भानु नगरपालिकामा खादा प्रयोगमा मनाही
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले नगर क्षेत्र भित्र हुने कुनै पनि कार्यक्रममा खादाको प्रयोगमा मनाही गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णय भए अनुरुप प्रयोगमा पूर्ण रोक लगाएको हो ।
नगरपालिका क्षेत्र भित्र हुने विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा शैक्षिक संघ संस्थाहरुले गर्ने कुनै पनि कार्यक्रमहरुमा समेत खादा प्रयोग नगर्ने गरी निर्देशन सहित अनुरोध गरिएको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।
खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायहरुमा परिपत्र गरी यस्ता कार्य रोक्न अनुरोध गरिएको उनले बताए । ‘अब उप्रान्तका दिनमा हुने कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको छ’, उनले बताए ।
भानु नगरपालिका भित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाई केन्द्र, सार्वजनिक पुस्तकालय, बाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा पनि कुनै पनि प्रकारका खाता प्रयोग नगर्न उनले निर्देशन सहित अनुरोध गरेका छन् ।
यस्तै, सामुदायिक शैक्षिक संस्थाहरुमा आयोजना गरिने बार्षिकोत्सव सभा, बैठक समारोह, स्वागत तथा बिदाई कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रमहरुमा पनि खादा प्रयोगमा पूर्ण रुपमा बन्देज लगाइएको छ ।










