सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह
भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रशासन कार्यालय तनहुँले सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरेको छ कोभिड संक्रमणको जोखिम बढेको भन्दै तनहुँ प्रशासनले सामूहिक रुपमा भेला भई होली नमनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको हो । फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको हुँदा प्रशासनले यो आग्रह गरेको उनले बताए ।
यस्तै, बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा संक्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ । बैठकले जात्रा, मेला महोत्सव, कर्न्र्सट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । सबै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिको लगत राखी निग्रानी गर्ने गराउने निर्णय पनि बैठकले गरेको छ ।










