तनहुँ क्षेत्र नं. २ प्रदेशसभा २ मा कांग्रेसका आले विजयी
भञ्ज्याङ समाचारदाता/दमौली

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणना अनुसार वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले ६४० मतान्तरले विजयी भएका हुन् ।
आलेले १३ हजार ८६० मत प्राप्त गरेको र उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केदार सिग्देलले १३ हजार २२० मत प्राप्त गरेको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी गराए ।
प्रदेशसभामा निर्वाचित आले नेपाली कांग्रेस तनहुँका सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन। वि.सं. २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रदेशमा २९ हजार ८९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।
२०१८ पुसको २४ मा भिमादमा जन्मिएका आले पदमबहादुर र आमा झनमायाका छोरा हुन् । श्रीमती शारदा आले र एक छोरा रहेका आलेले अर्थशास्त्रमा एम.ए गरेका छन् । २०३५ सालमा वीपी कोइरालाको पोखरा आगमनमा स्वागतार्थ सहभागी भएका थिए । २०३५/०३६ को विद्यार्थी आन्दोलनमा समेत आलेको सक्रिया सहभागीता थियो । २०३७ स्व.वि.यू, सचिव, बन्दिपुर क्याम्पस र २०३९ ने.वि.सं.को जिल्ला सचिवमा निर्वाचित भएका थिए ।
आले २०४६ को जनआन्दोलनमा इलाकास्तरीय संयुक्त संघर्ष समिति संयोजक थिए । २०४९ ने.कां. जि.का.स सदस्य, २०५३ मा क्षेत्रीय सभापति, क्षेत्र नं. ३ तनहुँ, २०५९ जिल्ला कार्यसमिति सचिव र २०५८ देखि निरन्तर महाधिवेश एवं महासमिति सदस्यमा निर्वाचित भएका छन् । हाल आले जनज्योति क्याम्पस तनहुँको सञ्चालक समिति संस्थापक अध्यक्ष हुन् । आले २०६८ सालमा नेपाली काग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य भएका थिए । २०७४ सालमा नेपाली कांग्रेस तनहुँ कार्यवाहक सभापति भएर काम गरेका थिए ।
आले २०७० संविधान सभा निर्वाचनमा तनहुँ-३ मा पराजित भएका थिए । राजनीति बाहेक अन्य पेशा नभएका आले २०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलनमा १ वर्षभन्दा बढी जेल र पटकपटक गिरफ्तारी समेत भएका थिए ।










