मुख्यमन्त्रीको बलमिचाई : टेण्डरसमेत नगरी भवन शिलान्यास, सरकारी खर्चमा बुवाको नाममा आँखा उपचार केन्द्र
भञ्ज्याङ न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबाको नाममा बन्ने आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवन मंगलबार दमौलीमा शिलान्यास गरेका छन् । मुख्यमन्त्रीले गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार केन्द्र तथा अनुसन्धान केन्द्रको टेण्डर आव्हानसमेत नभएको भवन शिलान्यास गरेका हुन् ।
संघीय सरकार मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको जग्गामा यो भवन बनाउन लागिएको छ । दमौली अस्पताल मातहत रहने अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको जग्गा भने साबिक जिल्ला पशु सेवा कार्यालयको नाममा छ ।
दमौली अस्पतालमा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रको नाममात्र परिर्वतन गरेर ३ महिनाअघि मुख्यमन्त्री पोख्रेलका बुवा गोवर्द्धन शर्माको नाममा आँखा अनुसन्धान केन्द्रको बोर्ड झुण्डाइएको छ ।
मुख्यमन्त्री पोख्रेलले आँखा उपचार केन्द्रको सेवा पनि मंगलबार नै सुरुआत गरेका छन् । केन्द्रमा हालसम्म थप प्रविधि तथा उपकरण भने नभित्रिएको दमौली अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।
‘अहिलेसम्म कुनै थप उपकरण आएको छैन,’ उनले भने, ‘पुरानै स्थानमा बोर्ड झुण्डाइएकोमा नयाँ भवनमा स्थानान्तरणमात्र गरिएको हो ।’ मुख्यमन्त्रीले आँखा अनुसन्धान केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएपछि केही दिनअघि अस्पतालका कर्मचारीले अस्पताल मातहतको पुरानो खेलकुद भवनमा पुरानै उपकरण सारेका थिए ।
उद्घाटनका क्रममा मुख्यमन्त्री पोख्रेलले आँखा जाँचसमेत गराए । भवन र आँखा उपचार केन्द्र तथा अनुसन्धान केन्द्रका लागि डेढ करोड आवश्यक पर्ने अनुमानित विवरण प्रदेश सरकारलाई पठाएकोमा यो आर्थिक वर्षै बजेट बिनियोजन गरेको छ ।
दमौली अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्नका लागि वर्षौदेखि जग्गा माग गर्दा प्राप्त भएको छैन । यस्तो अवस्थामा भेटेरिनरी अस्पताल र कृषि ज्ञान केन्द्र तनहुँको जग्गामा मुख्यमन्त्री पोख्रेलले भवन शिलान्यास गरेका हुन ।
कृषि ज्ञान केन्द्र मातहतको जग्गा हस्तान्तरणका लागि कार्यालयबाट कुनै पनि प्रक्रियाअघि नबढेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।
‘संघीय सरकारको जग्गा भएकाले यसमा हाम्रो भूमिका खासै रहँदैन, प्रशासन कार्यालयबाट सिफारिस भएको सुनेको छु,’ उनले भने, ‘कृषि कार्यालयलाई आवश्यक पर्छ भनेर राखिएको जग्गा हो । विद्यार्थी र कृषकलाई अनुसन्धान केन्द्र बनिरहेको छ ।’
मुख्यमन्त्री पोख्रेलका बुबाको स्मृतिमा स्थापना गर्न लागिएको आँखा अनुसन्धान केन्द्रका लागि भेटेरिनरी कार्यालयको ५ रोपनी र कृषि ज्ञान केन्द्रको ४ रोपनी जग्गा लिने तयारी छ ।
भवन शिलान्यास भएको जग्गा अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उपभोग गरिरहेको र संघीय सरकारको स्वामित्वमा रहेको भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले बताए ।
‘जिल्लाको केन्द्रमा सिफारिसपछि प्रदेश मन्त्रालयको सिफारिस हुँदै संघीय मन्त्री परिषदबाट स्वीकृत भएपछि मात्र कानुनी हिसाबमा अस्पतालले जग्गा पाउन सक्छ,’ उनले भने, ‘हालसम्म यस बिषयमा मन्त्रालयमा कुनै पनि सिफारिस आएको छैन, न त हामीले माथिल्लो निकायलाई कुनै पत्राचार गरेका छौं ।’
मुख्यमन्त्रीले आँखा उपचार केन्द्रको भवनका लागि बलमिच्याइ गरेको स्रोत बताउँछ । ‘मान्छेका नजरमा पशु कार्यालय परिसरमा घाँस उम्रिएको देख्न सकिन्छ,’ मन्त्रालयका १ कर्मचारीले भने, ‘कृषकले मात्र घाँस चिन्छन, हरेक पशु सेवा केन्द्र आफैंमा कृषकको अनुसन्धान केन्द्र हो ।’
संघ सरकारको स्वामित्वमा जग्गा रहेको र दमौली अस्पतालले भोगचलनका लागि माग गरेपनि हालसम्म प्राप्त नभएपनि उक्त स्थानमै भवनको शिलान्यास गराउन निर्देशन आएकाले आवश्यक व्यवस्थापन गरिदिएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए । उनले भने, ‘दमौली अस्पताललाई जग्गा आवश्यक परिरहेको र अस्पतालसंगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरिनरी कार्यालयको स्वामित्वमा रहेको केही जग्गा माग भइरहेको छ । अस्पताललाई जग्गा प्राप्ति पनि नभएको र भवन निर्माण कार्यको टेण्डर प्रक्रिया पनि गरिएको छैन । मुख्यमन्त्रीज्यूले शिलान्यास गरेपछि अब अस्पताललाई आवश्यक जग्गा उपलब्ध गराउन उहाँहरुलाई नै नैतिक दबाब पर्छ भन्ने हामीले आशा गरेका छौं ।’