नेपालमा कोरोना भाइरस संक्रमण दर बढ्दै
भञ्ज्याङ समाचारदाता/दमौली

नेपालमा कोरोनाभाइरस संक्रमण दर क्रमशः बढिरहेको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार असार महिनाको आरम्भदेखि संक्रमण बढ्ने क्रममा देखिएको छ ।
उनका अनुसार अहिले सरकारले निग्रानी बढाउने, परीक्षणको दायरा फराकिलो बनाउने, सीमा क्षेत्रमा एन्टिजन परीक्षण गर्ने कामलाई तीव्र बनाउन थालेको छ । ‘प्रायः प्रमुख नाकाबाट प्रवेश गर्ने मानिसमा संक्रमण देखिएको छ । त्यसैले त्यहाँ कडाइ गर्न र परीक्षण गर्न ध्यान दिएका छौं’, उनले भने ।
हवाईमार्गबाट नेपाल भित्रिने व्यक्तिबारे शंका लागेमा विमानस्थलको हेल्थ डेस्कमा खटेका कर्मचारीले जाँच गर्ने उनले बताए । संक्रमण नियन्त्रणका लागि सुरक्षा मापदण्ड पालन गर्नु र खोप लगाउनु अत्यावश्यक भएको जानकारहरूले बताएका छन् ।
अस्पतालको अवस्था कस्तो ?
अहिले नेपालमा कोभिड भएका सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा १६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरू दैनिक कोरोनाभाइरस परीक्षण गर्न जाने र संक्रमण पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताएका छन् । यद्यपि संक्रमितहरूमा गम्भीर किसिमको लक्षण देखा नपरेको उनले बताए ।
कस्ता छन् लक्षण ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार त्यहाँ पुष्टि भएका बिरामीमा प्रायः ओमिक्रोन भेरिअन्टका विभिन्न प्रकारबाट संक्रमण भएको छ । बिरामीमा देखा परेका लक्षणहरू ओमिक्रोन भेरिअन्टसँग मिल्दाजुल्दा छन् ।
उनका अनुसार प्रायः संक्रमितहरूमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने र शरीर अधिक दुख्ने जस्ता समस्या देखिएका छन् । ‘लक्षणहरू यसअघि देखिएकाभन्दा फरक छैनन् । हामीले ज्वरोसँगै झाडापखाला लागेका केही बिरामीको पनि पीसीआर परीक्षण गरायौँ तर उहाँहरूमा संक्रमण पुष्टि भएन’, डा. चालिसेले भने ।
उनका अनुसार दैनिक १० जनासम्ममा सीमित संक्रमण दर अहिले ९० देखि १०० को हाराहारीमा पुगेको हो । ‘तर अहिले नै अवस्था चिन्ताजनक बन्न सक्छ भन्ने स्थिति छैन । सजग र र्सतर्क रहने हो भने संक्रमण फैलन नदिन र संक्रमण भइहाले स्वास्थ्यस्थिति गम्भीर हुने सम्भावना कम गर्न सकिन्छ’, उनले सुझाव दिए ।
परीक्षणको अवस्था कस्तो ?
डा. चालिसेका अनुसार अहिले कोभिड-१९ को लक्षण भएका बिरामीहरू देखिए पनि उनीहरूले संक्रमण परीक्षण गराएका छैनन् । प्रायः बिरामीले कोभिडविरुद्ध दुइ वा तीन मात्रा खोप लगाइसकेको भएकाले अथवा यसअघि पनि संक्रमण भएकाले परीक्षण नगराएको हुनसक्ने उनको अनुमान छ ।
‘केहीले व्यक्तिगत रूपमा परामर्श लिइराख्नुभएको छ । कोही स्वास्थ्य जाँच गराउन आउनुहुन्छ तर कोभिडको परीक्षण गराउनुहुन्न । यो रोगले धेरै असर गर्दैन वा गम्भीर बनाउँदैन भन्ने आत्मविश्वास बढेको देखिन्छ’, उनले बताए ।
सामान्य लक्षण देखिएका मानिसले समेत परीक्षण नगराउँदा संक्रमण दर बढेकोभन्दा कम देखिएको हुनसक्ने उनको बुझाइ छ । ‘खोप लगाएका मानिसलाई संक्रमण भए पनि अवस्था जटिल नबन्ने अध्ययनहरूले देखाएका छन् । तर संक्रमण फैलिन नदिन परीक्षण गराउनु आवश्यक छ’, डा. चालिसेले भने ।
सुरक्षाका लागि के गर्ने ?
संक्रमण पुष्टि भएका मानिसले पूर्ण सतर्कता अपनाएर अन्य मानिससँग दूरी कायम गर्छन् । तर लक्षण देखिएर पनि परीक्षण नगराएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने सम्भावना यथावत् रहने उनी बताउँछन् । ‘परीक्षण नगराउँदा मानिस हिँडडुल गर्छ । यदि उसलाई संक्रमण रहेछ भने त्यो एकपछि अर्को मानिस गर्दै समुदायमा फैलिन सक्छ’, उनले चेतावनी दिए ।
त्यस्तै बिरामीलाई दीर्घ कोभिड वा कोभिडपछि विभिन्न समस्या हुन सक्ने उनले बताए । सामान्यतया मानिसहरूमा तनाव र थकान बढ्ने, कुराहरूमा ध्यान केन्द्रित नहुने, शरीर दुख्ने, लामो समयसम्म खोकी लाग्ने वा घाँटी दुख्ने समस्याहरू देखिन सक्ने उनी बताउँछन् ।
उनका अनुसार संक्रमणको जोखिम कम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड नै प्रमुख उपाय भए पनि मानिसहरूले त्यसतर्फ ध्यान दिएका छैनन् । ‘दुइ वर्षभन्दा बढी अवधिमा मानिसहरूलाई मापदण्ड पालन गर्ने बानी लाग्नुपर्ने हो । तर मानिसहरूले मास्क लगाउन छोडेका छन् । भिडभाड हुने गतिविधिहरू बढेका छन् ।’
कस्ता मानिसले परीक्षण गराउने ?
ज्वरो आएको, घाँटी वा ज्यान दुखेको, गन्ध वा स्वादमा परिवर्तन महसुस गरेका मानिसहरूलाई संक्रमण परीक्षण गराउन डा. चालिसे सुझाव दिन्छन् । सरकारी स्वास्थ्य केन्द्रहरूमा लक्षण देखिएका मानिसहरूको निःशुल्क परीक्षण हुने उनले बताए । उनले भने, ‘लक्षण नदेखिए पनि सबैले सजग हुन अत्यावश्यक छ । मास्क र हातको नियमित सरसफाइ गर्नुपर्छ ।’
खोपको आवश्यकता
संक्रमण दर नियन्त्रण र स्वास्थ्य जटिलता कम गर्न खोप अत्यावश्यक रहेको अध्ययनहरूले देखाएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा लगाएकाहरूलाई ९५ प्रतिशत सुरक्षा प्राप्त भएको देखाएको छ । अध्ययनमा संलग्न डा. विष्णु मरासिनीका अनुसार पहिलो मात्रा लगाएकामध्ये ६८ प्रतिशत र पहिलो र दोस्रो खुबै मात्रा खोप पाएकाहरूमध्ये ८३ प्रतिशत मानिसहरूमा दोहोर्याएर संक्रमण भएको देखिएन ।
‘दुवै मात्रा लगाए पनि १७ प्रतिशत मानिसलाई संक्रमण भएको देखिएको थियो । अहिले अतिरिक्त खोप समेत वितरण भइरहेकोले त्यसको प्रभावकारिताबारे अध्ययन हुन बाँकी छ’, उनले भने । उनका अनुसार खोप लगाएको छ महिनापछि मानिसको शरीरमा त्यसले विकास गरेको एन्टिबडी ८० प्रतिशतसम्म घटेको थियो । यद्यपि संक्रमण नियन्त्रणका लागि खोप प्रभावकारी उपाय भएको उनको धारणा छ । बीबीसीबाट










