अलपत्र घुमाउने पुलको काम पुनः थालियो

लामो समयदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको काम पुनः सुरु भएको छ । गण्डकी प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ स्थित त्रिशूली नदीमा सो पुल बनाउन थालिएको थियो ।

तिहार सकिएलगत्तै पुल निर्माणको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि सुवास उप्रेतीले भन्नुभयो, “विगतमा विविध कारणवश पुलको कामले गति लिन सकेन, अहिले पुल निर्माणका लागि कामदार परिचालित भएका छन् । जतिसक्दो चाँडो सक्छौँ ।”

केही समय अगाडि मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर बनेको थियो । उक्त ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको थियो ।

समयमै पुल बनेको पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंमार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न सजिलो हुने बताइएको छ । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे, आँबुखैरेनी नभई बुद्धसिंमार्ग भएर उक्त पुल तरेर भरतपुर महानगरपालिकाको घुमाउने निस्किन पाउँने जनाइएको छ ।

नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्रै ठडिएको छ । यो पुल निर्वाचनका बेला पनि चर्चामा रह्यो । उम्मेदवारले पुल निर्माण चाँडै सम्पन्न गराउनेतर्फ आफूहरू लाग्ने प्रतिबद्धता जनाएका थिए ।

पुल निर्माण चाँडै सम्पन्न गराउनका लागि तनहुँका जनप्रतिनिधिले निरन्तर चासो लिँदै आउनुभएको थियो । सो पुल निर्माण नौ वर्षदेखि अलपत्र छ । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशतमात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिनसकेको छैन ।

एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाखे छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पका रूपमा रहेको बुद्धसिंमार्ग कालोपत्रका लागि प्रारम्भिक काम सुरु भइसकेको छ । कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंमार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बाँस्तोलाको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker