तनहुँमा प्रत्यक्ष तर्फको मत गणना सकियो, दुइ प्रतिनिधिसभा र दुइ प्रदेशमा कांग्रेस, एक/एकमा एमाले र माओवादी विजयी

भञ्ज्याङ समाचारदाता/तनहुँ

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँमा प्रत्यक्ष तर्फको मत गणना सकिएको छ भने समानुपातिक तर्फको मतगणना जारी रहेको छ । दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले गठबन्धनको बलमा सहज जित निकालेका छन् ।

प्रत्यक्ष तर्फको मतगणनाको सार्वजनिक परिणाम अनुसार तनहुँका दुइ प्रतिनिधिसभा सदस्य सहित दुइ प्रदेशसभा सदस्यमा विजय हासिल गरेको छ । गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा (एमाले)ले एक प्रदेससभा सदस्यमा जित निकालेको छ भने गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रले पनि एक प्रदेशसभामा विजय हासिल गरेको छ ।

नेपाली कांग्रेसले तनहुँ-१ र २ को प्रतिनिधिसभाका साथै तनहुँ १ को प्रदेशसभा १ र तनहुँ २ को प्रदेशसभा २ मा विजय हासिल गरेको छ । नेकपा (एमाले)ले तनहुँ २ को प्रदेशसभा १ र गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रले तनहुँ १ को प्रदेशसभा २ मा विजय हासिल गरेको छ ।

निर्वाचित पश्चात बाम-लोकतान्त्रिक गठबन्धनले दमौली आयोजना गरेको शुभकामना आदनप्रदान तथा धन्यवाद कार्यक्रममा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुले पाएको मत लोकतन्त्र र देशमा आएको परिवर्तनलाई जोगाउने पक्षमा आएको बताएका छन् ।

सातौ पटक चुनावी मैदानमा उत्रिएर छैटौं पटक संसदको यात्रा तय गरेका पौडेलले नेपाली जनताले लोकतन्त्रको भविष्य सुनिश्चित गरेका र अब हामीले यत्तिकै सन्तोष नमानि जनतालाई विश्वासमा लिएर सुशासन र विकास दिनुपर्ने बेला आएको बताए । उनले मुलुकमा सुशासन दिनलाई हामीमा नैतिक सामर्थ्य आवश्यक रहेको चर्चा गर्दै यो देशमा नैतिक शक्ति भएको नेतृत्वको खाँचो रहेको बताएका छन्।

तनहुँ-१ मा प्रतिनिधिसभामा कांग्रस नेता पौडेलले २५ हजार ३१८ मतसहित विजयी भएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले जानकारी गराएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार ९४३ मत प्राप्त गरेका छन् ।

यस्तै, तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता शंकर भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले २५ हजार १३० मत प्राप्त गरेका छन् ।

मतदातालाई धन्यवाद दिंदै नवनिर्वाचित भण्डारीले गठबन्धन फगत चुनाव जित्ने र सरकार बनाउने मात्रमा सिमित हुन नहुने बताएका छन् । उनले गठबन्धन पाँच वर्षम्म टिकाएर र टिकेर दलीय स्वार्थ भन्दा माथि उठी देशको वर्तमान अवस्था, राजनीतिक परिस्थितिलाई सुधार गर्दै विकासको नेतृत्व गर्ने खालको हुनुपर्ने बताएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ बाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएका क्रमशः वायाँबाट अशोक कुमार श्रेष्ठ (तनहुँ-१-१), हरि बहादुर चुमान (तनहुँ-१–२), श्यामराजा महत (तनहुँ-२-१) र जितप्रकाश आले (तनहुँ-२-२) । तस्विर : भञ्ज्याङ

निर्वाचनमा तनहुँ १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १५ हजार ३६७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर गुरुङले ११ हजार १५५ मत प्राप्त गरेका छन् ।

तनहुँ १ को प्रदेशसभा २ मा नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर गुरुङले १० हजार ५०३ मत प्राप्त गरेका छन् ।

यस्तै, तनहुँ २ प्रदेशसभा १ मा नेकपा -एमाले) का श्यामराजा महत निर्वाचित भएका छन् । १५ हजार ६६५ मत प्राप्त गरेका महतका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेले १३ हजार ८९९ प्राप्त गरे छन्।

तनहुँ २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका उम्मेदवार जीतप्रकाश आले विजयी भएका छन् । आलेले १३ हजार ८६० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका थिए ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले मतदातालाई धन्यवाद व्यक्त गर्दै चुनावका समयमा मतदाताको घरदैलोमा पुगेर गरेको वाचाहरु योजनावद्ध रुपमा पुरा गर्न लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै, तनहुँमा प्रत्यक्ष त्फको मत गणना सकिएपनि मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक घोषणा गरेको छैन । समानुपातीक तर्फको मत गणना कार्य चलिरहेको हुँदा सामानुपातिक तर्फको मत परिणाम आएसंगै आधिकारीक रुपमा विजेता घोषणा गरिने निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker