स्थानीय निर्वाचन : तनहुँका उम्मेदवारहरु भोट माग्न व्यस्थ, मतदाता शिक्षा नहुँदा नमूना मतदानमै मत बदर

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय तहको निर्वाचनको मिती नजिकिएसंगै अहिले उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगि आ-आफ्नो पक्षमा मत माग्न व्यस्थ छन् । तनहुँका चार नगरपालिका र छ गाउँपालिकाका ८५ वटै वडा तहसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले घरदैलो तथा चुनावी गतिविधिमा सक्रिय भएका छन् ।

स्थानीय निर्वाचनका कारण अहिले तनहुँको जनजीवन चुनावमय बन्दै गएको छ । गाउँदेखि शहर बजारसम्म चुनावी गतिविधिले तातेको छ । राजमार्ग तथा भित्री सडकहरुमा दलका झण्डा तथा चुनाव चिन्ह अंकित झण्डा राखिएका सवारीसाधानको लस्करका साथै आ-आफ्नो पक्षमा मत माग्नका लागि तयार गरिएका गितहरु गुञ्जन थालेका छन् ।

तनहुँका चार नगरपालिका र छ गाउँपालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पद दावागर्ने दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले चुनावी गतिविधिमा होमिएका छन् । जिल्लाको भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका, देवघाट, आँवुखैरेनी, बन्दिपुर, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिकाका ४४५ पदमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ हजार ६३६ जना उम्मेदवारहरु अहिले चुनावी मैदानमा उत्रिएका छन् ।

तनहुँका १० वटै पालिका यतिबेला निर्वाचनमय भएका छन् । दलबलसहित यहाँका वडादेखि पालिकाका उम्मेदवारहरु खेतबारी, गोठालासम्म पुगेर मत माग्न सक्रिय छन् । यसरी दलहरु घरदैलो, खेतबारी तथा गोठालाहरुसम्म पुगेर आ-आफ्नो पक्षमा मत मागेपनि मतदातालाई के कसरी मतदान गर्ने, कसरी मतदान गर्दा बदर नभई आफ्नो मत सुरक्षित र सदर हुन्छ भन्ने विषयमा जानकारी गराउन नसकेको मतदाताले गुनासो गर्ने गरेका छन् ।
व्यास-२ दमौलीकी एलिना कुमाल निकै उत्साहित छन् । १८ वर्ष उमेर पुगेको र मतदाता नामावालीमा आफ्नो नाम दर्ता भएपछि उनी स्थानीय निर्वाचनमा आफुलाई मनपर्ने उम्मेद्वारलाई मत दिने तयारीमा छन् । अहिलेसम्म कतै मतदान नगरेको बताउने एलिना आसन्न स्थानीय निर्वाचनमा जिल्लाको व्यास नगरपालिका २ नम्बर वडाबाट मतदानमा सहभागी हुँदै छन् ।

तर, आफुले मन पराएको उम्मेद्वारलाई कसरी मतदान गर्ने भन्ने विषय उनलाई प्रयाप्त जानकारी छैन । उनले भनिन्, ‘म पहिलो पटक भोट हाल्दै छु तर धेरै उम्मेद्वार हुनुभएकाले उहाँहरुको चुनाव चिन्हमा कसरी भोट हाल्ने त्यो चाही थाहा भएन ।’

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ तनहुँ र जिल्ला निर्वाचन कार्यालयले संयुक्त रुपमा दमौलीमा नमूना मतदान कार्यक्रम गरेको थियो । नमूना मतदान कार्यक्रम हुने जानकारी पाएपछि उनी कार्यक्रम स्थल आइपुगेको बताइन् ।

‘विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरु आ-आफ्नो पक्षमा भोट माग्दै घरमा आउने गर्नुभएको छ, तर कहाँ कसरी भोट हाल्ने भन्ने सिकाउनु भएको छैन’, उनले भनिन्, ‘पहिलो पटक म निर्वाचनमा सहभागी हुँदैछु । मेरो भोट बदर नहोस् भनि मतदाता शिक्षा लिनका लागि नमूना मतदान कार्यक्रममा सहभागी भएको हुँ ।’

मतदाता शिक्षा प्रभावकारी बन्न सकेन, नमूना मतदानमै मत बदर !

यस्तै, नमूना मतदान कार्यक्रमा दमौलीकी ६२ वर्षीया मधुमाया पौडेल पनि सहभागि भइन् । ‘धेरै पटक भोट हाले, अहिले पनि हाल्ने छु’, उनले भनिन्, ‘अहिले पहिला जस्तो सजिलो रहेन छ । धेरै चुनाव चिन्ह छन्, कुन चुनाव चिन्हमा कसरी भोट हाल्ने मेसो पाउनै गाह्रो भयो ।’ उनले भनिन्, ‘मलाई भोट दिनुस भन्दै घरदैलोमा धेरै उम्मेद्वार आइसक्नुभयो तर, अहिलेसम्म कसरी भोट हाल्ने भनि सिकाउनु भएको छैन ।’

दलबलसहित यहाँका वडादेखि पालिकाका उम्मेदवारहरु खेतबारी, गोठालासम्म पुगेर मत माग्न सक्रिय छन् । यसरी दलहरु घरदैलो, खेतबारी तथा गोठालाहरुसम्म पुगेर आ-आफ्नो पक्षमा मत मागेपनि मतदातालाई के कसरी मतदान गर्ने, कसरी मतदान गर्दा बदर नभई आफ्नो मत सुरक्षित र सदर हुन्छ भन्ने विषयमा जानकारी गराउन नसकेको होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गाविलास भट्टराइ बताउँछन् ।

मतदाता शिक्षा नहुँदा नमूना मतदानमै मत बदर भएको छ । ६१ जना नमूना मतदान कार्यक्रममा सहभागि भएकोमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको छ ।

शिक्षित र बुझेकै व्यक्तिहरु सहभागि भएको नमूना मतदान कार्यमा समेत मत बदर भएकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने देखिएको मतदात अधिकृतको भूमिका निर्वाह गरेका नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए ।

उनले भने, ‘अहिले स्थानीय निर्वाचनमा राजनीतिक दलसंगै थुप्रै स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रिएका कारण उम्मेदवार तथा अन्य सरोकावार तथा शिक्षित वर्गनै जागरुक भई घरघरमै पुगेर मतदातालाई सहिढंगले मतदान गर्ने विषयमा जानकारी गराउनुपर्ने देखिएको छ ।’

यस्तै, जिल्ला निर्वाचन कार्यालका प्रमुख हरि ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताएका छन् । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा र्सवसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको बताउँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आग्रह गरेका छन् ।

नमूना मतदान कार्यक्रममा सहभागि भएका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदान स्थलसम्म पुग्ने वातावरण निर्माण कार्य भइरहेको र मतदान अधिकृत तथा आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको छ ।’

जिल्लाका चार नगरपालिकाको मेयरमा २८ जना र उपमेयरमा २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा होमिएका छन् । छ गाउँपालिकाको अध्यक्षमा ३२ र उपाध्यक्षमा ३१ जना प्रतिष्पर्धामा उत्रिएका छन् ।

यस्तै, ८५ वडाको वडाध्यक्षमा ३६० जना र १७० खुला वडा सदस्यमा ६०३ जनाको उम्मेद्वारी परेको छ । महिला वडा सदस्यमा २८६ र दलित महिला सदस्यमा २७५ जनाको उम्मेदवारी परेको छ । उम्मेद्वारी दिएका मध्य ८० जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा तनहुँमा १ हजार ५८२ जनाले चुनावी प्रतिष्पर्धा गरेका थिए । अहिलेको स्थानीय निर्वाचनमा २ लाख ४४ हजार ३४० मतदाता सहभागी हुँदै छन् । २०७४ सालको स्थानीय निर्वाचनमा एक लाख ९४ हजार ४७१ मत खसेकोमा ३ हजार १५४ वटा मत पूर्ण रुपमा वदर भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker