भानुभक्त आचार्यको समाधीस्थल सतीघाटको प्रवर्द्धनमा जोड
डिपि अधिकारी/भानु
आदिकवि भानुभक्त आचार्यको समाधीस्थल सतीघाट क्षेत्रलाई सामयिक विकास र प्रवर्द्धनका लागि स्थानीय जागरुक बनेका छन् । तनहुँको भानु नगरपालिका-१ स्थित मर्स्याङ्दी नदी किनारमा रहेको एतिहासिक र धार्मिक महत्व बोकेको सतीघाटलाई सामयिक विकास र प्रवर्द्धनका लागि समिति गठन गरिएको छ ।
सतीघाटलाई ब्यवस्थित गर्न आधुनिक शवदाह गृह निर्माण गर्ने उद्देश्यले नगरपालिकाको संरक्षकत्वमा तदर्थ समिति गठन गरिएको हो । धार्मिक पर्यटकीय र साहित्यिक रुपमा पनि सतिघाट धामको समग्र विकास हुन जरुरी रहेकाले सबैको सहकार्यमा सामयिक विकास गर्न खाँचो रहेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
हरिबोधनी एकादशीका दिनमा मर्स्याङ्दी नदीमा फूलडोली तोरन टाँग्ने परम्परा रहि आएको सतिघाट धाम क्षेत्रलाई गुरुयोजना निर्माण गरी प्रतिष्ठानको रुपमा बिकास गर्न स्थानीय तथा अन्य सरोकारवाला निकायले हातेमालो गर्न आवश्यक रहेको उपप्रमुख उमा गोतामेले जोड दिइन ।
वडा नं. १ स्थित ग्रिनपार्कमा आयोजित सरोकारवालाहरुको भेलामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले नगरको आउँदो हिउँदे अधिवेशनमा उक्त क्षेत्रमा बाटो र ट्रस निर्माणका लागि यथाशक्य बजेट विनियोजन गर्न पहल गर्ने बताए ।
उक्त भेलाले भानु-१ निवासी कृष्णकुमार श्रेष्ठको अध्यक्ष्यतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर थापा भानु १, सचिबमा दिपक थापा भानु ५, कोषाध्यक्षमा भरत बानिया भानु १ र्सवसम्मत चयन गरिएको छ । समितिको सदस्यहरुमा मिठु गर्न्दर्भ भानु १, इश्वरी थिङ त्रिपाठी भानु १, शंकर रानाभाट भानु ४, ध्रुब थापा भानु ६, सोम तामाङ भानु १, पुनम श्रेष्ठ भानु ३, लक्ष्मी चिलुवाल त्रिपाठी भानु ३, सुरेन्द्र कुमार श्रेष्ठ भानु १, शिवदत्त ढकाल भानु २, हरि ढकाल भानु ६ र रनबहादुर बि.क. भानु १ रहेका छन् ।
यस्तै, भेलाले ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । निवर्तमान वडा अध्यक्ष प्रेम लामा, लालकुमार श्रेष्ठ, जयहरी ढकाल, उत्तम प्रसाद लोहनी, मिनबहादुर अधिकारी, रामबहादुर क्षेत्री र कृष्णकुमार श्रेष्ठ ख रहेका छन् । भेलाले भानु २ का नबिनराज दाहाल, भानु ६ का कृष्णराज ढकाल र भानु १ का बिष्णुप्रसाद मिश्रलाई विधान मस्यौदा लेखन समितिमा चयन गरेको सचिब दिपक थापाले बताए।
सतीघाटको ऐतिहासिक महत्व
नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौ विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् । नेपाली भाषाका कवि, लेखक, तथा दार्शनिकका रुपमा पहिचान बनाएका आदिकवि आचार्यलाई नेपाली साहित्यको जग बसाल्ने व्यक्तित्त्वका रुपमा चिनिन्छ । भानुभक्तसँग सम्बन्धित कैयौँ विषय हालसम्म पनि खोज तथा अनुसन्धान हुन सकेका छैनन् ।
आचार्यको जन्मस्थल, बाल्यकाल, युवा तथा वृद्धअवस्थाका धेरै विषयमा हालसम्म कुनै खोजी नभएकाले खोज तथा अनुसन्धान गर्नुपर्ने देखिएको हो । उहाँको अन्त्येष्टिका विषयमा पनि खोजी गर्नुपर्ने भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ ।
तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घास्थित धर्मशाला (शिखर कटेरी) मा विसं १८७१ असार २९ गते जन्मनुभएको थियो । राष्ट्रिय विभूति आचार्यको बाल्यकाल, युवा र वृद्धावस्थालगायत विषयमा खोज तथा अनुसन्धान गर्नुपर्ने समितिका निर्देशक शंकर रानाभाटले बताए । जन्मस्थलका बारेमा प्रचारप्रसार र प्रवर्द्धन भएपनि अन्य विषय भने प्रचारप्रसारको कमीले ओझेलमा परेका भन्दै अनुसन्धान गर्नुपर्ने उनले जोड दिए ।
‘भानुभक्तको विसं १९२५ असोज ७ गते देहावसन भयो । देहावसनको मिति लेखिएको शिलापत्र पाइन्छ । उहाँको निधनपश्चात् पार्थिव शरीरको अन्त्येष्टि (समाधि) कहाँ गरियो – भन्ने विषयमा कतिपय साहित्यकारहरु नै जानकार नहुन सक्छन्”, रानाभाटले भने ‘जन्मस्थलको विकास, संरक्षण र प्रवर्द्धन भए पनि समाधिस्थलको प्रचारप्रसार नहुँदा गुमनाम जस्तै छ । यस विषयमा गहन अनुसन्धान हुनु आवश्यक छ ।’
आचार्यका बारेमा उहाँका सन्ततिका साथै सरकारी पक्षबाट विशेष अनुसन्धान गरिनुपर्ने खाँचो छ । भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका अन्य विषयका बारेमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । ‘अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलका बारेमा जानकारी भएपनि उहाँसँग सम्बन्धित अन्य विषय तथा महत्वपूर्ण स्थानका बारेमा हालसम्म अनविज्ञ छन्’, निर्देशक रानाभाथटले भने, ‘राष्ट्रिय विभूति भानुभक्तको अन्त्येष्टिको विषयमा कतैबाट पनि खोजी भएको छैन । यस्ता विषयको गहन अनुसन्धान गरी प्रचारप्रसार गर्नु जरुरी छ ।’
मर्स्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी)अन्तर्गत तनहुँको भानु नगरपालिका-१ सतीघाट (गाईथुने)मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । ऐतिहासिक एवं धार्मिक रुपमा परिचित सतीघाटको बारेमा अधिकांश मानिस अनविज्ञ छन् । भानुभक्तसँग सम्बन्धित स्थानको संरक्षण र संवर्द्धनमा स्थानीयवासीले चासो नदिँदा विशेष महत्व राख्ने यस्ता क्षेत्र ओझेलमा परेका हुन् ।
तत्कालिन समयमा नेपालका सनातनी ब्राहृमणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । सोही अनुरुप भानुभक्तलाई पनि अन्त्यावस्थामा मर्स्याङ्दी नदीको सतीघाट (गाईथुने)मा लगी जलाश्रयमा राखिएको शिलापत्र उल्लेख छ । यो घाट चुँदीबैँसीबाट करिब दुइ कोस पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ । सतीघाटमा दुइ वटा घाट रहेको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले बताए । उनका अनुसार दुइ घाटमध्ये माथिल्लो मन्दिर रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको थियो ।
‘माथिल्लो घाटमा तत्कालिन समयमा समाजमा ख्यात्रि्राप्त व्यक्तित्वको अन्त्येष्टि गरिन्थ्यो । त्यस समयमा यस स्थानबाहेक अन्य स्थानमा लगेर अन्त्येष्टि गर्ने प्रचलन थिएन । त्यसैले माथिल्लो घाटमा नै उहाँको अन्त्येष्टि गरिएको हो’, उनले भने, ‘बाटो तथा सवारीसाधनको अभावलगायत कारण अन्यत्र लैजाने चलन थिएन ।’
आचार्यसँग सम्बन्धित केही पुस्तकमा सतीघाटका बारेमा उल्लेख भएपनि यसको विकास र प्रवर्द्धन हुन नसकेको रानाभाट बताउँछन् । उनले भने, ‘एक जना लोहनी थरका व्यक्तिको पाँच वटी श्रीमती एकैसाथ सति गएपछि यस घाटको नाम सतीघाट भएको कथन रहेको छ।’
भानुभक्तका पनाती हरिनाथ आचार्यले भानुभक्तको अन्त्येष्टि गरिएको स्थान सतीघाट नै भएको दाबी गर्छन । भानुभक्तका सन्ततिबाट नै उहाँको अन्त्येष्टि सतीघाटमा भएको सुन्दै आएको हरिनाथले बताए । ‘पहिलेदेखि नै सतीघाटको प्रवर्द्धन गर्न सकिएको छैन ।
राष्ट्रिय विभूति आदिकविको समाधिस्थलको प्रचारप्रचार गरी यस स्थानलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’, उनले भने, ‘राष्ट्रिय विभूतिको सम्मानसँगै उहाँसँग जोडिएका महत्वपूर्ण विषय र स्थानका बारेमा अनुसन्धान गरी ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्नुपर्छ । यसले यस क्षेत्र सदैव जिवन्त रहन्छ ।’ भारतमा गान्धीको समाधिस्थललाई विकास र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर आयसँग जोडिएको हरिनाथले उदाहरण दिँदै भनुभक्तको समाधिस्थललाई पनि धार्मिक पर्यटनसँग जोड्न सके आयआर्जनका हुने बताउँछन् ।
भानुभक्तको नामबाट नामकरण भएको नगरपालिकाले समाधिस्थलको संरक्षण, प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । ‘जन्म, वाल्यावस्था र वृद्धावस्थाका साथै उहाँसँग सम्बन्धित विभिन्न विषयका बारेमा विभिन्न पुस्तक तथा शिलापत्रमा उल्लेख भएका छन् । समाधिस्थलको प्रचारप्रसार नहुँदा चर्चामा पर्न सकेको छैन’, उनले भने, ‘यसको संरक्षण गरी प्रचारप्रसारसँगै विकास गर्न आवश्यक छ । नगरपालिका यो काममा लागिपरेको छ ।’
सतीघाटलाई भानुभक्तको समाधिस्थलका रुपमा मात्रै नभएर धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमासमेत लिने गरिएको छ । डुम्रे भन्सारमा सामान ढुवानीसँगै मुख्य आवतजावतको स्थलका रुपमा पनि सतीघाट परिचित रहेको नगर प्रमुख त्रिपाठीले बताउँछन् । डुम्रे बजार मुख्य व्यापारिक केन्द्र हुँदा आवश्यक सामग्री ल्याएर बिक्री वितरणका लागि यही बाटोमार्फत डुङ्गा, काठको फेरीको प्रयोग गरी मर्स्याङ्दी नदी हुँदै गोरखा, नुवाकोट, काठमाडौं पुग्ने गरिएको नगरप्रमुख त्रिपाठी बताउँछन् । यस क्षेत्रमा भन्सार रहेकाले यहीबाट कर लिने प्रचलन थियो पनि भनिन्छ ।
सतीघाट परापूर्वकालदेखि नै धार्मिक एवं ऐतिहासिक रुपमा महत्वपूर्ण रहेको नगर प्रमुख त्रिपाठीले बताउँछन् । विशेषगरी बुटवलबाट बन्दीपुर हुँदै आएका कपडा तथा खाद्यान्न सामग्री गोरखा, नुवाकोट हुँदै काठमाडौं लगिने गरिएको उनले बताए । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यस स्थानको विकास र संरक्षणका लागि गुरुयोजना निर्माण गर्ने तयारी गरिएको त्रिपाठीले जानकारी दिए । भानुभक्तसँग सम्बन्धित भएकाले जनस्तरबाट नै सहयोग र सहकार्य हुनुपर्ने उनले बताए ।
सतीघाट संरक्षण समिति वा संवर्द्धन समिति निर्माण गरी गुरु योजनामार्फत यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक योजना तयार गर्ने गरी नगरपालिका अगाडि बढेको छ । पुराना धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि यहाँ पुल निर्माण गर्ने योजना बनाएको नगरप्रमुख त्रिपाठीले बताए ।
बाइस्से/चौबिस्से राज्यका बेलामा सेनाले पदयात्रा गर्ने मुख्य नाका नै सतीघाट क्षेत्र रहेको उल्लेख छ । बाइस्से/चौबिस्से राज्यका बेलामा सेनासहित पृथ्वीनारायण शाहले यही बाटो प्रयोग गरेको इतिहासमा उल्लेख गरिएको छ । राज्य एकीकरणको समयमा कालु पाण्डे लगायतका सेना सतीघाट (मर्स्याङ्दी नदी) पार गरी आवतजावत गर्ने मुख्य बाटोका रुपमा यही मार्गलाई प्रयोग गर्ने गरेका स्थानीय बताउँछन् ।
तनहुँसुरका राजा, गोर्खाली राजा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने मुख्य नाका पनि यही भएकाले यस क्षेत्र विशेष महत्वपूर्ण रहेकाले स्थानीय पालिकाले यस क्षेत्रको सामयिक विकासमा ध्यान दिनुपर्दछ । साथै स्थानीयले पनि सतिघाट क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरोकारवाला निकायलाई झकझाउनुपर्ने देखिन्छ ।










