उम्मेदवारी दर्तापछि तनहुँमा चुनावी सरगर्मी बढ्यो, चियापसल, चोक, चौतारामा चुनावी चर्चा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित उहाँ यसपटक निर्वाचन जित्ने बताउनुहुन्छ । गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुहुन्छ ।

उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट शङ्कर भण्डारी र नेकपा (एमाले) बाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

गण्डकी प्रदेशका समेत पूर्व अर्थमन्त्री रहनुभएका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताउनुहुन्छ । उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ । “उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो,” उहाँ भन्नुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ सिट गुमाएको थियो । यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिनुहुन्छ ।

निर्वाचनको तयारीस्वरुप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । नेकपा (एमाले) ले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेल बताउनुहुन्छ । तनहुँ क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङ जानकारी दिनुहुन्छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दशमध्ये पाँच, नेकपा (एमाले) ले चार र नेकपा (माओवादी) केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको थियो ।

दुई लाख ४८ हजार मतदाता

जिल्लामा दुई लाख अड्चालिस हजार चार सय ९५ मतदाता छन्् । स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिक पछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता सङ्ख्या कायम गरेको हो । स्थानीय तहको निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ ।

विसं २०७४ को प्रतिनिधि/प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता कायम भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker