केयरगिभरको भूमिका निभाएकी एक युवतीले बालबालिकाहरूको फिडबाट टिकटकले यस्ता वयस्क सामग्री हटाए राम्रो हुने प्रतिक्रिया दिइन् । ‘मेरो बायोमा १८ प्लस भनेर उल्लेख गरिएको छ, तर यसलाई नियन्त्रण गर्ने वास्तविक उपाय मसँग छैन,’ उनले म्यासेजमा लेखिन्, ‘कुनै बालबालिकालाई मेरो कन्टेन्ट देखाउने कुरामा टिकटकसँग म सहमत छैन ।’

टिकटककी प्रवक्ताले व्यक्तिगत भिडियोका कन्टेन्टहरूबारे टिप्पणी गर्न अस्वीकार गरिन्, तर प्रायजसोले निर्देशिका उल्ल‹न नगरेको दाबी उनले गरिन् । जर्नलद्वारा तयार गरिएका एकाउन्टमार्फत हेरिएपछि टिकटकले केही भिडियोहरू हटाएको उनले बताइन् । उनले एकबाट अर्को प्रयोगकर्तामा सिफारिस गर्ने कार्य बन्द गर्नका लागि अन्य भिडियोहरूको वितरणमा कडाइ गरिएको पनि बताइन्, तर कतिवटा भिडियोबारे यस्तो गरियो भन्ने खुलाइनन् । ती प्रवक्ताका अनुसार टिकटकले वयस्क र बालबालिकालाई पठाउने भिडियोमा फरक गर्दैन, तर युवा र बालबालिका प्रयोगकर्ताका लागि सामाग्रीहरू फिल्टर गर्ने टुल विकास गर्नेबारे टिकटकले सोचिरहेको उनले बताइन् । टिकटकको नीतिले प्रयोगकर्ता कम्तीमा १३ वर्षको हुनुपर्ने र १८ वर्षमुनिका प्रयोगकर्ताले आमा-बाबुको अनुमति लिनुपर्ने भन्छ । ‘बालबालिकाको सुरक्षा निकै महत्वपूर्ण छ । र, टिनएजरको उमेर अनुसारको अनुभव तथा सुरक्षाको प्रवर्द्धनका लागि टिकटकले इन्ड्रस्टी-फर्सट स्टेप लागु गरेको छ,’ प्रवक्ताले पठाएको विज्ञप्तिमा भनिएको छ । आफ्ना बालबालिकाका निम्ति स्क्रिन टाइम र प्राइभेसी सेटिङ म्यानेज गर्ने अनुमति टिकटकले अभिभावकहरूलाई दिएको पनि उनले स्मरण गराइन् ।

दुर्व्यसनको मेसिन

जर्नलले यसअघि गरेको अनुसन्धानले देखाएको थियो- प्रयोगकर्ताले के चाहन्छन् भनेर पत्ता लगाउनका लागि टिकटकलाई एउटै प्रमुख सूचना भए पुग्छ : तपाईं कति समय कुन सामाग्रीमा अल्झनुहुन्छ । तपाईं रोकिएको, भिडियो हेर्न अप्ठेरो लागेको वा फेरि भिडियो हेरेको अवस्थालाई एपले जानकारीमा राखिरहेको हुन्छ । यो शक्तिशाली सिग्नलमार्फत टिकटकले तपाईको दमित इच्छा र भावनाबारे जानकारी हासिल गर्छ । यसपछि आफ्ना कन्टेन्टहरूको ‘र्‍याबिट होल’ तर्फ प्रयोगकर्तालाई लैजान्छ । यी फिडहरू प्रायः विशेष शीर्षक वा थिमले हाबी हुन्छन् । यस्तो अनुभवलाई रोक्न युट्युबजस्ता अन्य सामाजिक सञ्जाल कम्पनीहरूले संघर्ष गरिरहनुपरेको छ । ‘हामीले युट्युबमा देखेका सबै समस्याहरू इन्गेजमेन्टमा आधारित एल्गोरिदम्सका कारण हुन् । र, टिकटक पनि ठ्याक्कै यस्तै छ, तर यो थप खराब छ,’ युट्युबका पूर्व इन्जिनियर गिलौम चासलोटले भने, ‘टिकटकको एल्गोरिदमले चाडै पढ्न सक्छ ।’ चासलोटले पहिले युट्युबको एल्गोरिदममा काम गरेका थिए र अहिले यी कम्पनीहरूले यस्ता उपकरण चलाउँदा पारदर्शी हुनुपर्छ भन्ने पक्षमा वकालत गर्छन् । जर्नलले आफ्ना सबै ३१ वटा बालबालिका एकाउन्टमा जन्म मिति र आईपी एड्रेस हालेको थियो । धेरैजसोमा विभिन्न इन्ट्रेस्टहरू पनि प्रोग्राम्ड गरिएको थियो । टिकटकले सम्बन्धित हृयासट्याग वा तस्बिर, भिडियोमा अल्भिmएको वा एक भिडियोबाट चाडै अर्को स्क्रोल भएको पत्तो पाएपछि यसबारे जान्यो । धेरैजसो एकाउन्टहरूले कन्टेन्टहरू सर्च गरेनन्, बरु आफ्नो फिडमा आउने भिडियोहरू हेरे ।

यसले यसरी काम गर्‍यो

एउटा बटलाई ड्रग्ससँग सम्बन्धित भिडियोमा रहनेगरी प्रोग्राम्ड गरिएको थियो । टिकटकमा आफ्नो पहिलो दिन यो एकाउन्ट एउटा त्यस्तो भिडियोमा अल्झियो : जहाँ एक महिला जंगलमा अघि बढ्दै थिइन् । क्याप्सनमा उनी गाँजाको खोजीमा छिन् भन्ने संकेत गरिएको थियो । अर्को दिन यो एकाउन्टले गाजाको थिममा तयार गरिएको केकको भिडियो पनि हेर्‍यो । लगत्तै यो बालबालिका एकाउन्टको फिडमा ड्रग्स र ड्रग्सको प्रयोगबारे विज्ञापन गरिएका, गाँजाको विज्ञापन गरिएका हजारौँ भिडियोहरू आउन थाले । एउटा भिडियोमा चुरोट तानिरहेका एक व्यक्ति थिए र उनले ‘४२० फ्रेन्डली (गाँजाको कोड) वेबसाइटबारे बोलिरहेका थिए । उनले सबैलाई राम्रो गाँजा उपलब्ध गराउने पनि बताइरहेका थिए ।

१३ वर्षे बालबालिकाको रजिस्टर्ड एकाउन्टमा भिडियो देखाइएको विषयमा प्रश्न राख्दा ४२० फ्रेन्डली वेबसाइटको प्रवर्द्धन गरिरहेका सर्जकले कुनै प्रतिक्रिया दिएनन् । अन्त्यमा, जर्नलका ३१ वटा एकाउन्टमध्ये झन्डै एक दर्जन एकाउन्टहरूमा यस्तै कुनै विशेष थिम हाबी भएको थियो । द चाइल्ड माइन्ड इन्स्टिच्युटका मनोविद् डेभिड एन्डरसनका अनुसार बालबालिकाका लागि यो समस्याग्रस्त हुनसक्छ, विशेष गरी त्यस्ता बालबालिकाका लागि जोसँग भिडियो बन्द गर्न सक्ने क्षमताको कमी छ वा जसको आसपास सहयोगी वयस्कहरू छैनन् । उनका अनुसार त्यस्ता किशोरहरूले एउटा ‘पूर्ण हावाहुरी’ को अनुभव गर्छ सक्छन् र सामाजिक सञ्जालले ड्रग्स वा अन्य विषयलाई पस्कने तरिकाले जुन छ, त्यसले उनीहरूलाई प्रभावित गर्न सक्छ । धेरै शीर्षकमा इन्ट्रेस्ट व्यक्त गर्ने गरी प्रोग्राम गरिएका जर्नलका एकाउन्टहरूलाई पनि टिकटकले कहिलेकाहीँ एकै शीर्षकमा लैजान्थ्यो र त्यही एक विषयबारे सयौँ भिडियोहरू पठाउँथ्यो ।

धेरैवटा विषयमा इन्ट्रेस्ट व्यक्त गर्ने एक एकाउन्टलाई टिकटकले सयौं जापानिज फिल्म र टेलिभिजन कार्टुनहरू देखायो । १ सय ५० वटा भिडियोको एउटा लहरमा चारवटा जापानिज फिचर एनिमेसनहरू छाड्ने हो भने धेरैजसो यौन थिममा आधारित थिए । टिकटककी प्रवक्ताका अनुसार ‘जर्नलले तयार गरेका बट्स -स्वचालित एकाउन्ट)ले वास्तविक व्यक्तिको व्यवहार र भिडियो हेर्ने अनुभवको प्रतिनिधित्व गर्न सक्दैनन् ।’ किनकि, मानिसका इन्ट्रेस्ट विविध र परिवर्तन भइरहने खालका हुने उनको तर्क छ । विशेष गरी बालबालिका र युवा प्रयोगकर्ताहरूमा खराब प्रभाव पर्न नदिने गरी कसरी सुधारका काम गर्ने विषयमा टिकटकले समीक्षा गरिरहेको उनले बताइन् ।

जब प्रयोगकर्ताहरूले आफूले हेर्न नचाहेका सामाग्री देख्छन्, तब उनीहरूले ‘नट इन्ट्रेस्टेड’ बटन थिचेर त्यस्ता सामाग्री कम गर्न सक्ने उनले बताइन् । जर्नलले धेरैजसो एकाउन्टहरूलाई पटक-पटक यौनजन्य शब्द र तस्विरहरूसहितका भिडियो हेर्ने गरी प्रोग्राम गरेको थियो, र चाडै यस्ता एकाउन्टहरू यौनजन्य सामाग्रीको ‘र्‍याबिट होल’ मा छिरे । जसमध्ये यो एक हो । फिडमा आउने दर्जनौँ भिडियोहरूले प्रयोगकर्तालाई ‘अन्ली फ्यान्स डटकम’ जस्ता पेजको लिंक फलो गर्न प्रेरित गरिरहेका थिए। यो सब्सक्रिप्सनमा आधारित सामाजिक सञ्जाल प्लेटफर्म हो, जहाँ यौनजन्यस सामाग्रीसहितका एडल्ट कन्टेन्ट देखाइन्छ । अन्य पोस्टहरूले यौन पसल र स्टि्रप क्लबको विज्ञापन गरेका थिए । अहिले हटाइएका केही भिडियोहरूमा ‘युरोपेली र अमेरिकी’ प्रेमिका खोजिरहेका युवतीहरू देखिन्थ्यो र उनीहरूको फोन नम्बर पनि राखिएको थियो । पेड पोर्नोगार्फीलाई प्रवर्द्धन गर्ने दर्जनौँ भिडियोहरू अहिले टिकटकबाट हटेका छन् । केही घटनामा टिकटक बनाउनेहरू पनि आफ्नो मनसायबारे स्पष्ट छन् । उनीहरूले आफ्ना भिडियो बालबालिकाले नहेरुन् भन्ने चाहेका छन् । त्यसैले उनीहरूले आफ्नो भिडियो वा एकाउन्टलाई ‘वयस्कहरूका लागि मात्रै’ भनेर लेखेका छन् । तर, यस्तो लेखिएका भिडियो पनि टिकटकले अन्य एकाउन्टमा पठाएको छ । २ सय भिडियोहरूको एउटा लहरमा झन्डै ४० वटा भिडियोमा ‘वयस्कहरूका लागि मात्रै’ लेखिएको थियो । समग्रमा कम्तीमा त्यस्ता २८ सय भिडियोहरू जर्नलका बालबालिका एकाउन्टमा आएका थिए ।

यौनजन्य गतिविधिको प्रव्र्द्धन गर्ने यस्ता भिडियोहरूले टिकटकलाई पनि चिन्तामा पारेको छ । ‘अन्ली फ्यान्स’ मा मानिसहरू जानका लागि प्रेरित गर्ने भिडियो अति हाबी भएपछि २०२० मा कम्पनीकी चिफ अपरेटिङ अफिसर भेनिस्सा पापास्सले कर्मचारीहरूसँग किन यस्तो भयो भनेर बैठकमा सोधेकी थिइन् । उक्त बैठकपछि सुरु टिकटकले ‘अन्ली फ्यान्स’ लिंक गर्ने सामाग्रीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस वेबसाइटका अधिकांश सामाग्री यौनजन्य छन् भन्नेमा कर्मचारीहरू विश्वस्त थिए । यस निर्णयबाट जानकार रहेको एक व्यक्तिले जर्नलसँग भनेका छन् । तर, यस प्लेटफर्मले यसपछि पनि यस साइटलाई लिंक गर्ने अनुमति प्रयोगकर्ताहरूलाई दियो । ‘अन्ली फ्यान्स’मा सबै सामाग्री यौनजन्यमात्रै नरहेको र अन्य सामाजिक सञ्जालहरूले पनि आफ्ना कन्टेन्टमा यस साइटलाई लिंक गर्न दिएको अन्य कर्मचारीहरूले औँल्याएपछि यस्तो निर्णय भएको थियो । टिकटककी प्रयोगकर्ताको दाबीअनुसार यस प्लेटफर्मले नग्नता र यौनजन्य सामाग्रीमा रोक लगाउँछ र यौनजन्य सामाग्री हाल्ने ‘अन्ली फ्यान्स’ जस्ता साइटहरूमा प्रयोगकर्तालाई निर्देशित गर्ने एकाउन्टहरू हटाउँछ । यता, अन्ली फ्यान्सकी प्रवक्ताले यो साइट १८ वर्षमाथिका व्यक्तिहरूका लागि मात्रै भएको बताइन् । टिकटक एकाउन्टहरूले यस साइटमा जानका लागि मानिसहरूलाई प्रेरित गरिरहेको विषयमा उनले कुनै प्रतिक्रिया जनाउन मानिनन्।

नियन्त्रण नीति

एल्गोरिदम्स् र १० हजारभन्दा बढी व्यक्तिहरूको संयोजनमा टिकटकले भिडियोहरू नियन्त्रण गर्ने काम गरिरहेको छ । कम्पनीले पछिल्लो रिपोर््टमा जनाएअनुसार गत वर्षको अन्तिम ६ महिनाभित्र ८ करोड ९० लाखवटा भिडियोहरू हटाइएका छन् । तर, टिकटक जति धेरै वृद्धि हुँदैछ, त्यति नै नियन्त्रण कठिन बन्दैछ । टिकटकका पूर्व कार्यकारीहरूका अनुसार अहिले यस प्लेटफर्मका झन्डै १० करोड प्रयोगकर्ता अमेरिकामा छन् । जबकि, २०१९ मा यो संख्या २ करोड ५० लाख थियो । कम्पनीका अनुसार प्रयोगकर्ताहरूले हरेक मिनेटमा दसौँ हजार भिडियो अपलोड गर्ने गरेका छन् । आफ्नो गति कायम गर्नका लागि मोडेरेटरहरूले प्रायः अति लोकप्रिय सामाग्रीमा ध्यान केन्द्रित गर्ने गरेका छन् ।

अति कम भ्युज भएका भिडियोहरूको प्राय अवस्थामा पुनरावलोकन नहुने पूर्व कार्यकारीहरूले बताए । टिकटकले आफ्ना नियमहरू उल्लंघन गर्ने निश्चित खाले भिडियोको पहिचान गर्न र हटाउन तथा आफ्नो नियमलाई थप चुस्त रूपमा लागु गर्नका लागि अमेरिकामा आफ्नो एल्गोरिदम्स मार्फत काम गरिने गत जुलाईमा जनाएको थियो । विगतमा टिकटकको एल्गोरिदम्सले नियम तोड्ने भिडियोहरूको पहिचान गरेको थियो । तर, त्यसलाई हटाउनुअघि मानिसहरूले एकपटक पुनरावलोकन गर्ने गरेका थिए । आफ्नो बट्स एकाउन्टलाई टिकटकले पठाएका सम्भावित नियमविपरीतका सयौँ भिडियोहरू जर्नलले टिकटकलाई पठाएपछि कम्पनीले यस्तो घोषणा गरेको थियो । टिकटकका अनुसार पछिल्लो वर्षदेखि उसले नयाँ प्रणालीको प्रयोग गरिरहेको छ ।

टिकटककी प्रवक्ताका अनुसार कुनै पनि एल्गोरिदम सामाग्रीहरू पूर्ण रूपमा नियन्त्रण गर्न सक्षम हुनेछैन किनकि भिडियोलाई बुझन सन्दर्भको मात्रा फरक हुनसक्छ । यसअघि भोजन विकारबारे प्रवर्द्धन गरिएका भिडियोहरू हटाउन पनि टिकटकले संघर्ष गर्नुपरेको थियो । खाद्य विकारलाई प्रवर्द्धन गर्ने त्यस्ता सामाग्रीहरू एपमा प्रतिबन्धित भए पनि टिकटकले जर्नलको एकाउन्टमा पठाइरहेको थियो । अमेरिकामा विशेष गरी केही कडाइहरू हटाउने कम्पनीको निर्णयका कारण यस्ता सामाग्रीहरूमाथि नियन्त्रण राख्न कठिन भएको कम्पनीका पूर्व कार्यकारीहरू तथा कन्टेन्ट मोडेरेटर्स बताउँछन्, जस्तो, पछिल्ला वर्षछाला र बिकिनी प्रदर्शन गर्न छुट छ ।

नतिजास्वरुप प्लेटफर्ममा धेरै यौन उत्तेजक भिडियो देखिने गरेको छ । प्रयोगकर्ताहरूको फेरिँदो व्यवहार र उद्योगका मान्यतालाई ध्यानमा राखेर कम्पनीका नीतिहरू परिवर्तन हुँदै आएको प्रवक्ताले बताइन । टिकटकका प्रयोगकर्ताहरू पुराना र धेरै विविध हुन थालेसँगै कम्पनीले पनि नयाँ र फरक कन्टेन्टको अपेक्षा गर्ने उनले बताइन । र, बालबालिका प्रयोगकर्ताका लागि रजिस्टर्ड गरिएको बट एकाउन्ट किन यौनजन्य गतिविधिका लागि प्रेरित गर्ने सामाग्रीतर्फ गइरहेको छ? जर्नलको एकाउन्टमा देखिएका अतिवादी भिडियोमध्ये यो एक हो । धेरै भिडियोहरूले उच्छृंखल यौन गतिविधि, यौन हिंसा र बलात्कारका काल्पनिक पक्षबारे वर्णन गरेका छन् । एउटा बिन्दुमा एकाउन्टको ९० प्रतिशतभन्दा धेरै भिडियो फिडमा यौन सम्बन्धी सामाग्री मात्रै थियो । बालबालिकाहरूको एकाउन्टमा देखाइएका १२ सय ७६ भिडियोमध्ये अहिले ६१६ वटा भिडियो एपबाट हटाइएका छन् ।

पद्धति

धेरै महिनाको अवधिमा वाल स्टि्रट जर्नलले १ सय वटा टिकटक एकाउन्ट तयार गर्‍यो । यी एकाउन्टहरू थोरै मात्र मानवीय हस्तक्षेपमा सञ्चालित भएका थिए । ३१ वटा एकाउन्टहरू १३ देखि १५ वर्षका प्रयोगकर्ताको नाममा दर्ता थियो । एकाउन्टलाई निर्देशित गर्न र उनीहरूको व्यवहार विश्लेषणका लागि जर्नलले सफ्टवेयर पनि तयार गरेको थियो । यी एकाउन्टहरूमा जन्म दिन र आईपी एड्रेस उल्लेख थियो । धेरैजसो एकाउन्टहरूलाई कि वर्ड टर्मसहित इन्ट्रेस्ट दिइएको थियो । त्यस्तै, तस्बिरहरूको वर्गीकरण पनि यी एकाउन्टले गर्न सक्थे । यदि आफ्नो इन्ट्रेस्ट मिलेमा एकाउन्टहरू ती भिडियोमा बस्थे । अन्यथा, एकाउन्ट तत्कालै अर्को भिडियोमा जान्थ्यो । जर्नलले भिडियो, थम्बनेल तस्बिर, हरेक भिडियोसँग जोडिएको डिस्क्रिप्सन टेक्स्ट र मेटाडाटा पनि संकलन गर्‍यो । र, त्यसको चेकजाँचमा सहयोग पुर्‍याउन आन्तरिक एनालाईसिस टुल्स पनि सिर्जना गर्‍यो । अन्त्यमा, यी एकाउन्टहरूले झन्डै ४ लाख भिडियो नियाले । यसमध्ये १३ देखि १५ वर्षभित्रका प्रयोगकर्ताका नामबाट खोलिएका एकाउन्टले झन्डै १ लाख भिडियो नियालिएको थियो । रातोपाटीबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker