जोशीको उम्मेदवारीले पौडेललाई सहज !

अमृत सुवेदी/पोखरा

संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका रामचन्द्र पौडेल एक पटक प्रधानमन्त्री हुन लालयित छन् । एक पटक प्रधानमन्त्री हुन्छु भनेर रामचन्द्र अन्तिम पटक तनहुँ-१ मा भोट मागिरहेका छन् । ‘जनताले मलाई देशकै नेतृत्वमा एक पटक पुर्‍याउन खोजिरहेका छन् । म कार्यकारी पदमा रहेर काम गर्न पनि चाहन्छु,’ पौडेल भन्छन् ।

तनहुँमा कांग्रेस नेता पौडेल र कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी ‘जानी दुश्मन’ हुन् । अघिल्लो चुनावमा उम्मेदवार भएर पनि पौडेल समूहकै उजुरी परेपछि जोशीको उम्मेदवारी खारेज भएको थियो । भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण आफ्नो राजनीतिक जीवन सकिएको लागेको छ । रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सहयोग गरेका थिए ।

अघिल्लो चुनावताका जोशीले दमौलीमा श्रेष्ठलाई भोट मागेको किस्साको अहिले पनि चर्चा हुने गरेको छ । ‘म कांग्रेस हुँ तर यसपटक चुनाव चिहृन सूर्य हुनेछ’, उम्मेदवारी खारेजीपछि जोशीले भनेका थिए । अघिल्लो चुनावपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । त्यो कारबाही फुकुवासमेत नभएपछि जोशी यसपटक रामचन्द्रसँगै बदला लिन चुनावी मैदानमा छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएका पौडेलसँगको प्रतिस्पर्धामा एमालेका एकबहादुर गुरुङ उम्मेदवार छन् ।

अघिल्लो चुनावमा जोशीका कारण हारेका पौडेल यसपटक भने जोशीका कारण जित्ने रणनीतिमा छन् । अघिल्लो चुनावमा जोशीको उम्मेदवारी खारेज गराउनुलाई पौडेलले आफ्नो गल्ती मानेका छन् । त्यसैले यसपटक गल्ती नदोहोर्‍याउने बताउँदै आएका पौडेलले जोशीकै कारण आफ्नो जित सहज हुने हिसाब किताब आफ्ना निकटवर्तीहरुलाई सुनाएका छन् ।

जोशीको उम्मेदवारी कायमै रहँदा उनले पाउने मत एमालेका उम्मेदवारलाई जानबाट रोकिने पौडेलको विश्लेषण छ । २०७४ मा जोशीको उम्मेदवारी खारेज हुँदा आफूविरुद्ध ‘एन्टी मुभमेन्ट’ नै चलेको पौडेलले बताएका छन् ।

‘अघिल्लो निर्वाचनमा जोशीको उम्मेदवारी कायम हुन दिनुपर्ने रहेछ । तर, उजुरी परेपछि खारेजी भयो । उनको समूहको भनिएको मत सबै किसान श्रेष्ठलाई गयो’, पौडेलले अनलाइनखबरसँग कुराकानी गर्दै भने । अदालतमा जोशीको मुद्दा २०७४ कै हैसियतमा भए पनि यसपालि उनको उम्मेदवारीविरुद्ध उजुरी नपरेपछि कायमै रहेको छ ।

कांग्रेसका कतिपय कार्यकर्ता भने पौडेलको जितमा यसपटक पनि जोशी नै अवरोध हुन् । तर पौडेलले नै यो कुरा मानेका छैनन् । एकतिर ५ दलीय गठबन्धन छ भने अर्कोतिर एमाले फुटेर कमजोर पनि भएकाले यसपटक आफूले जित्ने उनको दाबी छ । ‘अघिल्लो चुनावमा एमाले र माओवादी मिलेको थियो । तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन छ’, नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले भने, ‘तनहुँ-१ माओवादीको समेत राम्रो जनमत छ । आँबुखैरेनी गाउँपालिकामा माओवादीले जितेको छ । बन्दीपुर र भानु नगरपालिका पनि माओवादीको जनाधार छ ।’

जति मत जोशी समूहले कांग्रेसको काट्छ, त्योभन्दा धेरै मत माओवादीबाट पौडेललाई आउने खनालको दाबी छ । तनहुँ-१ बाट १० हजार मत माओवादीबाट कांग्रेसमा आउने र कांग्रेसको मत जोशीले काटे पनि पौडेलले जित्ने खनालले बताए । ‘जोशीको उम्मेदवारी रहनु नै पौडेलले जित्नु हो भनेर जो कोहीले भनिरहेका छन्’, खनालले भने ।

जोशी गृहमन्त्री बन्दा तनहुँका थुप्रैलाई सेना, प्रहरी र शिक्षा मन्त्री भएको बेला शिक्षकको जागिर लगाइदिएको चर्चा अहिले पनि हुन्छ । जोशीको समूहमा नखुलेका कांग्रेसमा रहिरहेकाहरुको पनि भोट काट्ने आकलन गरिन्छ ।

गएको स्थानीय निर्वाचनमा जोशीका छोरा दीपकराज जोशीले नेकपा एमालेसँग तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा लडेका थिए। नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतान्तरले जोशी पराजित भए । न्यौपानेले १२ हजार ७८ र जोशीले ११ हजार ८२६ मत पाए । एमालेबाट उपमेयरको उम्मेदवार बनेकी बसुन्धारा घर्तीले भन्दा जोशीले एक हजार ७८४ मत बढी पाए । भानु नगरपालिकामा पनि जोशी समूहको प्रभाव राम्रो छ ।

एमाले छाडेर एकीकृत समाजवादीमा लागेका श्रेष्ठ अन्तिम पटक चुनाव जितेर मर्ने चाहना व्यक्त गरेका पौडेललाई ठाउँ खाली गराउँदै बारा-४ मा पुगेका छन् । श्रेष्ठको साथ त मिलेको छ नै गठबन्धनको मतभारले पनि उत्साह थपेको छ पौडेललाई । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेदवारले वडामा पाएको मतपरिणाम हेर्दा पौडेल झन्डै दोब्बरले अगाडि छन् ।

तनहुँ-१ मा देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यासका १२ वटा पर्छन् । यो क्षेत्रको ४२ वडामा गत स्थानीय निर्वाचनमा एमालेभन्दा कांग्रेस एक्लै पनि १२ हजार बढी मतले अगाडि छ । एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ८७९ मत पाएका थिए । कांग्रेसले ३३ हजार १०६ मत प्राप्त गर्दा गठबन्धनमा आबद्ध दल नेकपा माओवादीले ८ हजार १२४ र एकीकृत समाजवादीले ८९२ मत ल्याएको थियो ।

यी तीन दलले पाएको मत ४३ हजार ७५२ छ । वडामा सत्तागठबन्धन र एमालेबीचको मतान्तर झन्डै २३ हजार बढी छ। राप्रपाका उम्मेदवारले एक हजार ६३० र स्वतन्त्र उम्मेदवारले तीन हजार ९९२ मत पाएका थिए ।

स्थानीय तहमा कांग्रेसले पाएको मतमात्रै पौडेलको पोल्टामा पर्ने हो भने उनको सहजै जित हुने देखिन्छ । तर, पौडेल ढुक्क भएर बस्ने भने अवस्था छैन । २०७४ सालमा पनि अंकगणितीय हिसाबमा उनी जित नजिक थिए नै । यस्तै, नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङले हालै कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश गरेर तनहुँ १ (२) को उम्मेदवार बनेका छन् । उनले पनि कांग्रेस विशेष गरी आदिवासी जनजाति समुदायको भोट काट्ने सम्भावना बलियो छ । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker