“सामान हाम्रो, मूल्य ग्राहकको”

पूर्ण विके/तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० घर भुजेलले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी धान्दै आएका उनीहरू पछिल्लो समय संकटमा पर्दै गएका छन् ।

बजारमा कच्चापदार्थ बाँस, दैनिक उपभोग्य सामग्री र यातायातको भाउ बढेपछि आफूहरूको आम्दानी खुम्चीएको ५३ वर्षीय चन्द्रबहादुर भुजेलले बताउनुभयो । “बजारमा तेलदेखि चामलसम्मको मूल्य अकाशिएपछि बजार जान सकिने अवस्था छैन”, चन्द्रबहादुरले भन्नुभयो, “तर हाम्रो मूल्य भने पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । मूल्य बढाउन खोजे कसैले पनि किन्दैनन् ।”

आफूहरूले करिब १७ किलोमिटर टाडा पर्ने व्यास नगरपालिका-११ कमलबारीदेखि प्रतिघना बाँसको दुइ सयदेखि दुइ सय ५० रुपैयाँसम्म तिरेर ट्रयाक्टरमा हालेर ल्याउनुपर्ने अवस्था रहे पनि बजारमा सस्तोमा बाँसको सामग्री बिक्री गर्नुपर्दा पेसाप्रतिको मोह घट्दै गएको उहाँले बताउनुभयो ।

“बाउबाजेको पालादेखि गरिँदै आएको भनेर यही पेसा अँगालियो”, चन्द्रबहादुरले भन्नुभयो, “बजारमा हामीले राखेको मूल्यमा कहिल्यै सामान बिक्री हुँदैन । हाम्रो सामान तर मूल्य ग्राहकको हुने गर्छ ।” आफूहरूले बाँसबाट बनाएको डालो, नाङ्लो, मान्द्रो र कुचोलगायतका सामग्री होलसेलमा खरिद गर्ने व्यापारीबाट झनै सास्ती पाउने गरेको २९ वर्षीया तारा भुजेलले बताउनुभयो । आफूहरूले बनाएको कुचोलाई प्रतिवटा रु २० मा खरिद गरेर होलसेल व्यापारीले रु ५० देखि रु ७० सम्ममा ग्राहकलाई बिक्री गर्ने गरेको ताराको दुखेसो छ ।

“दिनभरि सामान बोकेर व्यापार गर्न पनि पहिले जस्तो सजिलो छैन”, ताराले भन्नुभयो, “महँगोमा बाँस किनेर सस्तोमा सामान बेच्नुपर्दा पेसा धान्न धौधौ छ ।” बन्दीपुर गाउँपालिकाको कार्यालयमा गएर आफूहरूले निश्चित शुल्क लिएर बाँसका सामग्री बिक्री गर्ने व्यवस्था मिलाइदिन पटकपटक अनुरोध गरेको भए पनि सुनुवाइ नभएको ताराले बताउनुभयो ।

प्रतिघना बाँसबाट दुइ/तीन वटा नाङ्लो तथा चार/पाँच वटा कुचो बन्छ । ती सामग्री बनाउन करिब दुइ दिन लाग्ने भुजेलको भनाइ छ । आफूहरूले प्रतिनाङ्लोको तीन सय रुपैयाँ तोके पनि उक्त दरमा कसैले नकिन्दा सस्तोमा बेच्न बाध्य हुनुपरेको भुजेलको गुनासो छ ।

“हामीले महँगोमा बाँस खरिद गर्नुपर्दा पेसा संकटमा परेको छ”, स्थानीय ५५ वर्षीया हस्तबहादुर भुजेलले भन्नुभयो, “सस्तोमा बाँस खरिद गर्न पाए पो हाम्रो सामानको मूल्य पनि सस्तो नै पर्ने थियो । अहिले घाटाको व्यापार गर्नुपरेको छ ।” उहाका अनुसार बाँसको सामग्री बनाउने परम्परागत पेसाप्रति युवापुस्ताको भने रुचि देखिँदैन । मेहनत बढी र फाइदा कम हुने पेसा भएकाले गाउँका युवाको रुचि वैदेशिक रोजगारीमा नै हुने गरेको हस्तबहादुरको भनाइ छ । बाँसको सामान बिक्री गरेर दैनिक दुइ/तीन सय रुपैयाँ पनि हात पार्न समस्या भएको उहाँले बताउनुभयो । पुरुषसँगै भुजेल महिलाले पनि सँगै बाँसको काम गर्ने प्रचलन छ ।

“१५/१७ वर्ष पहिले सस्तो थियो । घरमै बसेर दुइ चार रुपैयाँ खेलाउन पाइन्थ्यो”, हस्तबहादुरले भन्नुभयो, “तर अहिले कसैले कति पर्छ भनेर सोधे कति दिनुहुन्छ भन्नुपर्ने अवस्था छ । हाम्रो श्रमको मूल्य नै छैन । घाटाको व्यापार गर्दिन भनेर ३२ वर्षीय छोरा इन्द्रबहादुर पनि कतार हानियो ।” गाउँका करिब १२/१५ युवाले बाँसको परम्परागत सामग्री बनाउने पेसा छाडेर रोजगारीको क्रममा कतार, मलेसिया, साउदी र दुबइलगायत विभिन्न खाडी मुलुक गएको तथ्याङ्क आफूहरूसँग रहेको स्थानीयको भनाइ छ ।

भुजेलको परम्परागत पेसा संरक्षणका लागि अनुदान दिने व्यवस्था गरे पनि र्फम दर्ता गर्नेबारेमा भुजेललाई जानकारी नहुँदा समस्या भएको बन्दीपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले परम्परागत सामग्री बनाउने भुजेलको पेसा संरक्षणका लागि आफूहरूले विशेष कार्यक्रम नै बनाउन लागेको बताउनुभयो । “बजारमा बढ्दो महँगीले गर्दा भुजेलको परम्परागत पेसा सङ्कटमा पर्दै गएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “त्यसको संरक्षणका लागि हामीले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker