तनहुँको भानु -८ स्थित मनोहर माविको ५५औं वार्षिकोत्सव सम्पन्न
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका-८ स्थित मनोहर माध्यमिक बिद्यालयले ५५औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ। विव्यस अध्यक्ष दयाराम ढकालको अध्यक्षता आयोजित वार्षिकोत्सव समारोहमा नगर प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए ।
भानु नगरपालिकाको वडा नं. ४, ७, ८, ९ र १० का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू, शिक्षाविद्, समाजसेवी, छिमेकी विद्यालयका प्रअहरू लगायत अभिभावकहरूको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव सम्पन्न गरेको छ ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठीले सामुदायीक विद्यालयहरुलाई राज्यले ठूलो लगानी गरेको हुँदा शैक्षिक गुणस्तरमा सरोकार पक्ष सबैले ध्यान दिनु पर्नेमा जोड दिँदै नगरपालिकाले गुणस्तर वृद्धि, भौतिक संरचना, तालिम लगायतका विषयमा सहकार्य गर्न सदैव तत्पर रहेको बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक हरिमान नेपालीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूद्वारा साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, वार्षिकोत्सव समारोहमा उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी तथा सहयोग दाता महानुभावहरूलाई सम्मान समेत गरिएको थियो ।










